आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

मन्डेकाजीले गुरुको कीर्तिमान भेट्टाए

दिल तामाङ
2 weeks ago
03/12/2019

काठमाडौं । ‘एउटा ईख थियो, त्यो ईख पूरा भएको छ । सागमा दोहोरो स्वर्ण जित्ने धोको थियो । त्यो पनि पूरा भएको छ,’ १३औं सागअन्तर्गत कराँतेको एकल र टिम कातामा स्वर्ण जितेपछि मन्डेकाजी श्रेष्ठले हर्षित मुद्रामा भने ।

‘साग अघि विभिन्न बहानामा मलाई एक विधामा मात्रै खेलाउने थुप्रै षड्यन्त्र भएको थियो । तर, त्यो षड्यन्त्रलाई ईखले नै चिर्न सफल भएको छु । आफ्ना गुरु गंगाराम महर्जनको कीर्तिमानलाई भेट्टाएको छु ।’

मन्डेकाजी जारी सागमा नेपाललाई स्वर्ण दिलाउने पहिलो तथा पदक दिलाउने दोस्रो खेलाडी बने । त्यसअघि कराँतेकै चञ्चला दनुवारले नेपाललाई सागमा पहिलो स्वर्ण दिलाएकी थिइन् । नेपाललाई ट्राइयथलनबाट दोस्रो स्वर्ण हात पारेको थियो । सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भए ।

मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका नियामतुल्लाहले २४.९२ अंक मात्र जोडे । त्यसअघि सेमिफाइनलमा मन्डेले बंगलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाएका थिए । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कांस्यमा सीमित भए ।

‘यसपटक म दोहोरो भूमिकामा थिए । दोहोरो स्वर्ण जित्ने मेरो लक्ष्य नै थियो । त्यो लक्ष्य पूरा गर्न पाउदा खुसी छु ।’ नेपाली खेलकुदको बृहत् कुम्भमेला राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेको तीन विधा फाइट, टिम काता र एकल काताबाट स्वर्ण जित्दै इतिहास बनाएका ३५ वर्षे मन्डेले भने, ‘फेरि अर्काे प्रतियोगितामा स्वर्णपदक जितेर नयाँ इतिहास बनाउन पाउदा खुसी छु । संयोग नै भनांै मन्डे (सोमबार) कै दिन मैले यो सफलता हात पारेको छु । यो निरन्तरका मिहेनतले पाएको प्रतिफल हो ।’ मन्डेभन्दा अघि ११औं दक्षिण एसियाली खेलकुद (साग) मा सुभद्रा श्रेष्ठले टिम र एकल कातामा प्रतिस्पर्धा गरेकी थिइन् । उनी पदकविहीन बनिन् । यस्तै, मन्डेले झन्डै २० वर्षपछि नेपाललाई स्वर्ण दिलाउन सफल भएका हुन् । नेपालमै आयोजना भएको आठौं साफमा गंगाराम महर्जनले एकल कातमा स्वर्ण दिलाएका थिए । त्यसयता कातामा नेपाल पदकविहीन हुँदै आएको थियो १२औं सागमा भने कराँते समावेश थिएन ।

मन्डेकाजीले राष्ट्रिय टोलीसम्म आउने लामो संघर्ष गरेका छन् । राष्ट्रिय टोलीमा रहेर पनि खेल्न नपाएको थुप्रै घटना छन् । मन्डेले २००६ मा श्रीलंकाको कोलोम्बोमा भएको १०औं सागअघिबाट राष्ट्रिय टोलीमा स्थान बनाए पनि अन्तिममा फालिएका थिए । ‘२०१० मा ढाकामा आयोजना भएको ११औं सागमा उनी टोलीमा समावेश भएर पनि मसहित १० जना घर फर्कनुपरेको घटना पनि ताजै रहेको उनी सुनाउँछन् । तर, यसपटक खेल्न पाएर राष्ट्रको लागि दोहोरो स्वर्ण जित्न सफल भएको छु,’ मन्डेले भने ।

 

 

 

(Visited 6 times, 1 visits today)
Loading comments...