आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

धान उत्पादनमा वढ्यो

दीपक ओली
2 weeks ago
02/12/2019

धनगढी, सुदूरपश्चिममा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष ३७ हजार १ सय ७६ मेट्रिक टन धान बढी उत्पादन भएको हो । कृषि निर्देशनालय डोटीको तथ्यांकमा गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्ष २०७६÷७७ मा ३७ हजार १ सय ७६ मेट्रिक टन धान उत्पादनमा वृद्धि भएको उल्लेख छ ।

आर्थिक वर्ष २०७५÷७६ मा १ लाख ८१ हजार ३ सय ९८ हेक्टरमा धान खेती गरिएकामा ६ लाख १० हजार ३ सय २८ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा आर्थिक वर्ष २०७६÷७७ मा ६१ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थिएन् । निर्देशनालयले दिएको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा १ लाख ८१ हजार ३ सय ३७ हेक्टरमा धान खेती गरिएकामा ६ लाख ४७ हजार ५ सय ४ दशमलव ६९ मेट्रिक टन धान उत्पादन भएको छ ।

निर्देशनालयले दिएको जानकारीअनुसार प्रदेशका नौ वटा जिल्लामध्ये चार जिल्लामा गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा धान उत्पादन घटेको छ । प्रदेशका बझाङ, अछाम, बाजुरा र डडेल्धुरामा धान उत्पादन घटेको जनाइएको छ । ती जिल्लामा वर्षा समयमै नभएको र कम वर्षा भएका कारण धान उत्पादन हुन नसकेको जनाइएको छ ।

यस्तै, प्रदेशको सबैभन्दा बढी धान उत्पादन हुने दुई जिल्लामा गरिमा धानमा बाला लागेको थिएन । कैलालीको ५ सय ७७ दशमलव ७३ हेक्टर र कञ्चनपुरको ७५ दशमलव सात हेक्टरमा गरी ५ सय ८३ दशमलव ४३ हेक्टरमा गरिमा धान खेती गरिएको थियो । गरिमा जातको हाइब्रिड धानमा बाला नलाग्दा २ हजार ८ सय ९५ मेट्रिक टन उत्पादनमा कमी आएको निर्देशनालयले जनाएको छ ।

प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज बोहराले गरिमा धान नलगाएको भए ४० हजार बढी धान उत्पादन हुने बताए । निर्देशक बोहराले किसानले उन्नत र हाइब्रेड बीउको प्रयोग गर्नु, सिँचाइको सुविधा बढनु, मलको प्रयोग, औषधि, अनुदानलगायत विविध कारणले धान उत्पादनमा वृद्धि भएको बताए ।

कुन जिल्लामा कति उत्पादन

प्रदेश कृषि निर्देशनालयले दिएको विवरणअनुसार यस वर्ष पनि सबैभन्दा धान उत्पादन कैलाली जिल्लामा भएको छ । कैलालीमा चालू आर्थिक वर्षमा गरिमा धानका कारण २ हजार ५ सय ९९ दशमलव ७८ मेट्रिक टन घटेको भए पनि २६ हजार ४ सय दशमलव २ मेट्रिक टन उत्पादन बढेको जनाइएको छ ।

कैलालीमा आर्थिक वर्ष २०७५/७६ मा ७१ हजार ७६ सय १० हेक्टरमा धान खेती गरिएकामा २ लाख ९३ हजार ६ सय ९५ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा ३ लाख २० हजार ९५ दशमलव २ मेट्रिक टन उत्पादन भएको छ । कञ्चनपुरमा आर्थिक वर्ष २०७५÷७६ मा ४८ हजार ४ सय ९६ हेक्टरमा धान खेती गरिएकामा १ लाख ७२ हजार ३ सय ११ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा ४८ हजार ४ सय ७५ हेक्टरमा धान खेती गरिँदा १ लाख ८८ हजार ७ सय ५७ मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ । गरिमा धानका कारण २ सय ९५ दशमलव २३ मेट्रिक टन धान उत्पादन हुन नसकेको बताए ।

डडेल्धुरामा आर्थिक वर्ष २०७५/७६ मा ६ हजार २ सय २६ हेक्टरमा धान खेती गरिएकामा २ लाख ३० हजार ३ सय ६० मेट्रिक टन उत्पादन भएकोमा चालू आर्थिक वर्षमा ६ हजार १ सय ७६ हेक्टरमा धान खेती गरिएकामा १९ हजार ७ सय ६३ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । डडेल्धुरामा ५० हेक्टरमा वर्षा ढिलाइ भएकाले रोपाइँ हुन नसकेको जनाइएको छ ।

डोटीमा आर्थिक वर्ष २०७५÷७६ मा १० हजार ६ सय ७० हेक्टरमा धान खेती गरिएकामा २६ हजार ६ सय ७५ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा १० हजार ७ सय १० हेक्टरमा धान खेती गरिएकामा २९ हजार ९ सय ८८ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा ४० हेक्टर क्षेत्रफल बढीमा धान रोपाइँ भएकाले उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

बैतडीमा आर्थिक वर्ष २०७५÷७६ मा ९ हजार हेक्टरमा धान खेती गरिएकामा १६ हजार ९ सय मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा १७ हजार १ सय ९० मेट्रिक टन धान उत्पादन भएको छ ।

दार्चुलामा २०७५/७६ मा ४ हजार ४ सय ८० हेक्टरमा धान खेती गरिएकामा १० हजार ४ सय ३४ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा १० हजार ५ सय २८ मेट्रिक टन उत्पादन भएको थियो ।

बझाङमा आर्थिक वर्ष २०७५÷७६ मा ७ हजार ६ हेक्टरमा धान खेती गरिएकामा १४ हजार ४ सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा १३ हजार ८ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै, बाजुरामा २०७५÷७६ मा ७ हजार २ सय ३० हेक्टरमा धान खेती गरिएकामा १३ हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा ७ हजार २ सय हेक्टरमा धान खेती गरिएकामा १२ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो । बाजुरामा समयमै वर्षा नभएका कारण ३० हेक्टरमा रोपाइँ हुन नसकेको जनाइएको छ ।

अछाममा आर्थिक वर्ष २०७५÷७६ मा १६ हजार ५ सय ८० हेक्टरमा धान खेती गरिएकामा ३८ हजार ९ सय ९७ मेट्रिक टन धान उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा ३४ हजार ८ सय १८ मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।

(Visited 33 times, 1 visits today)
Loading comments...