शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

विश्वभर ४२ करोड मानिसलाई मधुमेह, खानपानले संक्रमित बढ्दै

पूर्णभक्त दुवाल
1 month ago
13/12/2019

काठमाडौं । आहारविहार, रहनसहन आदिका कारण संसारभरि हरेक उमेर समूहका मानिसलाई मधुमेह लाग्ने गरेको छ । विगतमा धनीलाई मात्र लाग्ने चिनी रोग भनिने यो रोगलाई डायबिटिज भनेर पनि चिनिन्छ ।

मधुमेह अहिले मध्यम वर्गलाई पनि लाग्ने गरेको छ । वास्तवमा मधुमेह हत्तपत्त निको नहुने रोग भएकाले प्रत्येक नागरिकले ३–३ महिनामा रक्त परीक्षण गराउनुपर्ने भनाइ डा. प्रियादर्शनी योञ्जनको छ ।

मधुमेह (डायबिटिज) भनेको एक प्रकारको दीर्घ रोग हो । यो रोग लागेको व्यक्तिको रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी हुन्छ । यसको उपचार लामो समयसम्म भएन भने यसबाट जटिलता आउने डर हुन्छ ।

विश्वव्यापी तथ्यांक हेर्दा अहिले संसारभर ४२ करोड मानिसलाई मधुमेह रोग भएको अनुमान छ । र, यही अवस्था रहेमा सन् २०३० सम्ममा बढेर ६० करोड मानिस यसको संक्रमणमा फस्ने भविष्यवाणी गरिएको छ ।

नेपालको सन्दर्भमा

इन्टरनेसनल डायबिटिज फेडरेसनले करिब ४ प्रतिशत जनसंख्या मधुमेहको संक्रमणमा रहेको अनुमान गरेको छ ।

मधुमेहका प्रकार

मधुमेह मुख्य त चार प्रकारका हुन्छन् । तर, हामीकहाँ दुई प्रकारका मधुमेह बढी देखिएका छन् । मधुमेहका बिरामीमध्ये करिब ९० प्रतिशतमा ‘टाइप–२’ मधुमेह देखिएको हुन्छ । टाइप–१ मधुमेह भनेको १० प्रतिशतभन्दा कमलाई देखिने गर्छ । यस्तै, गर्भवती अवस्थामा पनि मधुमेह देखिन सक्छ । यसलाई ‘जेस्टेसनल डायबिटिज’ भनिन्छ । प्यांक्रियाज ग्रन्थीमा समस्या भएर वा अरू किसिमको समस्याले गर्दा पनि हुन्छ ।

मधुमेहका लक्षण के कस्ता हुन्छन् ?

‘टाइप–२’ मधुमेहका लक्षणबारे कुरा गर्दा करिब ५० प्रतिशत मधुमेह लक्षणबिना नै देखा पर्दछ । त्यो परीक्षण गर्दा एक्कासि देखा पर्दछ ।
बाँकी ५० प्रतिशतमा देखिने लक्षण भनेको सुगर बढी भएर पिसाब बढी लाग्ने, तिर्खा लाग्ने, तौल घट्दै जाने, घाउ निको हुन समय लाग्ने, खुट्टा झमझमाउने पोल्ने, बढी मात्रामा थकाइ लाग्ने, चक्कर लाग्ने यस्तो खालको लक्षण देखा पर्छ ।

कसरी सतर्कता अपनाउने ?

मधुमेह हुने अथवा नहुने अवस्था सिर्जना गर्ने जोखिम तत्व अर्थात् ‘रिस्क फ्याक्टर’ भन्छौं हामी । पहिलो ‘रिस्क फ्याक्टर’ भनेको हामीभित्रको जिन हो । यदि परिवारमा बुबाआमालाई वा बाजेबज्यैमा मधुमेह छ भने आफू र सन्तानलाई हुने सम्भावना ५० प्रतिशत बढी हुन्छ ।

दोस्रो भनेको तौल अर्थात् मोटोपना । तौल बढी छ भने शारीरिक सक्रियता कम छ अर्थात् व्यायाम कम गरिन्छ भने पनि मधुमेह हुने खतरा बढेर जान्छ ।
त्यस्तै, उच्च रक्तचाप, कोलेस्टोरलको समस्या छ भने पनि मधुमेहको सम्भावना बढी हुन्छ । यस्तै, धूमपान सेवनकर्तामा पनि मधुमेह हुने सम्भावना बढेर जान्छ । योचाहिँ विभिन्न रिस्क फ्याक्टरको कुरा भयो तर, यीबाहेक मधुमेह जसलाई पनि लाग्न सक्छ । तर, रिस्क फ्याक्टर भएको व्यक्तिमा मधुमेहको सम्भावना बढी हुन्छ ।

मधुमेह कस्ता मानिसलाई लाग्छ ?

