शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

बृहत् यौनिक शिक्षा अनिवार्य गर्न सरोकारवालाको माग

प्रशान्त वली
2 months ago
06/12/2019

काठमाडौं। बृहत् यौनिक शिक्षाको आवश्यकता बढ्दै गए पनि पाठ्यक्रममा अनिवार्य विषयकै रूपमा समावेश नभएको पाइएको छ । विशेषतः कक्षा आठदेखि १२ सम्म यौनिक शिक्षाको महŒव बढे पनि सो सम्बन्धमा तयार गरिएको पाठ्यक्रम अनिवार्य रूपमा लागू नहुँदा चुनौती देखिएको छ ।

विद्यालय तहको पाठ्यक्रममा स्वास्थ्य तथा जनसंख्या शिक्षा विषय अनिवार्य हुनुपर्ने भए पनि पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । स्वास्थ्य अधिकारलाई संविधानले समेत सुनिश्चितता गरेको छ । सरकारले पाठ्यक्रममै बृहत् यौन शिक्षाका विषयवस्तुलाई समावेश नगरेको पाइएको छ ।

नेपाल युवा संस्था संजाल (आयोन) तथा राइट हियर राइट नाउ नेपालले पाठ्यक्रम विकास केन्द्रलाई बृहत् यौनिक शिक्षाको सवालमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सरकारले उमेर उपयुक्त र अधिकारमुखी बृहत् यौनिक शिक्षाको पाठ्यक्रम तयार गर्दा सरोकारवालाहरूसँग परामर्श गर्न सरकारलाई सुझाव दिइएको छ ।

पाठ्यक्रमले यौन तथा प्रजनन स्वास्थ्यमा मात्र केन्द्रित नभई बृहत् यौनिक शिक्षाका विषयलाई पर्याप्त रूपमा समावेश गर्न पाठ्यक्रम विकास केन्द्रलाई सुझाव दिइएको छ । यस्तै, बृहत् यौनिक शिक्षालाई राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य र विकास रणनीतिका रणनीतिक परिवर्तनका रूपमा उल्लेख गरिनुपर्ने माग गरिएको छ ।

यस्तै, यौन शिक्षालाई विद्यालयका माझ मात्र सीमित गर्न नहुने भन्दै बृहत् यौन शिक्षालाई विद्यालयबाहिर रहेका किशोरकिशोरीहरू माझ सूचना प्रवाह गरिनुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ । शिक्षकहरूलाई तालिम दिने, आवधिक अनुगमन गर्ने र उनीहरूलाई बृहत् यौन शिक्षा र अन्य त्यस्तै आवश्यक सवालसम्बन्धी स्रोतहरू उपलब्ध गराउन पाठ्यक्रम विकास केन्द्रलाई सुझाव दिइएको छ ।

सुझावपत्रमा हरेक कक्षामा सम्बन्धित जिल्लाका स्वास्थ्य केन्द्र, युवामैत्री केन्द्र, नेपाल प्रहरी, स्थानीय तहको ठेगाना, फोन नम्बरसहित अन्य विवरण खुल्ने पोस्टर राखिनुपर्ने उल्लेख छ । सबै विद्यालयमा आवधिक रूपमा परामर्शदाताबाट विद्यार्थीहरूलाई स्वास्थ्य, सम्बन्ध, परिवार तथा समाजमा उनीहरूको भूमिकालगायतका सवालमा काउन्सिलिङको व्यवस्था गरिनुपर्ने सुझावपत्रमा समेटिएको छ । आयोनका वरिष्ठ कार्यक्रम अधिकृत सुस्मिता श्रेष्ठले बृहत् यौनिक शिक्षाका सन्दर्भमा पाठ्यक्रम विकास केन्द्रलाई सुझावपत्र पेस गरिएको बताइन् । उनले भनिन्, ‘हामीले पाठ्यक्रम विकास केन्द्रलाई बृहत् यौनिक शिक्षाका विषयहरू विद्यालय तहमा पनि समावेश गरिनुपर्छ भन्दै सुझावपत्र बुझाएका छौं । स्वास्थ्य अधिकारसँग जोडिएकाले विद्यालय तहमा पनि यसको अध्ययन–अध्यापन हुनुपर्छ भन्ने हो ।’

उनले सुझावपत्रमा बृहत् यौनिक शिक्षाअन्तर्गत अधिकारमा आधारित शिक्षा, लैंगिकतामा केन्द्रित शिक्षा, यौनिकसम्बन्धी ज्ञान, अभिवृद्धि र मूल्य बढाउने शिक्षा, यौनिकसम्बन्धी सकारात्मक सोच विकास गर्ने शिक्षा, संवेगात्मक, सामाजिक र व्यवहारजन्य विकास गराउने शिक्षाहरूलाई समेटिएको बताइन् ।

सुझावपत्रमा यौनिक शिक्षाका अवधारणाको पहिचान तथा लैंगिकताका विविध पक्षको विश्लेषण गर्न, जीवन विकासका विभिन्न चरणमा आउने परिवर्तनसम्बन्धी खुल्दुली मेटाउनेलगायतका उद्देश्यले विद्यालय तहमा बृहत् यौनिक शिक्षा समावेश गरिएको सुझावपत्रमा समेटिएको छ । पाठ्यक्रमका विषयवस्तुहरू सूचना र अधिकारभन्दा पनि स्वास्थ्यको वरिपरि केन्द्रित रहेको देखिएको छ ।

माध्यामिक तहसम्म बृहत् यौनिक शिक्षा अनिवार्य गरिनुपर्नेमा विशेष गरी युवाको मुद्दामा काम गर्दे आएका सामाजिक संस्थाहरूले जोड दिएका छन् । बृहत् यौनिक शिक्षाले बालबालिका र किशोर उमेर समूहका सबैलाई शारीरिक तथा मनोवैज्ञानिक असरबाट जोगिन मद्दत गर्ने अपेक्षा लिइएको छ । युवालाई व्यक्तिगत सम्बन्धमा, शारीरिक र संवेगात्मक रूपमा आफ्नो यौनिकलाई निर्धारण गर्न पाउनुपर्ने युवा संघ संस्थाहरूले माग गरेका छन् । बृहत् यौनिक शिक्षालाई अनिवार्य शिक्षाका रूपमा लागू गर्नुपर्ने आयोनले जनाएको छ ।

 

(Visited 52 times, 1 visits today)
Loading comments...