आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

नेकपालाई कांग्रेसको प्रश्न : सच्चिने कि सक्किने ?

2 weeks ago
02/12/2019

काठमाडौं । उपनिर्वाचनको परिणामलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारप्रतिको निराशा जनतामा स्पष्ट देखिएको बताएको छ । उपनिर्वाचनको सबै मत परिणाम आएलगत्तै सोमबार साँझ केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सत्तारुढ दल नेकपालाई आउने दिनमा सच्चिएर अघि बढ्ने कि सक्किने भन्दै प्रश्न गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी परिणामले नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ भन्ने सन्देश दिएको बताए ।

‘उपनिर्वाचनको परिणाम जसरी आएको छ, यसले सरकारप्रतिको निराशा प्रस्ट रूपमा देखाएको छ, मत परिणामले सरकारलाई आजै सच्चिने कि भोलि सक्किने भन्ने सन्देश दिएको छ,’ प्रवक्ता शर्माले भने ।

२१ महिना कांग्रेसले प्रतिपक्षमा रहेर खेलेको भूमिकालाई मतदाताले अनुमोदन गरेको समेत प्रवक्ता शर्माले दाबी गरे । उनले उपनिर्वाचनले सांगठनिक आत्मबल बढाएको र बाहिर गति र भित्र अन्तरविश्वास बढाऊ भन्ने सन्देश मतदाताबाट प्राप्त भएको बताए ।

कास्की र दाङमा राजनीतिक प्रभावभन्दा सहानुभूतिका मत संयोजन भएको भन्दै शर्माले बागलुङसहित तीनै क्षेत्रमा आफ्नो दल कांग्रेसले पहिलेभन्दा मतान्तर घटाएको समेत दाबी गरे ।

प्रदेश २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश ५ को अर्घाखाँची, प्रदेश ३ को चितवन, प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले कांग्रेसलाई विशेष रूपले उत्साही तुल्याएको उनले बताएका हुन् ।

शर्माले कांग्रेस कहाँ छ भनेर सोध्नेलाई नेकपाका अध्यक्ष केपी ओलीको घर रहेको भक्तपुर र पुष्पकमल दाहालको क्षेत्र चितवन गएर सोध्न समेत सुझाएका छन् ।
‘कांग्रेस कहाँ छ भन्नेले प्रचण्डको चितवन, केपी ओलीको भक्तपुर गएर सोधे हुन्छ, कांग्रेस त्यहाँ छ भन्ने आत्मबल उपनिर्वाचनले दिएको छ,’ शर्माले भने ।
सरकार निष्पक्ष निर्वाचन गराउनेभन्दा आफ्नो पार्टीलाई कसरी जिताउने भन्नेतर्फ उपनिर्वाचनमा केन्द्रित भएको समेत कांग्रेसको आरोप छ ।

कांग्रेसले उपनिर्वाचनको मिति तोकिएपछि प्रदेश प्रमुख नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, प्रहरी सरुवा गरेर सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको तर निर्वाचन आयोगसमेत देखे नदेखेझैं गरेर बसेको भनेको छ ।

विभिन्न ३७ जिल्लामा गरी रिक्त रहेका ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो । जसमध्ये कांग्रेसले पहिले नेकपाले जितेका भक्तपुरको प्रदेश सभा र धरान उपमहानगरपालिकामा परिणाम आफ्नो पक्षमा ल्याएको छ । यस्तै, चितवनको भरतपुर महानगरपालिकाको एउटा वडामा समेत पहिले नेकपाले जितेको स्थानमा कांग्रेसले विजय हात पारेको छ ।

उपनिर्वाचनमा नेकपाले ३० स्थान जितेको छ भने कांग्रेसले १३ स्थान हात पारेको छ । कांग्रेसका केही नेताहरूले भक्तपुर र धरानमा सचेत मतदाताले नेकपाको किल्ला भत्काएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ एउटै मात्रै उपनिर्वाचन भएको कास्की २ र प्रदेशसभातर्फ बाग्लुङ २ ख र दाङ ३ ख मा नेकपाले आफ्नो पुरानो जित कायम राखेको छ ।
यस्तै, यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र यसअघि राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष भने नेकपाले जितेको छ ।

(Visited 36 times, 1 visits today)
Loading comments...