शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

बम ठानेर डिस्पोज गर्न खोज्दा भेटियो चरेस

सुदीप अधिकारी
1 month ago
14/12/2019

बर्दिया । शनिबार विहान ठाकुरबाबा नगरपालिका–२ सिंहवाहिनीका एक स्थानियले आफनो घर अगाडी बेबारिसे अवस्थामा झोलासहित शंकास्पद बस्तु देखे । घर अगाडी राजमार्ग छेवैँमा कालो झोलामा डल्लो जस्तो देखिने बस्तु देखेपछि उनी त्रसित भए । केहीबेरमै त्यो ठाउँ वरपर मानिसको भिड नै लाग्यो । स्थानियले शंकास्पद बस्तु बम हो की भन्ने आशंकामा प्रहरीलाई खबर गरे ।

प्रहरीले खबर पाए लगत्तै बम डिस्पोजका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुग्यो । घटनास्थल पुगे लगत्तै सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले पूर्वपश्चिम राजमार्ग भुरिगाउँदेखि रानीपुरसम्म बन्द गर्यो । नेपाली सेनाको बम डिस्पोजल टोली बम डिस्पोजका लागि बन्दोबस्तीमा जुटे । करिब बिहान साढे ११ बजे तिर बम डिस्पोज गर्न सेनाको टोली तम्तयार भयो । शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा बमको साटो त्यहाँ चरेस फेला पर्यो ।

शुक्रबार राति धनुषामा शंकास्पद झोला निष्क्रिय पार्न खोज्दा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको घटनाले सुरक्षा निकाय र स्थानिय पनि निकै त्रसित थिए । शंकास्पद झोलामा चरेस भेटिएपछि सुरक्षा निकायलगाएत स्थानिय सबै चकित परे । शंकास्पद झोलाभित्र झण्डै ११ किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।

डिस्पोजलका क्रममा सुरक्षाको दृष्टिकोणले बिहान साढे ९ बजेदेखि मध्यान्न १२ बजेसम्म राजमार्गमा गुड्ने यातायातका साधनमा रोक लगाइएको बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । हिँडडुल गर्नेलाई भने सडकदेखि तलतिरबाट आवतजावत गर्न दिइएको थियो । डिस्पोज गर्दा चरेस भेटिएपछि दिउँसो सवा १२ बजेपछि राजमार्गमा यातायात सञ्चालन भएको थियो । घटनास्थल भन्दा करिव ४ किलोमिटर पश्चिममा नेपाली सेनाको चेक पोष्ट रहेको छ । चेक पोष्ट रहेको थाहा पाएर चरेस ल्याएको व्यक्तिले पक्राउ पर्ने डरले बाटैमा चरेसले भरिएको झोला फ्याकेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

(Visited 89 times, 1 visits today)
Loading comments...