बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

बैंक ह्याकको जालो : विदेशबाटै चल्छ ह्याकरको नेटवर्क

महेश्वर गौतम
1 month ago
11/12/2019

काठमाडौं ।  नेपालमा बैंक ह्याकमा विदेशी नागरिकको जालो नै सक्रिय रहेको पाइएको छ । सन् २०१० मा नेपाल आएका ‘काले’ भनिने नाइजेरियन नागरिक पिटर हेर्मनसहितका विदेशी नागरिकले नेपाली नागरिकलाई एजेन्ट बनाएर बैंक ह्याकमा विदेशबाटै नेटवर्क सञ्चालन गरिरहेको तथ्य प्रहरीले फेला पारेको छ ।

केही समयअघि केही निजी बैंक ह्याक गरेका ह्याकरले सरकारी बैंकलाई समेत निशानामा पारेपछि बैंक ह्याकिङ प्रकरणमा विदेशी नागरिकको जालो सक्रिय रहेको प्रहरीले फेला पारेको हो । बैंक ह्याक प्रकरणमा पिटरसँगै बेलायती नागरिक स्मिथ मोरिस र उनीहरूको समूहमा १० जना भारतीय नागरिक पनि संलग्न रहेको प्रहरी अनुसन्धान देखाउँछ ।

अपराध अनुसन्धान महाशाखाले कृषि विकास बैंकको सिस्टम ह्याक गरेर १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ रकम लुट्ने विदेशी ह्याकरका तीन जना नेपाली एजेन्टलाई मंगलबार पक्राउ गरेको थियो । उनीहरूलाई बुधबार सार्वजनिक समेत गरिएको छ ।

महाशखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार विदेशी ह्याकरको समूहले नेपालस्थित विभिन्न ४० जनाभन्दा धेरै व्यक्तिलाई एजेन्टका रूपमा प्रयोग गरेर सामाजिक सञ्जाल प्रयोग गर्दै बैंक ह्याकका लागि प्रयोग गर्दै आइरहेका छन् ।

महानगरीय प्रहरी परिसरका प्रमुख समेत रहेका एसएसपी उत्तमराज सुवेदीका अनुसार विदेशी नागरिकको समूह एजेन्ट राखेर नै बैंक ह्याक गर्न सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ । उनले कृषि विकास बैंकसँगै पानस रेमिटबाट पनि ह्याकरले रकम लुटेको हुन सक्ने जनाए ।

बैंक ह्याक प्रकरणमा पक्राउ पर्ने नेपाली एजेन्टमा दोलखा फुलपा गाउँपालिका–२ स्थायी घर भएका रमेश खड्का, नवलपरासीको रामग्राम १७ घर भएका विश्वेरप्रसाद तिवारी र सोही ठाउँका सन्दीप कलवार छन् । उनीहरूको नाइजेरियन नागरिक पिटर र बेलायती नागरिक स्मिथ मोरिसको समूहसँग विदेशबाट नै कनेक्सन देखिएको प्रहरीले बताएको हो ।

लुटपाटमा संलग्न पिटर सन् २०१० मा नेपाल आएको र त्यसपछि पटकपटक आउजाउ गरेको पाइएको अपराध महाशाखका प्रमुख थापाले जानकारी दिए ।

पिटर नेपाल आएका बेला पक्राउ परेका रमेश खड्काको ठमेलस्थित बुद्ध होटेलमा बस्ने गरेको अनुसन्धानबाट खुलेका थापाले बताए । सोही होटलमा बस्दा बस्दै चिनजान भएर लुटपाटको योजना बनाएको हुन सक्ने उनको भनाइ छ ।

यसैगरी लुटपाटमा संलग्न तिवारी ठमेल किचनमा काम गर्दै आएका छन । पक्राउ परेका अर्का कलवार भने मनी चेन्जर कम्पनी सञ्चालक भएको खुलेको छ । उनीहरूले कृषि विकास बैंक र पानस मनी ट्रान्सफरबाट रकम लुट्ने क्रममा विभिन्न १७ भन्दा बढी बैंकबाट कारोबार गरी रकम निकालेको प्रहरी अनुसन्धान देखाउँछ ।

लुटेराहरूले सनराइज बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू, प्रभु बैंक, नबिल बैंक, लुम्बिनी बैंक, माछापुच्छ«े बैंक, एसबीआई बैंक, एनबी बैंक, ग्लोबल बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, एनएमबी बैंक र लक्ष्मी बैंकबाट कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । ह्याकरहरूले असोज पहिलोसाता सिस्टक ह्याक गरी कृषि विकास बैंक लहान शाखाको रकम लुटेका थिए ।

विभिन्न तरिकाबाट लुटिएका रकममध्ये १५ देखि २० प्रतिशतसम्म नेपाली एजेन्टले राख्ने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरिएको देखिएको छ ।
उनीहरूले भाइबर, ह्वाट्स एप, इमो, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न प्रलोभनमा पारेर तथा विदेशबाट विभिन्न किसिमका सामान पार्सल आएको भन्दै नेपाली नागरिकलाई ठगी गर्दै आइरहेको पाइएको प्रहरी बताउँछ ।

यसअघि असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको नाफाबाट करिब ५ करोड रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर गराएर रकम निकालेको आरोपमा १८ जना पक्राउ परेका थिए ।

त्यस्तै, १० प्रतिशत कमिसनको प्रलोभनमा खटाएका एजेन्ट कोही रकम निकाल्दा निकाल्दै र कोही रकम निकालिसकेपछि पक्राउ परेका थिए । प्रहरीले तत्कालीन समयमा कालेको समूहले नेपालका विभिन्न बैंकबाट कुल ५ अर्ब लुट्ने योजना रहेको पाइएको बताएको थियो ।

(Visited 75 times, 1 visits today)
Loading comments...