शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

बम विस्फोट प्रकरण : इन्स्पेक्टर दाहाल १४ वर्ष झलनाथ खनालका निजी सुरक्षा अधिकारी रहेका

सुजीतकुमार झा
1 month ago
14/12/2019

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा बम विस्फोटबाट मृत्यु भएका इलाका प्रहरी कार्यालय महेन्द्र नगरका अमिरकुमार दाहाल संखुवासभाको स्थानीयवासी रहेका छन ।

संखुवासभाको मादी नगरपालिका–२ स्थित घर भएका दाहाल २०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएका थिए । उनी २०६० असोज ९ गते प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भए । त्यसपछि २०७५ वैशाख १९ गते प्रहरी निरीक्षकमा बढुवा भएका दाहाल २०७५ कात्तिक ३० गतेदेखि धनुषामा कार्यरत थिए ।

इलाका प्रहरी कार्यालय धनुषाधामको कार्यालय प्रमुख भएर काम गरेका दाहाल करीब १ वर्षदेखि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए । प्रहरीमा भर्ना भएदेखि हालसम्म उनले ३ पटक पुरस्कार पाइसकेका छन् । प्रहरीमा अब्बल तथा इमान्दार मानिने दाहाल असईदेखि इन्सपेक्टरसम्म भएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेश यादवका अनुसार दाहाल सई हुँदा करीब १४ वर्षजति पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालका निजी सुरक्षा अधिकारी (पीएसओ) रहेका थिए । मृतक दाहालको सामाजिक सञ्जाल फेसबुक हेर्दा उनको विवाह रेशमा दाहालसँग भएको देखिन्छ । उनको पारिवारिक तस्वीरमा एउटा छोरा समेत देखिन्छन् ।

‘प्रहरी निरीक्षक दाहालले आफ्नो कामबाट सबै स्थानीयको मन जित्न सफल हुनुभएको थियो,’ क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले भने, ‘उहाँले सबै जनताको मन जित्न सफल भएकै कारण स्थानीयसहित नगरवासी समेत दुःखी भएका छन् ।’

देशले एउटा असल प्रहरी अधिकारी गुमाउनुपरेको उनले बताए । ‘जनतासँग व्यवहार गर्दा, बोल्दा अति नै मिजासिलो भएर पोलाइट किसिमले बोल्ने गरेका इन्स्पेक्टर दाहालको निधन हुँदा हामी मर्माहत भएका छौं,’ मेयर पजियारले भने ।

जिल्ला प्रहरी कार्यालय धनुषामा अनुसन्धान अधिकृतको रुपमा कार्यरत प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले एउटा असल साथी गुमाउनु परेको बताए । घटनाको अनुसन्धानमा खटिएका साहले भने, ‘उहाँ इन्चार्जको रुपमा त्यहाँ खटिनुभएको थियो, हालसम्म कुनै पनि विवाद, राजनीतिक आग्रह वा पूर्वाग्रह तथा पक्षपात आदिको कुनै सिकायत आएको थिएन ।’

(Visited 327 times, 1 visits today)
Loading comments...