बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

कस्तो अचम्म, मानवतस्करले खडा गरे नक्कली चौकी, पीडित नराम्ररी झुक्किए

एजेन्सी
2 months ago
05/12/2019

मस्को । रुसमा एक व्यक्तिलाई नक्कली सीमा चौकी बनाएर मानवतस्करी गर्न खोजेको आरोपमा पक्राउ गरिएको छ । चार आप्रवासीलाई फिनल्यान्ड पुगेको आभास गराउन उनले नक्कली चौकी बनाएको बताइएको छ ।

त्यहाँ पुगेपछि ती चार जनाले आफू युरोपेली संघअन्तर्गत रहेको देश फिनल्यान्ड आइपुगेको विश्वास गरेका थिए । तर उनीहरूलाई सीमावर्ती भीबोर्ग नगरस्थित दलदल भएको एउटा जंगलमा छोडेर ती व्यक्ति एक्लै हिँडेका थिए । रुस र फिनल्यान्डबीच १ हजार ३ सय ४० किलोमिटर लामो सीमा छ ।

फिनल्यान्ड जान खोज्ने आप्रवासीहरू दक्षिण एशियाली भएको बुझिएको छ । तर उनीहरू कुन देशका नागरिक हुन् भन्ने खुलाइएको छैन । रुसी सुरक्षाकर्मीले फेला पारेपछि ती चार आप्रवासीले बल्ल आफू अझै रुसी भूमिमै भएको थाहा पाएका थिए ।

ती सन्दिग्ध मानवतस्करले प्रत्येक व्यक्तिसँग ११ हजार डलरभन्दा बढी रकम लिएको बताइएको छ । रुसी सुरक्षानिकायले चार आप्रवासीसहित उनलाई नोभेम्बर २८ मा नियन्त्रणमा लिएको थियो ।

बुधवार सेन्ट पिटर्सबर्गको एउटा अदालतले अध्यागमनसम्बन्धी नियम उल्लंघन गरेको ठहर गर्दै ती चार जनालाई जरिबाना गरेको थियो । मानवतस्करीको आरोप लागेका व्यक्तिलाई जालसाजीसम्बन्धी गम्भीर अभियोग लगाइएको छ । उनी हिरासतमा छन् । उनको मुद्दामा सुनुवाइ हुन अझै बाँकी रहेको छ ।

रुसी सामाजिक सञ्जालमा प्रेषित भिडिओमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको देखिन्छ । उनीहरूलाई जंगलको अँध्यारोमा हात उठाएर उभिएको देखिन्छ । भिडिओमा एफएसबी भनिने सुरक्षा निकायका अधिकारीहरूले उनीहरूमा टर्च बालेर प्रकाश पारिरहेको देखिएको छ ।

(Visited 97 times, 1 visits today)
Loading comments...