आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

सडक डिभिजन कार्यालय जनकपुरका प्रमुखसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा

राजधानी समाचारदाता
2 weeks ago
02/12/2019

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय जनकपुरका तत्कालीन डिभिजन प्रमुख दिनेश अर्याल र लेखा प्रमुख जीवनाथ पोखरेलसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेको छ ।

ठेक्काको बोलपत्रमा केरमेट गरी ठेकदारलाई लाभ हुने गरी काम गरेको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारमा उनीहरुविरुद्ध परेको उजुरीको अनुसन्धान हुँदा सडक डिभिजन कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई. दिनेश अर्याल, लेखा अधिकृत जिवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साहसमेतले ठेक्काको बोलपत्र मूल्यांकन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रालि नयाँबजार, काठमाडौंले पेश गरेको बोलपत्रको दररेट अंक र अक्षरमा सच्याई १९ लाख ५० हजार ४४० रुपैयाँ थप गरेर गैरकानुनी रुपमा सम्झौता गरेका थिए ।

उनीहरुले बोलपत्र सच्चाएर भैरव कन्स्ट्रक्सन कम्पनी प्रालिका सञ्चालक सुरेशलाल श्रेष्ठ र गोपाल श्रेष्ठ तथा भैरव कन्स्ट्रक्सन कम्पनी प्रालिका अख्तियारनामा प्राप्त मोहनप्रसाद यादवसँग मिलेमतो गरी सरकारी कागजात गैरकानूनी रूपमा सच्याई आफू र बोलपत्रदातालाई गैरकानूनी लाभ पु¥याउने काम गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

अख्तियारले तत्कालीनी प्रमुख दिनेश अर्याल, लेखा अधिकृत जिवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३), दफा ११ र दफा १७ बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि भएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ । उनीहरु विरुद्ध विगो १९ लाख ५० हजार चार सय चालीस कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) र दफा ११ तथा दफा १७ मा उल्लेख बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय हुने र सोही ऐनको दफा १७ बमोजिम बिगो समेत मागदावी गरेको छ ।

त्यस्तै सो कार्यमा सहयोग गर्ने भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि. नयाँबजार, काठमाडौंका संचालक सुरेशलाल श्रेष्ठ र गोपाल श्रेठ तथा भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का अख्तियारनामा प्राप्त मोहनप्रसाद यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा ११ बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि भएको दावी सहित १९ लाख ५० हजार ४ सय ४० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) र दफा ११ बमोजिम सजाय हुन र सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो असुलउपर गरी जफत हुन समेत मागदावी लिई सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

(Visited 55 times, 1 visits today)
Loading comments...