आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

दुवाथलनमा नेपाललाई स्वर्ण

पोखरा समाचारदाता
2 weeks ago
03/12/2019

पोखरा, १३ औं सागअन्तर्गत दुवाथलनमा नेपालले एक स्वर्ण सहित तीन पदक जितेको छ । पोखरामा मंगलबार ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र साढे दुई किलोमिटर दौडमा नेपालले भारत र श्रीलंकाका खेलाडीलाई पछि पार्दै एक स्वर्ण सहित तीन वटा पदक हात पार्न सफल भएको हो ।

पुरुषतर्फ नेपालका हिमाल टमटाले निर्धारित दुरी ५७ मिनेट ३३ सेकेण्डमा पार गरी स्वर्ण पदक दिलाए । त्यसैगरी नेपालका लक्ष्मण मल्लले रजत पदक जिते । उनले निर्धारित दुरी ५९ मिनेट १३ सेकेण्डमा पार गरी रजत पदक दिलाएका हुन्। श्रीलंकाका आशीथ पेरेराले निर्धारित दुरी ५९ मिनेट ३२ सेकेण्डमा पार गरी तेश्रो भए ।

महिलातर्फ श्रीलंकाकी एरेङगा दुलाक्सीले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५८ सेकेण्डमा पार गरी स्वर्ण पदक हात पारिन् भने नेपालकी हुमी बुढामगरले रजत पदक हात पार्न सफल भइन्।

श्रीलंकाकी खेलाडी उदय कुमारीले कास्य पाइन् । उनले निर्धारित दुरी १ घण्टा ९ मिनेट ९ सेकेण्डमा पार गरेकी हुन्। नेपाल ट्रायथलन संघ अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले नेपाललाई नेपाल ट्राय्थलन र दुवाथलनबाट स्वर्ण पदक दिलाउने खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । रजत जित्नेलाई ५० हजार र कास्य पदक विजेता खेलाडीलाई २५ हजार पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

गण्डकी प्रदेश सांसद एवं संघ उपाध्यक्ष दीपक कोइराला र बाबा फाउण्डेसनले स्वर्ण पदक विजेता खेलाडीलाई जनही २५ हजार, रजत पदक विजेतालाई १५ हजार र कास्य पदक विजेतालाई जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। ट्रायथलनअन्तर्गत सोमबारको खेलमा नेपालकी सोनी गुरुङले नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् ।

(Visited 32 times, 1 visits today)
Loading comments...