बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

पौडीतर्फ व्यक्तिगत स्पर्धामा पहिलो स्वर्ण : ओलम्पियन गौरिकाको ऐतिहासिक पदक

रामसूदन तिमल्सिना
2 months ago
06/12/2019

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले एकपछि अर्काे खेलमा नयाँ कीर्तिमान बनाइरहेको छ । नेपालले पहिलोपटक पौडीको व्यक्तिगत स्पर्धामा समेत स्वर्ण पदक जितेको छ ।  सन् २०१६ को रियो ओलम्पिककी विश्वकै कान्छी खेलाडी बनेकी नेपालकी गौरिका सिंहले १३औं सागमा पौडीको २०० मिटर फ्रि–स्टाई व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जितेकी छन् । सर्ट कोर्समा उनले आफ्नो रेकर्ड पनि सुधार गरिन् । सागका लागि तयार गरिएको सातदोबाटोको हिटिङ पुलमा सर्ट कोर्स (२५ मिटर)को पोखरीमा प्रतिस्पर्धा गराइएको थियो ।
सागमा व्यक्तिगत स्पर्धामा जितेको यो पहिलो पदक हो भने सन् १९९९ पछि पौडीमा जितेको पहिलो स्वर्ण पदक हो । सन् १९९९ मा नेपालले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो । नेपालले पौडीमा २० वर्षपछि स्वर्ण पदक हात पारेको हो । २० वर्षअघि पनि नेपालमै भएको आठौं संस्करणमा नेपालले स्वर्ण जितेको थियो ।

 

म नेपाली, मेरो स्वर्ण नेपालको :  गौरिका

गौरिकाले भारतको ग्वाहाटीमा भएको १२औं सागमा पनि एक रजत र तीन कांस्य पदक जितेकी थिइन् ।
गौरिकाले सातदोबाटोमा हिटिङ पौडी पोखरीमा भएको स्पर्धामा बिहीबार निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा पूरा गरिन् । उनले आफ्नै नाममा रहेको रेकर्ड पनि सुधार गरिन् । उनको नाममा सर्ट कोर्सको सो स्पर्धामा २ मिनेट ०९.१९ सेकेन्डको रेकर्ड थियो, जुन उनले सन् २०१८ मा काठमाडौंमा राखेकी थिइन् ।
सो स्पर्धामा भारतकी शिभांगी शर्माले रजत पदक जितिन् । उनले २ मिनेट ०७.१९ सेकेन्डमा दूरी पूरा गरिन् भने बंगलादेशकी जुना्यना अमेदले २ मिनेट १२.८३ सेकेन्डमा दूरी पूूरा गर्दै कांस्य पदक जितिन् ।
सिंहले नेपालगन्जमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा १२ स्वर्ण पदक जितेकी थिइन् । उनले जितपछि खुसी हुँदै आफ्नो सफलताको राज आमा गरिमा राणा र बाबु डा. पारस सिंह रहेको बताइन् । गौरिकाको लक्ष्य एसियन र ओलम्पिक गेम्समा पदक जित्नु छ ।

‘आफ्नो देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु जस्तो खुसी अरू छैन,’ उनले भनिन्, ‘धेरैले म बाहिर बस्ने भएकाले नेपाली होइन भन्छन् । तर, मेरो यो स्वर्ण नेपालका लागि हो ।’ उनी आफूलाई नेपाली होइन भन्दा दुःख लाग्ने बताउँछिन् ।
गौरीकाले लन्डनमा अभ्यास गर्दै आएकी छिन् । उनी लन्डनको काम्डेन स्विस कटेड स्विमिङ क्लबमा क्रिस्टिने ग्रिन र ग्राम्लेसँग प्रशिक्षण लिन्छिन् । उनीहरू विश्वस्तरका पौडीबाज उत्पादन गर्ने प्रशिक्षकका रूपमा रहेका छन् ।सन् २०१६ को ओलम्पिक खेल्दा उनी १३ वर्ष २५५ दिनकी थिइन् ।

(Visited 37 times, 1 visits today)
Loading comments...