आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

१३औं सागको पोखरा उद्घाटन

राजधानी समाचारदाता
2 weeks ago
03/12/2019

पोखरा । पर्यटकीय नगरी पोखराको इतिहासमै पहिलोपटक १३औं दक्षिण एसियाली खेलकुद (साग) को सोमबार भव्य रूपमा पोखरा उद्घाटन गरिएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिउँसो पोखरा रंगशालामा आयोजित समारोहमा सागको पोखरा उद्घाटन गरेका हुन् । उनले साग खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने बताए ।

विशेष अतिथि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साग सफलताको शुभकामना व्यक्त गरे ।

समारोहको अध्यक्षता ग्रहण गरेकी गण्डकी प्रदेश सामाजिक विकास मन्त्री तथा स्थानीय व्यवस्थापन सहजीकरण समिति संयोजक नरदेवी पुनले प्रतियोगिता सफल पार्न सम्पूर्णले सहयोगगर्नुपर्ने बताइन् ।उनले सागका कारण पोखरामा खेल पर्यटनको प्रवद्र्धन हुने विश्वास गरिन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालले एक ठाउँमा मात्र नभई विभिन्न ४ सहरमा हुँदा सम्बन्धित सहरलाई थप परिचित गराउने बताए । ३ महिनाको अवधिमा रंगशालामा सुविधायुक्त पूर्वाधार निर्माण गरिएको दाबी गरे ।

पोखरामा हुने विभिन्न ८ खेलका लागि हतारहतारमा भौतिक संरचना निर्माण अधूरै राखेर साग उद्घाटन गरिएको हो । छोटो समयका कारण कतिपय संरचनाको निर्माण पूरा हुन सकेको छैन ।

सागको पोखरा शुभारम्भ अवसरमा सहभागी विभिन्न ७ राष्ट्रका खेलाडी र खेल पदाधिकारीले रंगशालाको फुटबल मैदानमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने अन्त्यमा आतीसबाजीसमेत भयो ।

समारोहमा सातै देशको कला संस्कृति झल्किने नृत्यदेखि पोखरा र गण्डकी प्रदेशकै जनजाति र वेशभूषा झल्किने गरी झाँकीसमेत प्रदर्शन भयो ।

साग पोखरा खेल व्यवस्थापन समिति संयोजक एवं राखेप सदस्य राजेशकुमार गुरुङले लामो समयको दुविधाबीच सुस्तगतिमा निर्माण जारी रहँदा साग पक्का भएपछि निर्माण कार्य हतारमा गरिएको बताए ।

केही खेलको भौतिक संरचनाको फिनिसिङ बाँकी रहेको भए पनि खेल तालिकाअनुसार कुनै पनि खेल खेल्न मैदान अभाव नहुने दाबी गरे ।

पोखरा रंगशालामा विभिन्न ७ राष्ट्रका झन्डा फहराइएको छ । मूलद्वारपछि सडकको दायाँ–बायाँ फूल सजाइएको छ । तताततै रंगरोगन भएको छ ।

सागअन्तर्गत पोखरामा ८ खेल हुँदै छन् । प्याराग्लाइडिङसमेत हुने भनिएकोमा अन्ततः टिम सहभागिता नहुँदा अन्तिम समयमा हटाइएको थियो ।

पोखरा उद्घाटनअघि ब्याडमिन्टन खेल आइतबारदेखि नै सुरु भएको हो । सोमबार महिला क्रिकेट र ट्रायथलन सुरु भयो ।

८ खेलमध्ये पोखरा रंगशालामा महिला फुटबल, महिला क्रिकेट, महिला–पुरुष ह्यान्डबल, आर्चरी, ब्याडमिन्टन हुनेछ भने फेवाताल किनारमा बिच भलिबल, माटेपानीमा भारोत्तोलन र फेवातालमा ट्रायथलन हुनेछ ।

यहाँ ८ खेलमा कुल १ सय ५१ पदक (४८ स्वर्ण, ४८ रजत र ५५ कांस्य)का लागि प्रतिस्पर्धा हुनेछ । पोखरामा कुल ७ सय २२ जना खेलाडी पदकका लागि भिड्नेछन् । खेलाडीमध्ये ४ सय १ जना महिला खेलाडी रहेको प्रचारप्रसार तथा प्रकाशन उपसमिति संयोजक केशव पाठकले जनाए ।

 

 

 

(Visited 6 times, 1 visits today)
Loading comments...