खासगरी सौखिन जीवनशैली अपनाउनेलाई मधुमेह हुने सम्भावना बढी हुन्छ । मोटोपन भएका, शारीरिक व्यायाम कम गर्ने, बढी चिल्लो खानेलाई यो रोग लाग्छ । यो वंशाणुगत कारणले पनि हुन्छ । मधुमेह अर्थात् डायबिटिजलाई सामान्य भाषामा चिनीरोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थीबाट उत्पादन हुने इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुन्छ ।

इन्सुलिनले चिनी अर्थात् कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर, जब इन्सुलिनको उत्पादन हुन छाड्छ, रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुन्छ ।

मधुमेहले अन्य अंगमा पनि दीर्घकालीन असर पु-याउँछ ?

चिनीको मात्रा रगतमा धेरै समयसम्म नियन्त्रण नभएमा आँखा देख्न कम हुने, मुटुसम्बन्धी समस्या उत्पन्न हुने, मिर्गौला कमजोर हुने, चोटपटक चाँडो निको नहुने र स्नायुसम्बन्धी समस्या भई हातखुट्टा झमझमाउने हुन सक्छ ।

मधुमेहका बिरामीले खान नहुने खानेकुरा ?

मधुमेहका बिरामीले गुलियो पदार्थ खानुहुँदैन । चिनी, मिठाई, जाम, केक र चिसो पेयपदार्थ खानुहुँदैन । चिल्लोयुक्त र बोसोयुक्त खाना कम खानुपर्छ । बोसो भएको मासु वा तारेका खानेकुरा (जस्तै ःपुरी, पकौडा, समोसा, पुलाउ, आलुचिप्स आदि) खानुहुँदैन । रातो मासु अर्थात् चौपायाको मासु खानुहुँदैन । आलुबाट बनेका खाद्यपदार्थ, तरुल, पिँडालु, सखरखण्डजस्ता वस्तु खानुहुँदैन । त्यस्तै मादक पदार्थ रक्सी र बियर पनि खानुहुँदैन ।

खान हुने खानेकुरा के के हुन् त ?

भात, मकै, चिउरा, गहुँ र चिनी नभएको बिस्कुट खाँदा हुन्छ । मुला, सलगम, रामतोरिया, प्याज, बकुल्ला पनि खान हुन्छ । दाल गेडागुडी, रहर, मास, चना, मटर, भटमास, मुग खाँदा हुन्छ । फलफूलमा सुन्तला, मेवा, अंगुर, स्याउ, केरा, नासपती खाँदा राम्रो हुन्छ । दूधको परिकार, माछा, सेतो मासु र फूल आदि खाँदा हुन्छ । तरकारीमा परबल, कुरिलो, भन्टा, हरियो लसुन, मेथी, बन्दागोभी, फूलगोभी, सिमी, मुगी, काँक्रो, भोगटे, हरियो खुर्सानी, गोलभेंडा खान हुन्छ । यसरी नै फलफूल जामुन, बयर, कागती, अमला, काफल पनि खान सकिन्छ ।पेय पदार्थमा चिनीबिनाको चिया, कफी, भेजिटेबल सुप, नरिबलको रस, निमको पातको रस आदि सकिन्छ । सलादमा जिरा, मसला, गेडागुडी, गोलभेंडा, मरिच र धनियाँको पात खान हुन्छ ।

मधुमेहका कारण हुने आकस्मिक समस्या के के हुन् ?

पहिलो तथा दोस्रो प्रकारको मधुमेह लागेका प्रायः मानिसमा रगतमा चिनीको मात्रा कम हुने समस्या पनि देखिने गर्छ । धेरैजसो अवस्था मन्द खालको हुने भएकाले यसलाई गम्भीर स्वास्थ्य समस्याका रूपमा लिइँदैन । मन्द खालको अवस्थामा आत्तिने, अप्ठ्यारो महसुस हुने, धेरै पसिना आउने, शरीर काप्ने तथा खाना बढी रुच्ने हुन्छ भने गम्भीर मधुमेह लागेका मानिसमा अलमल हुने, व्यवहार परिवर्तन हुने, मूच्र्छा पर्नेजस्ता समस्या
देखिन सक्छन् ।

मधुमेहका रोगीले इन्सुलिन प्रयोग गरेरै उपचार गर्नुपर्छ त ?

