आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

‘आर्थिक क्षेत्रलाई अघि बढाउन विदेशी अभ्यास हेर्नुपर्छ’

राजधानी समाचारदाता
2 weeks ago
02/12/2019

काठमाडौं, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक क्षेत्रलाई अघि बढाउन विश्वका अभ्यासलाई समेत हेरिनुपर्ने बताएका छन् । आइतबार सम्पन्न नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ स्थापना दिवसमा गभर्नर नेपालले यस्तो बताएका हुन् ।

उनले पछिल्लो तीन वर्षयता देशको अर्थतन्त्र सुधार भइरहेको दाबी गरे । उनले अबका दिनमा गाडी खरिदका लागि सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन नसकिने बताए । राज्यले उत्पादन र निर्यातलाई प्राथमिकता दिएको भन्दै सवारीसाधन खरिद–बिक्रीमा सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन नसकिने बताए । ‘हामीले विश्वमै नभएको पुनर्कर्जाको व्यवस्था गर्दै उद्योगलाई सुविधा दिँदै आएका छौं भने निर्यात उद्योगमा १ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छौं,’ उनले भने, ‘उद्योगी व्यवसायीहरू पनि अब समयको मागअनुरूप चल्न सक्नुपर्छ ।’
त्यस्तै, उनले बैंकका अध्यक्ष तथा प्रमखु कार्यकारी अधिकृतको उमेरहद तोकिएको जानकारी दिए ।

केही समय पहिलो बैंक सञ्चालकमा को आउँछ, सीईओमा को आउँछ भन्ने कुरा नै केन्द्रीय बैंकलाई थाहा नहुने भन्दै गत वर्षदेखि बैंक सञ्चालक समितिको अध्यक्षलाई राष्ट्र बैंकले शपथ खुवाउन थालेको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीलगायतले मन्तव्य राखेका थिए ।

सेजनको स्थापना दिवसको अवसरमा दुई जना आर्थिक पत्रकार (छापा र विद्युतीय माध्यम)लाई पुरस्कृत समेत गरिएको थियो । आर्थिक पत्रकारले वर्षभरि लेखेको उत्कृष्ट समाचारबाट छनोट गरी पुरस्कृत गरिएको हो । विद्युतीय माध्यमबाट केदार दाहाल र छापा माध्यमबाट मातृका दाहाल जनही ५० हजार रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत भएका हुन् । त्यस्तै, रमेश कुमार र राजु बाँस्कोटाले फेलोसिप प्राप्त गरेका छन् ।
सेजनले लामो समयदेखि आर्थिक पत्रकारिता गरिरहेकालाई समेत सम्मान गरेको हो । सम्मानित हुनेहरूमा नितु पण्डित, शिव दुवाडी, जुनारबाबु बस्नेत र रामप्रसाद दाहाल छन् ।

(Visited 18 times, 1 visits today)
Loading comments...