आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

गाडीमा जीपीएस किन ?

पूर्णभक्त दुवाल
2 weeks ago
03/12/2019

काठमाडौं । एक दशकअघिसम्म नेपाल भित्रिने अधिकांश गाडीमा क्यासेट प्लेयर वा एफएम मात्र हुने गथ्र्यो । गाडीमा प्रयोग हुने टेक्नोलोजी रेडियो र म्युजिक प्लेयर हुन्थे । तर, अहिले गाडीमा स्मार्ट ड्यासबोर्ड प्रयोग हुन थालेको छ, गाडी चलाउँदा चलाउँदै मेसेज आयो भने पनि ब्लुटुथमार्फत मोबाइल कनेक्ट गरी अटोमेटिक मेसेज पढ्ने प्रविधि अब नयाँ रहेन । गाडीमा जीपीएस जडान गरी गुगल म्याप हेर्दै गन्तव्यमा पुग्न सकिने भएपछि बाटो बिराउने समस्याको अन्त्य भएको छ ।
जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) व्यक्ति, पशु र मोटरसाइकलको सुरक्षाका लागि पनि प्रयोग गरिन्छ । जीपीएसको प्रयोगले सामान चोरी, लुटपाट र अपहरण हुँदा कहाँ छ भन्ने थाहा पाउन सेट गरेको मोबाइलमा सूचना आउने गर्छ । साथै, यसमार्फत अन्य सवारीसाधनसँग आफ्नो गाडी कति दूरीमा छ भन्ने पनि पत्ता लगाउन सकिन्छ । यस्तै, यो प्रविधिले चोर्न आउने व्यक्तिले कुदाउन नमिल्ने गरी सवारीसाधन बन्द गराउन मिल्छ ।
गाडीमा अहिले ब्लुटुथका साथै वाईफाई, म्युजिक प्लेयर, भिडियो प्लेयरसमेत विकास भइसकेको छ । त्यति मात्र होइन, गाडीमा सेन्सर प्रणालीको विकास भएको छ ।

गाडीमा रेन सेन्सर प्रयोग हुन थालेको छ, पानी पर्नेबित्तिकै भाइपर आफैं चल्छ । सेन्सर प्रणालीकै सहायताले गाडी दुर्घटना हुनुपूर्व आफैं रोकिने सिस्टम पनि विकास भएको छ । गाडी आफैंले सर्भिसिङको समयबारे जानकारी दिन सक्ने सुविधा प्रविधिले सिर्जना गरिदिएको छ । यसले कार प्रयोगकर्तालाई सर्भिसिङको समय सम्झिरहनु नपर्ने भएको छ ।
साथै, गाडी पार्किङको समयमा सहज बनाउन एक्टिभ पार्किङ एसिस्टका साथै स्टेरिङसँगै घुम्ने गरी पछाडिको भागमा क्यामराको पनि विकास भइसकेको छ । यसले पार्किङ गर्दा पछाडि सहजै देख्न सकिन्छ ।
पछिल्ला केही वर्षदेखि जीपीएस (ग्लोबल पोजिसनिङ प्रणाली) प्रविधिको माध्यमबाट गाडीको सुरक्षा गर्न थालिएको छ । अहिले अधिकांश कम्पनीले आफ्ना गाडीमा जीपीएस प्रणाली पहिले नै इन्स्टल (प्रिइन्स्टल्ड) गरेका हुन्छन् । गाडीमा यो प्रविधि प्राविधिकको सहायता लिएर सहजै जडान गर्न सकिन्छ ।
अमेरिकामा रहेका व्यक्तिले काठमाडौंमा रहेको आफ्नो सवारीसाधनबारे थाहा पाउन सक्छन् । त्यस्तै, अन्य देशमा रहेका अभिभावकले आफ्नो छोराछोरी कसरी सवारीसाधनको प्रयोग गरिरहेका छन् भन्ने पत्ता लगाउन पनि यो प्रविधि प्रयोग गर्न सकिन्छ ।