प्रकार दुईको मधुमेहमा शरीरभित्रको इन्सुलिनमा कमी हुन्छ । यो क्रम निरन्तर चल्छ र अन्तिम अवस्थामा शरीरभित्रको इन्सुलिन सकिन्छ । त्यति बेला बाहिरबाट इन्सुलिन इन्जेक्सन लगाउनुपर्छ । मधुमेहको अन्तिम अवस्थामा पुगेपछि मात्र इन्सुलिन इन्जेक्सन लगाउँदा धेरै समस्या हुन्छ । इन्सुलिन भनेको प्यांक्रियाजले बनाउने एक प्रकारको शरीरको हर्मोन हो । मधुमेह रोग भनेकै विस्तारै प्याक्रियाजबाट इन्सुलिनको उत्पादन कम हुँदै जानु हो त्यसैले शरीरका लागि बाह्य इन्सुलिन आवश्यक पर्छ । इन्सुलिन प्रयोग गर्न थालेपछि पनि खानपिनमा विचार र शारीरिक व्यायाम कायम नै राख्र्नुपर्छ । यो खासै महँगो पनि छैन र यो लगाउँदा पीडा
पनि हुँदैन ।

मधुमेहको जोखिम महिला पुरुष वा उमेरअनुसार कम बढी हुन्छ ?

मधुमेह महिला पुरुष दुवैलाई देखिन सक्छ । उमेर बढ्दै जाँदा मधुमेहको जोखिम बढ्दै जान्छ । तर, अहिले कम उमेरमै पनि यसको संक्रमण देखिन थालेको छ त्यसैले पहिले पहिले जस्तो मधुमेहलाई बुढ्यौलीमा देखिने रोग भनेर भन्न मिल्दैन । अहिले जुनसुकै उमेरका व्यक्तिमा पनि यो रोग लाग्न सक्छ ।

गर्भवती महिलालाई मधुमेह देखिनुको कारण के हो ?

गर्भवती भएको ६ देखि ७ महिनाको बीचमा विभिन्न हर्मोनल परिवर्तन भएका हुन्छन् । त्यो बेलामा इन्सुलिन भन्ने जो सुगरलाई नियन्त्रण राख्ने हर्मोन हुन्छ, रेसिस्टेन्स भइदिन्छ अर्थात् त्यसले राम्ररी काम गर्दैन । त्यसबेला डायबिटिज अर्थात् मधुमेह हुने खतरा बढेर जान्छ । र, गर्भवती महिलामा यसको जोखिम बढेर जान्छ ।

टाइप टु डायबिटिज

रोगमा बिरामी प्रायः मोटा हुन्छन् । ४० वर्ष बढी उमेरकालाई यो बढी हुन्छ । यो प्रकारको मधुमेहमा इन्सुलिन रेसिष्टेण्ट (इन्सुलिनले काम गर्ने शक्ति घट्ने अवस्था) हुने हुँदा खाने चक्की वा इन्सुलिन पनि आवश्यकता पर्न सक्छ । टाइप टु डायबिटिज प्रायः वशांणुगत, अव्यवस्थित जीवनशैली र मोटोपनाका कारणबाट हुन्छ । यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेह रोगीमध्ये धेरै यही प्रकारको मधुमेहका रोगी छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र शरीर पनि इन्सुलिन ग्रहण गर्न अक्षम हुन्छ । उमेर बढ्दै जाँदा यस प्रकारको मधुमेहबाट व्यक्ति ग्रस्त बन्दै जान्छ ।

टाइप टु डायबिटिज (दोस्रो प्रकारको मधुमेह) इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ ।

नेपालमा कस्ता मधुमेहका बिरामी छन् ?

हर्माेनको गडबडी, औषधिका कारण र प्यांक्रियाज ग्रन्थीमा संक्रमण हुँदा पनि मधुमेह हुन सक्छ । मधुमेहको पहिलो प्रकार अर्थात् टाइप वानमा शरीरले इन्सुलिन उत्पादन गर्न सक्दैन । यस्तो टाइपको मधुमेहका बिरामीलाई छिनछिनमा पिसाब लाग्ने, प्यास बढी लाग्ने, भोक धेरै लाग्ने, शरीरको तौलमा अचानक कमी हुने र अधिक थकान महसुस हुन्छ । वंशाणुगत कारणले हुने यो टाइपको मधुमेहका बिरामी नेपालमा कमै छन् । हाल नेपालमा ९० प्रतिशतदेखि ९५ प्रतिशतसम्म दोस्रो प्रकारको मधुमेहका रोगी भएको तथ्यांकले देखाएको छ । यस्तोमा प्यांक्रियाजले इन्सुलिन बनाउँछ । तर, त्यो शरीरका लागि अपर्याप्त हुन्छ । यसैगरी, इन्सुलिनको कार्यक्षमतामा ह्रास आउँछ ।

(Visited 80 times, 1 visits today)
Loading comments...