बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

यस्तो छ ट्रम्पको मजाक उडाइएको भिडियो, ट्रम्प क्रुद्ध

बीबीसी
2 months ago
05/12/2019

लण्डन । बेलायतको लण्डनमा भएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकका बेला अन्य नेताहरूसँगको भेटघाटमा क्यानडाका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिबारे ठट्टा गरेको भिडिओ प्रकाशमा आएलगत्तै डोनाल्ड ट्रम्पले जस्टिन ट्रुडोलाई ‘द्वैध चरित्र’ भएको व्यक्तिको संज्ञा दिएका छन् ।

सो भिडिओ फुटेजमा ट्रम्पले अचानक आयोजना गरेको पत्रकार सम्मेलनबारे ट्रुडो, बेलायती प्रधानमन्त्री बोरिस जोनसन तथा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँबीच कुराकानी भइरहेको देखिन्छ ।

ब्किंघम दरबारमा आयोजित कार्यक्रमका बेला अचानक आयोजना भएको पत्रकार सम्मेलन ४० मिनेटसम्म तन्काएको कारण अन्य कार्यक्रममा ढिलाइ भएको भन्दै ट्रुडोले ट्रम्पबारे ठट्टा गरेको बताइएको छ ।

ट्रुडुले अन्य मानिसहरू ढिलो हुनुको कारण ट्रम्पले सो पत्रकार सम्मेलनमा धेरै बोल्नु रहेको बताएको सुनिएको थियो । त्यसपछि उनले राष्ट्रपति ट्रम्पको टोली हैरान भएको विषयमा बताएका थिए । तर त्यसको सन्दर्भ भने स्पष्ट छैन । उनले त्यस्तो कुराकानी बेलायती, फ्रेन्च र डच नेताहरू तथा राजकुमारी एनीमाझ गरेका थिए । जुन सुनेपछि ती सबै हाँसेका देखिन्छन् ।

लगत्तै ट्रम्पले क्यानाडाले नेटोमा गर्नुपर्ने खर्चको लक्ष्य नपु¥याएको भन्दै तीखो आलोचना गरे । उनले ट्रुडोको चरित्रबारे पनि आलोचना गरेका छन् ।

ट्रम्पले भने, ‘उनी द्वैध चरित्रका छन्, मैले उनलाई असल व्यक्ति नै पाएको छु, तर यथार्थ के हो भने मैले उनले रक्षा मामिलालाई दिनुपर्ने २५ (राष्ट्रिय जीडीपीको अनुपात) को विषय बताएको थिएँ । शायद त्यसले उनी खुसी थिएनन् ।’

पछि पत्रकारहरूसँग बोल्दै ट्रुडोले आफूहरू ट्रम्पको प्रेस सम्मेलनलाई लिएर नहाँसेको बरु ‘जी सेभेन’ समूहको अर्को बैठकस्थललाई लिएर हाँसेको बताए । त्यो बैठक अमेरिकी राष्ट्रपतिको बिदा मनाउने स्थल क्याम्प डेभिडमा हुँदैछ ।

नेटोका नेताहरूले एकताको वक्तव्य निकालेका छन् । तर संगठनको ७० औँ वार्षिकोत्सवमा आयोजित सम्मेलनमा थुप्रै विवाद पनि देखा परेका छन् । सम्मेलनलगत्तै तय गरिएको पत्रकार सम्मेलन भने ट्रम्पले रद्द गरेका थिए ।

वक्तव्यमा नेटो नेताहरूले भनेका छन्, ‘सुरक्षित रहन हामीले हाम्रो साझा भविष्य हेर्नुपर्छ ।’ साथै, नेटोले चीन तथा रुसले उत्पन्न गराएका चुनौतीको विषय उल्लेख गरेको छ भने आतंकवादविरुद्ध कडा कारबाहीको वाचा गरेको छ ।

२९ सदस्य राष्ट्र भएको नेटोको भविष्य त दुविधामा नभएपनि आन्तरिक विवाद र विमति देखा परेका छन् । टर्कीले उत्तरी सिरियामा हालै गरेको सैन्य कारबाही, सदस्य राष्ट्रहरूले गर्दै आएका सैन्य खर्चको स्तर तथा हालै फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले नेटो ‘’मृत मस्तिस्क’ भएको भन्दै गरेका टिप्पणीले ती विवाद र विमति सतहमा ल्याइदिएका छन् ।

(Visited 67 times, 1 visits today)
Loading comments...