अहिले जीपीएस सिस्टमको प्रयोग नेपालका धेरै ठाउँमा भइरहेको छ । काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर, बुटवल, भैरहवा, दिपायलका साथै अन्य सहरमा पनि यसको प्रयोग हुन थालेको छ ।
यो प्रविधिको सहयोगले सम्भावित दुर्घटना, अपहरणका घटना, हराएका बहुमूल्य सामान, मोटरसाइकल तथा गाडी पत्ता लगाउन सकिन्छ । यो प्रविधिले अफिसको ड्राइभरले एकातिर हुँदा अर्कोतिर छु भनेर ढाँट्न सक्दैन । व्यापारीले सामान डेलिभरी पिकअपलगायत काममा कुन गाडी कहाँ छ, त्यो हेरेर आफू अनुकूलको गाडी बोलाउन सक्छन् । यो डिभाइसको माध्यमद्वारा घरमै बसेर, ल्यापटप वा मोबाइल जुनसुकै उपकरणबाट पनि गाडी कुदिरहेको स्थान र गति हेर्न सकिन्छ । त्यसका लागि इन्टरनेट आवश्यक पर्छ । सो डिभाइस राखिएको गाडीको गति बढी छ अथवा प्रतिबन्धित क्षेत्रमा छ भने तुरुन्त कल गरेर सुझाव दिन सकिने व्यवस्था पनि यो प्रविधिमा हुन्छ । यो डिभाइस प्रयोग गरिएको गाडीभित्र भइरहेको कुराकानी पनि सुन्न सकिने हुनाले शंकास्पद अवस्थामा सम्भावित दुर्घटनाबाट पनि बच्न सकिन्छ ।
सडकमा गुडिरहेका सार्वजनिक बसको वास्तविक स्थान अवस्था, गति, रुटलगायतको निगरानीका लागि ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) व्यवस्था लागू गर्ने तयारी नेपाल सरकारको पनि छ ।

गुडिरहेको बसको वास्तविक अवस्था पत्ता लगाउन सुरु गर्न लागिएको जीपीएस व्यवस्था दुर्घटना न्यूनीकरण, बसको गति नियन्त्रण र अपराध न्यूनीकरणका लागि उपयोगी हुनेछ । यो व्यवस्था लागू भएपछि देशभरमा कुन बस कहाँ र कुन रुटमा गुडिरहेको छ, रोकिराखेको छ वा गुडेको छ, कुन गतिमा गुडिरहेको छ भन्ने आदि जानकारी केन्द्रबाटै थाहा पाइन्छ ।
चौबीसै घण्टा काम गर्ने उक्त सिस्टममा बसका लागि निश्चित गतिसमेत निर्धारण गर्न सकिनेछ । यदि निर्धारित गतिभन्दा बढी गतिमा सवारी गुडाइएको पाइएमा सिस्टमले अटोमेटिक रूपमा केन्द्रदेखि बसमै घण्टीमार्फत जानकारी दिन सकिन्छ ।
गुगल नक्सा र जीपीएस प्रविधिको सहयोगमा स्याटेलाइटमार्फत निगरानी हुने यो व्यवस्थाअनुसार गाडीले निर्धारित रुटभन्दा बाहिर गएर चलाएको समेत निगरानी गर्न मिल्नेछ । साथै, बस दुर्घटना भएमा कस्तो अवस्थामा थियो भन्ने जानकारी पाइन्छ । दुर्घटनाको अनुसन्धानका लागि पनि यो प्रणालीले सहयोग गर्नेछ । रोकिराखेको बसमा अर्कोले आएर ठक्कर दिएको हो वा तीव्र गति अथवा अन्य कारणले दुर्घटना भएको हो भन्ने अनुसन्धान गर्न यो उपयोगी हुनेछ ।

जीपीएस किन राख्ने ?

लाखौं खर्च गरेर सवारीसाधन खरिद गर्ने सवारीधनीका लागि यो अति आवश्यक छ । अन्जानमा समेत दुर्घटना हुँदा सवारीधनी लाखौं रकम तिर्न बाध्य हुन्छन् । यद्यपि, यो उपकरण राख्यो भने सजिलै वास्तविकता पत्ता लगाउन सकिन्छ र वास्तविक दोषीको पहिचान गरी कारबाहीको दायरामा ल्याउन सकिन्छ । यो उपकरणको मूल्य १५ हजारसम्म पर्छ ।

(Visited 93 times, 1 visits today)
Loading comments...