शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

प्रधानमन्त्रीको प्याकेज घोषणाले स्वर्ण विजेता खेलाडी निराश, कार्यक्रममै पोखे असन्तुष्टि

राजधानी समाचारदाता
1 month ago
11/12/2019

काठमाडौं । सरकारले घरेलु भूमिमा आयोजना भएको दक्षिण एसियाली राष्ट्रहरूको खेलकुदको कुम्भमेला १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्न सफल नेपाली खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवासमा आयोजित विशेष कार्यक्रममा प्याकेज घोषणा गर्दै सागमा एकल स्पर्धामा स्वर्ण जित्न सफल खेलाडीलाई जनही ९ लाख रुपैयाँ प्रदान गरिने घोषणा गरेका हुन् । यो अघिल्लो सागभन्दा ४ लाख बढी हो । रजतपदक जित्न सफल खेलाडीलाई ६/६ लाख तथा कांस्यपदक प्राप्त गर्न सफल खेलाडीलाई ३/३ लाख रुपैयाँ दिने घोषणा भएको छ ।

सागमा दुईवटा स्वर्ण जित्न सफल खेलाडीले भने ११ लाख रुपैयाँ मात्रै पाउनेछन् । १३औं सागमा पौडीकी गौरिका सिंहले ४ स्वर्ण, कराँतेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोका आयशा शाक्य र गल्फका सुवास तामाङले समान २/२ स्वर्ण जित्न सफल भएका थिए ।

दुई साताअघि नै विशेष प्याकेज घोषणा कार्यक्रम हुने भनिए पनि कार्यक्रमको दिन प्रधानमन्त्री अस्वस्थ भएपछि अर्थमन्त्री युवराज खतिवडाले सरकारको प्रतिनिधित्व गर्दै पुरस्कार राशिमा ‘उल्लेखनीय वृद्धि’ हुने भन्दै कार्यक्रम टुंग्याएका थिए । प्रधानमन्त्री मंगलबार समापन समारोहमा उपस्थित हुने भनिए पनि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् । बुधबार प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गरे । सुरुमा एकल स्पर्धाको पुरस्कार राशिको घोषणा भएको थियो । खेलाडीहरूमा खुसी छाएको थियो । त्यसपछि टिमतर्फको पुरस्कार राशि घोषणा हुने पालो आएको थियो । खेलकुदका सम्बद्ध अधिकारी र प्रधानमन्त्रीबीच लामै समय कानेखुसी चल्यो । त्यसपछि प्रधानमन्त्री ओलीले टिम इभेन्टतर्फ स्वर्ण जित्नेलाई ५ लाख, स्वर्ण जिताउने प्रशिक्षकलाई ५ लाख र बाँकी पछि हुने बताए । प्रधानमन्त्रीको यो घोषणालगत्तै केहीबेर अघि उत्साहित देखिएका खेलाडीको अनुहार मलिन देखिएको थियो । विशेषगरी टिम इभेन्टतर्फका खेलाडी । केहीबेर अघि एकल विधाजस्तै पुरस्कार पाइने खुसीमा रहेका खेलाडीको लागि पुरस्कार राशि झन्डै आधा हुनुले उनीहरू निराश देखिन्थे । खेलाडी आआफ्ना संघका पदाधिकारी सामुन्ने गुनासो लिएर पुग्दै थिए ।

लोकप्रियता र व्यावसायिकताको हिसाबले व्यक्तिगत खेलभन्दा टिम गेम्समा दर्शक झुम्मिन्छन् । फुटबलको टिकट मात्र हिसाब गर्ने हो भने राष्ट्रिय खेलकुद परिषद्ले सागमा मात्र झन्डै साढे ३ करोड रुपैयाँ हाराहरी टिकटबाट आम्दानी गरेको एन्फाले जनाएको छ । यसबाहेक भलिबल र बास्केटबलमा पनि कभर्डहलमा पनि दर्शकको बाक्लो उपस्थिति रहेको थियो । व्यक्तिगत खेलमा रजत जित्ने भन्दा टिम गेम्समा स्वर्ण जित्नेले कम पुरस्कार पाउनु जायज हुँदैन भनेर असन्तुष्ट खेलाडी भनिरहेका थिए ।
यसपटक बास्केटबल टोलीले सहभागी भएको चारै स्पर्धामा इतिहास रचेको छ । महिला सिनियर टोलीले ऐतिहासिक रजतपदक हात पारेको थियो । पुरुष सिनियर टोलीले पनि पहिलोपटक कांस्यपदक जित्दै इतिहास रच्यो ।

यस्तै, ३ बाइ ३ तर्फ पुरुष टोलीले रजत तथा महिलाले कांस्यपदक जितेको थियो । पुरुष बास्केटबल टोलीका कप्तान सदिश प्रधानले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै हामीले पनि देशका लागि खेलेको र सरकारबाट सबै खेलाडीलाई समान व्यवहार हुनुपर्ने होइन र ? भन्दै प्रतिप्रश्न गरे । महिला भलिबलतर्फ ऐतिहासिक रजतपदक हात पारेका खेलाडी पनि सरकारको यो घोषणाबाट सन्तुष्ट छैनन् ।

१३औं सागमा नेपालले एकल र टिममा गरी ५१ स्वर्णपदक, टिम र एकलमै ६० रजतपदक तथा टिम र एकलमै ९५ कांस्यपदक जित्न सफल भएको थियो । सागमा तेक्वान्दोबाट १२, कराँतेबाट १०, उसुबाट ५, पौडी र साइक्लिङबाट ४, एथलेटिक्स र बक्सिङबाट समान ३–३, भारोत्तोलन, ट्रायथलन, गल्फ र जुडोबाट समान २–२ तथा कुस्ती र फुटबल टिमले १ स्वर्ण जित्न सफल भएको थियो ।

(Visited 1,175 times, 1 visits today)
Loading comments...