बिहिवार ९ माघ, २०७६ (Thursday, 23rd January 2020)
९ माघ, २०७६ (23 January 2020)

एक वर्षपछि बल्ल आज नेकपा स्थायी कमिटी बैठक

सुभाष साह
1 month ago
15/12/2019

काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नै सरकारको समीक्षा गर्ने भएको छ । नेकपाको आइतबारदेखि सुरु हुन लागेको स्थायी कमिटी बैठकमा सरकार सञ्चालन तथा मन्त्रीको कार्यसम्पादनबारे समेत गम्भीर मूल्यांकन हुनेछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि मात्रै मन्त्रिमण्डल पुर्नगठन गरे पनि कतिपय मन्त्रीहरू कार्यसम्पादनको हिसाबले कमजोर हुँदै गएको टिप्पणी हुन थालेको छ ।

एक वर्षपछि बस्न लागेको स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली नेतृत्वमा रहेको सरकारको समीक्षासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यक्ष दाहालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा सरकार सञ्चालनदेखि मन्त्रीहरूको कार्यसम्पादन समीक्षा, सांगठनिक अवस्था, पार्टीको अगामी कार्यभारलगायत विषयमा केन्द्रित हुनेछ ।

पार्टीले सञ्चालन गर्ने ६ महिने अभियान, अगामी केन्द्रीय कमिटी बैठक, पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउने, उपनिर्वाचनको समीक्षालगायत विषयमा समेत बैठकमा छलफल हुने एक नेताले बताए ।

‘वर्तमान कठिन अवस्थामा समेत सरकारले गरिरहेको काम सकारात्मक रहेको निष्कर्षसहितको प्रतिवेदन आउन सक्छ’ नेकपा एक नेताले भने, ‘सरकारको काम अझै प्रभावकारी बनाउन थप गति दिनुपर्ने सुझावसमेत प्रतिवेदनमा हुन सक्छ ।’

अध्यक्षद्वय ओली र दाहालको सहमतिमै आउने राजनीतिक प्रतिवेदनमा सरकारको बचाउ गरेर बैठकमा प्रस्तुत गरिए पनि त्यसको तीव्र विरोध हँुदै परिमार्जन गर्नुपर्ने आवाज बैठकमा उठने अर्का एक नेताले बताए । दुई तिहाइ बहुमतसहितको सरकारको काम सन्तोषजनक नदेखिएकाले बैठकमा विरोध हुन सक्ने उनले बताए ।

नेकपाले सञ्चालन गर्ने ६ महिने अभियानले पार्टी र जनताबीचको सम्बन्ध अझै मजबुत बनाउने, पार्टी एकताको सन्देश दिने, सरकारको राम्रा कामको प्रचार गर्ने विषयमा समेत बैठक केन्द्रित हुने नेताहरू बताउँछन् । यस्तै, पार्टी विधान संशोधन विषयमा समेत छलफल हुनेछ ।

अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सल्लाहमा नै अन्तिम रूप दिनुपर्ने भएकाले शुक्रबार र शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको हो । आइतबार बिहान सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटी बैठक सुरु हुनेछ ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले एक वर्षपछि बस्न लागेको स्थायी कमिटी बैठकमा विभिन्न विषयमा केन्द्रित भई बृहत् छलफल हुने बताए । साथै बैठकले सचिवालयले गरेका हालसम्मको निर्णयलाई अनुमोदन एवं परिमार्जनसहित पारित गर्ने उनले जानकारी दिए ।

‘लामो समयपछि स्थायी कमिटी बैठक बस्न लागेकाले विभिन्न विषयबारे बृहत् छलफल हुनु स्वभाविक नै हो’ साहले भने, ‘सरकार सञ्चालनदेखि पार्टी एकीकरण तथा अभियानलगायत विषयमा छलफल हुन्छ ।’

नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि बस्दै छ । यसअघि २९ मंसिर २०७५ मा स्थायी कमिटी बैठक बसेको थियो । गत ४ मंसिरमा बसेको सचिवालय बैठकले दाहाललाई पार्टी र ओलीलाई सरकार सञ्चालन गर्न जिम्मेवारी दिएपछि बैठक बस्न लागेको हो ।

पार्टीभित्र स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरूले माग गर्दै आएका छन् । समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने माग पार्टीभित्र उठ्दै आएको भए पनि अन्तरिम विधानअनुसार पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । स्थायी कमिटीले नै केन्द्रीय कमिटी बैठकको समेत टुंगो लगाउने बताइएको छ ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले चुनावी समीक्षा, पार्टीले सञ्चालन गर्ने ६ महिने अभियानलगायत विषयमा बैठकमा छलफल हुने बताए । लामो समयपश्चात् बस्न लागेको स्थायी कमिटी बैठकमा सरकार सञ्चालनदेखि अन्य विषयमा समेत छलफल हुने उनले बताए ।

‘स्थायी कमिटी बैठक लामो समयपश्चात् बस्न लागेको छ’ पौडेलले भने, ‘बैठकमा वर्तमान राजनीतिक अवस्थासहित पार्टी एकीकरणलगायत विभिन्न विषयमा छलफल हुने एजेन्डा छ ।’

(Visited 88 times, 1 visits today)
Loading comments...