आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

अब ढुक्क हुनुस् एक वर्षसम्म स्याउ कुहिँदैन

एजेन्सी
2 weeks ago
02/12/2019

वासिंगटन ।  दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतवारदेखि अमेरिकामा सुरु गरिएको छ । कस्मिक क्रिस्प नाम दिइएको स्याउको वाशिंगटन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो ।

‘दह्रो, कुरकुरे र रसिलो स्याउ’ प्रवद्र्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको बताइएको छ । अमेरिकाको वाशिंगटन राज्यका कृषकहरूलाई आगामी एक दशकसम्म सो स्याउ उत्पादन गर्न विशेष अनुमति दिइएको छ ।

सो स्याउको विकास कार्यक्रमको सह–नेतृत्वकर्ता केट इभान्सले भनिन्, ‘यो कुरकुरे स्याउ हो र यो अन्य प्रकारका स्याउभन्दा दह्रो पनि छ, यसमा गुलियो र अमिलो ठिक्क मिलेको छ र यो असाध्यै रसिलो छ ।’ उनले सो स्याउको गुदी अति बिस्तारै खैरो हुने र फ्रिजमा राख्दा १० देखि १२ महिनासम्म खानयोग्य अवस्थामा रहने बताइन् ।

अहिलेसम्म कस्मिक क्रिस्प स्याउका एक करोड २० लाख रुख रोपिएका छन् । यसको खेतीका लागि लागु गरिएको कडा लाइसेन्स प्रणालीका कारण हाललाई यो अन्यत्र खेती गर्न सकिँदैन् । यो जातको स्याउलाई पहिले डब्ल्यूए ३८ भनिए पनि यसको गाढा रातो बोक्रामा ससाना सेता थोप्लाहरू भएका कारण यसलाई कस्मिक क्रिस्प नाम दिइएको हो ।

वासिंगटन अमेरिकी बजारमा सबैभन्दा धेरै स्याउ पठाउने राज्य हो तर यसको सबैभन्दा प्रसिद्ध गोल्डेन डेलिसिअस र रेड डेलिसिअस जातलाई पिङ्क लेडी र रोयल गाला जातले कडा टक्कर दिने गरेका छन् । अमेरिकामा केरापछि सबैभन्दा बढी बिक्री हुने फल स्याउ हो । सो प्रजातिको स्याउको मूल्य प्रति गोटा करिब १० डलर तोकिएको समाचारहरूमा जनाइएको छ ।

(Visited 24 times, 1 visits today)
Loading comments...