बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

एक सातामै उत्तर कोरियाद्वारा दोस्रो परीक्षण

एजेन्सी
1 month ago
14/12/2019

प्योङयाङ । उत्तर कोरियाले भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन भन्दै ‘महत्वपूर्ण परीक्षण’ सम्पन्न गरेको उत्तर कोरियाको राज्य सञ्चालित समाचार एजेन्सी केसीएनएले जनाएको छ । सरकारका एकजना प्रवक्ताले केसीएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रवार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा परीक्षण गरिएको थियो । यद्यपि यो परीक्षणबारे उत्तर कोरिया सरकारले थप केही विवरण दिएको छैन ।

उत्तर कोरियाले एक साताभन्दा कम समयमा दोस्रो परीक्षण गरेको हो । अघिल्लो साता उत्तर कोरियाली नेता किम जोङ उनले घोडामार्फत त्यहाँको हिमाल आरोहण गरेपछि लगातार परीक्षणलाई निरन्तरता दिएको हो । अमेरिका र उत्तर कोरियाबीच उत्तर कोरियाको आणविक कार्यक्रमबारेको वार्ता अहिले ठप्प छ ।

प्योङयाङले अमेरिकालाई यो वर्षको अन्त्यसम्मको समयसीमा तोक्दै प्रतिबन्धमा नयाँ सहुलियहरू प्रदान गर्न आग्रह गरेको छ । त्यसो नगरेमा उत्तर कोरियाले नयाँ बाटो अपनाउने उसले बताइसकेको छ । दक्षिण कोरियाका रक्षा मन्त्रीले डिसेम्बरको सुरुमा जमिनमा आधारित एक इन्जिनको परीक्षण गरिएको बताए ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्दैछ्न । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझ पनि उत्तर कोरियासँग सहमति बन्ने आशा राखेको बताए ।

ट्रम्पले सन् २०१८मा उनले अख्तियार गरेको उनको विदेश नीतिको एजेन्डा बमोजिम उत्तर कोरियालाई मनाउन प्रयास गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले किम जङ–उनसँग दुईपटक शिखर वार्ता गरिसकेका छन् भने एक पटक ट्रम्प उत्तर कोरियाली भूमिमै पुगेर समेत छलफल गरेका थिए ।

गत फेब्रअरीमा भियतनाममा भएको शिखर बैठकमा अमेरिका कोरियाली प्रायद्विपमा आणविक हतियार विस्थापनसँगै उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध पनि विस्तारै खुकुलो गर्न सहमत नभएपछि वार्ता भाँडिएको थियो । उसले उत्तर कोरिया पूर्ण रुपमा निरस्त्रीकरण भएपछि मात्रै प्रतिबन्ध खुकुलो पार्ने बताएपछि उत्तर कोरिया रुष्ट बनेको थियो । त्यसपछि निरस्त्रीकरणमा महत्वपूर्ण उपलब्धि हासिल हुन सकेको छैन ।

अमेरिकाले मध्यम दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरमा बिहीवार परीक्षण गरेको थियो । यो हतियार १९८७ को इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी भनिने सन्धि अन्तर्गत प्रतिबन्ध गरिएको थियो । तर राष्ट्रपति ट्रम्पले गत वर्ष त्यो सन्धिबाट बाहिरिने निर्णय गरेका थिए ।

(Visited 78 times, 1 visits today)
Loading comments...