आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

यो दशक सबैभन्दा गर्मी दशक हुने

एजेन्सी
2 weeks ago
02/12/2019

मड्रिड । वैज्ञानिकहरुले सन् १९७० यताकै सबैभन्दा गर्मी दशकको संघारमा विश्व आइपुगेको भन्दै जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन चेतावनी दिइसकेका छन् । बेलायतको मौसम विभागले गरेको प्रक्षेपण अनुसार आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष औद्योगिक युगभन्दा एक डिग्री सेल्सियस वा सो भन्दा बढी तापक्रम वृद्धि हुनेछ ।
आगामी पाँच वर्षमा कुनै एक वर्ष औसतमा १.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको वर्ष पनि हुन सक्नेछ । जलवायु परिवर्तनको मुद्दामा १.५ डिग्री सेल्सियसलाई महत्वपूर्ण संघारका रुपमा लिइन्छ । यदि तथ्यांकसँग प्रक्षेपण मिलेमा सन् २०१४ देखि सन् २०२३ सम्मको दशक १५० वर्ष यताको सबैभन्दा गर्मी दशक हुनेछ ।

बेलायतको मौसम विभागका अनुसार औद्योगिक युगको औसतमा एक डिग्री सेल्सियस तापक्रम बढी भएको पहिलो वर्ष सन् २०१५ थियो । त्यसयता प्रत्येक वर्ष विश्वको तापक्रम औसतमा एक डिग्रीको वरपर नै रहेको छ र आगामी पाँच वर्षमा यो बढ्न सक्ने अनुमान गरिएको छ ।

सो प्रतिवेदनले सन् २०३० सम्ममा त्यो संघार नाध्न नदिनका लागि विश्वभरी व्यापक रूपमा कार्बन उत्सर्जन कम गर्नुपर्ने देखाएको थियो । बेलायतको मौसम विभागले आगामी पाँच वर्षमा त्यसो हुनसक्ने सम्भावना १० प्रतिशत रहेको देखाएको छ । बेलायती मौसम विभागले आफ्नो प्रक्षेपणमा आफू ९० प्रतिशत विश्वस्त रहेको पनि दाबी गरेको छ ।

सन् २०१९ देखि सन् २०२३ सम्ममा तापक्रम औसत १.०३ देखि १.५७ डिग्री सेल्सियससम्म बढ्ने र पृथ्वीका ध्रुवीय विन्दुहरूमा ज्यादा तातो हुनेछ । आफ्नो विगतका प्रक्षेपणहरू मिलेको आधारमा यो प्रक्षेपण पनि मिल्ने दावी अध्ययन समूहको छ । विश्व मौसम विज्ञान संगठनले प्रकाशित गरेको तथ्यांंकमा हालसम्मका सबैभन्दा गर्मी २० वर्षहरू सबै गएको २२ वर्षको अवधिमा भएको बताएको छ ।

(Visited 39 times, 1 visits today)
Loading comments...