आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

किशोरीको अपहरण भएको भन्दै आफन्तद्वारा प्रदर्शन, तोडफोडको आरोपमा ३ पक्राउ

एम के माझी
2 weeks ago
02/12/2019

सप्तरी । राजविराज नगरपालिका ७ निवासी १६ वर्षिया गौरी साहको अपहरण भएको भन्दै सोमबार आफन्तजन प्रदर्शन र तोडफोडमा उत्रेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा अपहरणमा परेको भनिएकी बालिकाका दाजु गोपाल साहसहित तीन जना छन् । प्रहरीले तोडफोड गरेको आरोपमा साहसँगै सोही वडा निवासी जय साह र राहुल रजकलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथी राजविराज ७ स्थित ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा तोडफोड गरेको आरोप छ । प्राप्त घटना विवरण अनुसार राजविराज ७ निवासी देबेन्द्र साहकी १६ वर्षीया छोरी गौरी गत शनिबारदेखि बेपत्ता छिन् । परिवारजनले ऊँ साई बाबा यातायातको बुकिङ काउन्टरमा कार्यरत राजविराज ७ निवासी विकास कर्णसहित तीन जना मिलेर गौरीको अपहरण गरेको दाबी गरेका छन् ।

यसबारे केटीका ठूलो बुबा राघवेन्द्र साहले जिल्ला प्रहरी कार्यालय सप्तरीमा किटानी जाहेरी समेत दिएका छन् । तर, तीन दिन बित्न लाग्दा समेत आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरेको भन्दै आक्रोसित आफन्तजन प्रदर्शनमा उत्रेका हुन् । उनीहरुले किशोरी अपहरण गर्नेलाई अविलम्ब पक्राउ गर्न माँग गरेका छन् । प्रहरीले भने अपहरण भन्दा पनि यो विषय प्रेम प्रसङसँग जोडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जनाएको छ ।

यो अपहरण नै हो भन्न सकिने अवस्था छैन्, प्रेम प्रसङसँग जोडिएको अवस्था पनि देखिएको छ, डिएसपी तिलक भारतीले भने, ‘यद्दपी दुबै कोणबाट हाम्रो अनुसन्धान अघि बढेको छ ।’ उनले आक्रोशमा आएर कानुन हातमा लिने काम कसैले गर्न नहुने सुझाव समेत दिएका छन् ।
उनले किशोरी भगाउने केटा कर्णको खोजी कार्य तिब्र बनाइएको पनि जनाए ।

विवाह सम्बन्धी नयाँ कानुन अनुसार २० वर्ष पूरा नभएसम्म बैधानिक रुपमा विवाह गर्न नपाउने व्यवस्था छ । यस्तो अवस्थामा खास गरेर भागेर आफूखुशी विहे गर्ने उमेर नपुगेका केटा–केटीका अभिभावकहरुले नयाँ कानुनी आधार लिँदै एक अर्काको परिवार बिरुद्ध नै अपहरण, शरीर बन्धक तथा जबरजस्तकरणी लगायतका मुद्दा दर्ता गराउन खोजेपछि प्रहरी प्रशासनले समेत तनाव झेल्नु पर्ने परिस्थिती उत्पन्न हुने गरेको एकथरिको भनाई छ ।

(Visited 48 times, 1 visits today)
Loading comments...