बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

पाँच पतिका एक पत्नीकाे कथा फिल्ममा

राजधानी समाचारदाता
1 month ago
13/12/2019

काठमाडौं । हुम्लाको एउटा गाउँमा प्रायः घरमा दुईदेखि चार, पाँच जना श्रीमान छन् । उनीहरू सबैको एउटै साझा श्रीमती छन् । ती एक मात्र श्रीमतीले आफ्नै सबै संयुक्त श्रीमानलाई खुसी राख्नुपर्छ । ती श्रीमान्लाई सम्बन्धका लागि पनि श्रीमतीले रोलक्रम तोक्ने गरेकी छन् । संयुक्त श्रीमतीले तोकेको रोजक्रमप्रति श्रीमान् सहमत छन् ।
चार श्रीमानको एक मात्र श्रीमती छिन् । गाउँमा हरेक परिवारको दाजुभाइले एउटै साझा श्रीमती विवाह गरेका छन् । तापनि सबै दाजुभाइ एउटै श्रीमतीबाट खुसी छन् । नयाँ पुस्ताका भाइले दाइकै श्रीमतीलाई आफूले श्रीमती मान्नुपर्दा केही असन्तुष्टि जनाए पनि परम्परा बचाउनुपर्ने बाध्यता र दाइहरूको दबाबका कारण उनीहरूले अर्को महिलासँग विवाह गर्न सकेका छैनन् । जसका कारण सबै दाजुभाइले एउटै श्रीमतीलाई साझा श्रीमती बनाउनुपरेको छ ।

बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’को यथार्थ कथा हो यो । पत्रकार एवं निर्देशक गणेश पाण्डेले निर्माण गरेको वृत्तचित्र सहायक श्रीमान्को कथा निकै रोचकसँगै पीडादाई पनि छ ।

यसअघि निकै चर्चामा रहेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ पछि निर्देशक पाण्डेले अर्को नयाँ वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) यतिबेला निर्माण गरेका छन् । संयुक्त पत्नीलाई केहीले समर्थन गरेका छन् भने केहीले विरोध गरेर अर्को विवाह गरेको प्रसंग पनि निर्देशकले यो वृत्तचित्रमा समेटेका छन् ।

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

हुम्लाको लामा समुदायमा विद्यमान बहुपति प्रथालाई निर्देशक पाण्डेले वृत्तचित्रका रूपमा सहायक श्रीमान् निर्माण गरेका हुन् । यो वृत्तचित्र ३५ मिनेटको छ । काठमाडौंकोमा बुधबारबाट सुरु भएको १७औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा वृत्तचित्र सहायक श्रीमान् चयन भएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा जारी यो महोत्सवमा निर्देशक पाण्डेको वृत्तचित्रलाई शुक्रबार दिउँसो १ बजे प्रदर्शन गरिँदै छ । महोत्सवमा यो वृत्तचित्र प्रतिस्पर्धामूलक समूहमा छानिएको हो ।

कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ, ‘हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरू माया र काम मात्रै बाँड्दैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् ।’ जुन हाम्रो पुस्ताका लागि अत्यन्तै अनौठो लाग्ने भएकाले आफूले यो यथार्थलाई वृत्तचित्रका रूपमा उतारेको निर्देशक पाण्डेले बताए ।,

‘एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीनवटा परिवारको कथामा हामीले यो डकुमेन्ट्री निर्माण गरेका छौं,’ निर्देशक पाण्डेले बिहीबार पत्रकारसँग भने, ‘करिब चार वर्षको छायांकन र रिसर्चबाट यो डकुमेन्ट्री निर्माण भएको छ । हाम्रो पुस्ताका लागि यो डकुमेन्ट्री नयाँ विषय भएकाले हाम्रो मिहिनेतलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने आशा लिएको छु ।’ यो वृत्तचित्रको लेखन पनि आफैंले गरेको निर्देशन पाण्डेले बताए ।

यो वृत्तचित्रको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला, सहायक निर्देशक नृपराज हमाल छन् । वृत्तचित्रलाई ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले संयुक्त रूपमा खिचेका हुन् । जसमा संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् । साइन मिडिया प्रालिका लागि यो वृत्तचित्र शारदा गैरेले निर्माण गरेकी हुन् ।

(Visited 189 times, 1 visits today)
Loading comments...