बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

भारतिय नागरिकता विधेयककाे कारण जापानी प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुन सक्ने

एजेन्सी
1 month ago
14/12/2019

टोकियो । जापानी प्रधानमन्त्री सिन्जो आबेको प्रस्तावित भारत भ्रमण कार्यक्रम स्थगित हुन सक्ने जापानी सञ्चार माध्यमहरूले जनाएका छन् । भारतका उत्तरपूर्वी केही राज्यमा नागरिकता विधेयकको विषयलाई लिएर हाल जारी रहेको आन्दोलनका कारण सुरक्षाको अवस्थालाई मध्यनजर गरी सो भ्रमण हाललाई स्थगित गर्ने योजनामा जापानका प्रधानमन्त्री आबे रहेको बताइएको छ ।

जापानी प्रधानमन्त्री आबेले आगामी आइतबारदेखि मंगलबारसम्म भारतको भ्रमण गर्ने योजना थियो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उत्तरपूर्वी राज्य असमको गुवाहाटीमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो । तर, अहिले विवादास्पद नागरिकता विधेयकसम्बन्धी आन्दोलनको केन्द्रबिन्दु असम राज्यमा नै रहेकाले भ्रमणमा अन्योल बढेको हो ।

जापानी प्रधानमन्त्री आबेले असमपछि छिमेकी राज्य मणिपुरमा शान्ति संग्रहालयको भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । मणिपुरमा दोस्रो विश्वयुद्धका समयमा जापानी सेना र पश्चिमा मुलुकका सेनाबीच इम्फाल युद्ध नाम दिइएको भीषण युद्धका क्रममा ठूलो संख्यामा जापानीसमेतका सैनिकको मृत्यु भएको थियो ।
जापानको सरकारी टेलिभिजन एनएचकेले भनेको छ, ‘प्रधानमन्त्रीले आसन्न भारत भ्रमणका विषयमा सोचविचार गरिरहेका छन् ।

भारतको गुवाहाटीमा पनि जारी आन्दोलनका क्रममा सहरमा दुवै नेताको स्वागतार्थ टाँगिएका ब्यानरहरू पनि आन्दोलनकारीहरूले च्यातेका छन् । ती दृश्यहरू भारतीय टेलिभिजनहरूले देखाइरहेका छन् । यस दृश्यका कारण पनि प्रधानमन्त्री आबेले सो भ्रमणबारे पुनर्विचार गर्न लागेका हुन् ।

शुक्रबार पनि भारतका विभिन्न राज्यमा आन्दोलन जारी छ । त्यस क्रममा आन्दोलन नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूले आन्दोलन जारी रहेको बताइरहेका छन् । भारतीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले गत बुधबार पारित गरेको नागरिकतासम्बन्धी विधेयकको विरोधमा नागरिकहरू आन्दोलनमा उत्रिएका छन् ।

प्रस्तावित नागरिकता विधेयकमा बंगलादेश र पाकिस्तानबाट भारत प्रवेश गरेका गैरमुस्लिम व्यक्तिहरूलाई मात्र भारतीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ । उक्त विधेयकले भारतीय संविधानको मर्मविपरीत मुस्लिम समुदायलाई उपेक्षा गरेको नागरिक समाज, प्रबुद्धवर्ग र पूर्वोत्तर भारतका जनताको आरोप छ ।

(Visited 70 times, 1 visits today)
Loading comments...