आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

महाभियोग सुनुवाइमा डोनाल्ड ट्रम्प उपस्थित नहुने

एजेन्सी
2 weeks ago
02/12/2019

वासिंगटन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उनका वकिलहरूले बुधवार संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा हुने सुनुवाइमा सहभागी नहुने जानकारी गराएको छ । संसद्को न्यायपालिकासम्बन्धी समितिलाई लेखेको पत्रमा कानुनी सल्लाहकार प्याट सिपोलोनीले निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले सो सार्वजनिक सुनुवाईमा भाग लिन नसक्ने उल्लेख गरेका छन् ।

गत साता समितिका अध्यक्ष जेरोल्ड नाड्लरले राष्ट्रपति ट्रम्पले सुनुवाइमा भाग लिनु पर्ने या गुनासो गर्न बन्द गर्नुपर्ने बताएका थिए । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले दोस्रो पटकको सुनुवाइमा भाग लिने वा नलिने विषयमा भने केही खुलाएको छैन । अहिलेसम्म मिति तय नभइसकेको सो सुनुवाइबारे अलग्गै प्रतिक्रिया जनाउने ह्वाइट हाउसले जनाएको छ ।

पोलिटिकोले छापेको सो पत्रमा संसद्को समितिले अनुसन्धानका क्रममा पूर्णरूपमा नियमित प्रकियालाई पालना नगरेको र आधारभूतरूपमा निष्पक्षता सुनिश्चित नगरेको उल्लेख गरिएको छ ।

ह्वाइट हाउसले सुनुवाइको तयारी गर्न पर्याप्त समय नदिइएको र प्रत्यक्षदर्शीबारे पनि जानकारी नदिइएको समेत दाबी गरेको छ । बुधवार महाभियोगसम्बन्धी सुनुवाइ दोस्रो चरणमा प्रवेश गर्दैछ ।

सो सुनुवाइ राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच गत जुन महिनामा भएको टेलिफोन कुराकानीबारे केन्द्रित हुनेछ ।

सो फोन कुराकानीमा ट्रम्पले जेलेन्स्कीलाई डेमोक्रेटिक पार्टीबाट आगामी राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार हुने प्रतिस्पर्धाको अग्रपंक्तिमा रहेका जोए बिडेन र विगतमा युक्रेनको एउटा ऊर्जा कम्पनीमा काम गरेका उनका छोरा हन्टर बिडेनविरूद्ध अनुसन्धान गर्न आग्रह गरेका थिए ।

ट्रम्पले आफूले गल्ती नगरेको र आफूविरुद्ध प्रतिशोध साँधिएको दाबी गर्दै आएका छन् । तर संसदीय समितिको सुनुवाईका क्रममा भाग लिएका सबैले ट्रम्पले जोए बिडेनमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएको र सो कुरा गलत भएको प्रतिक्रिया दिएका छन् ।

अघिल्लो साता संसद्को गुप्तचरी हेर्ने समितिले प्रत्यक्षदर्शीहरूसँगको गोप्य बयान र दुई हप्तादेखि भइरहेका सार्वजनिक सुनुवाइहरूलाई टुंगोमा पु¥याएको थियो । त्यसबारेको प्रतिवेदन ३ डिसेम्बर अर्थात आज (मंगलबार) सार्वजनिक गर्ने कार्यक्रम छ ।

न्यायपालिकासम्बन्धी समितिले राष्ट्रपतिले गरेका गलत कामहरू समेटिएको महाभियोगसम्बन्धी दफाहरू डिसेम्बरको सुरुबाट मस्यौदा गर्न थाल्ने विश्वास लिइएको छ । सुरुमा डेमोक्रेटहरूको कब्जामा रहेको तल्लो सदनमा मतदान गरेपछि यसबारेको प्रस्ताव रिपब्लिकनहरूको नियन्त्रण रहेको सिनेटमा पेस गरिनेछ ।

सिनेटमा दुई तिहाइ बहुमतबाट उनी दोषी ठहर भएमा ट्रम्प महाभियोग प्रक्रियाबाट पदबाट हट्ने पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् । यसअघि दुई जना राष्ट्रपतिमाथि महाअभियोग लगाइएको भएपनि सिनेटबाट पारित हुन सकेको थिएन । रिपब्लिकन पार्टीकै बहुमत रहेकाले यस पटक पनि पारित हुने सम्भावना न्युन रहेको बताइन्छ ।

(Visited 15 times, 1 visits today)
Loading comments...