शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

राष्ट्रिय राजमार्ग मापदण्डविपरीत निर्माणले समृद्धि सम्भव छैन : राजनीतिक दल

सुभाष साह
1 month ago
15/12/2019

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएका तथा राष्ट्रिय राजमार्ग मापदण्डविपरीत निर्माण भइरहेको छ ।

मापदण्डविपरीतको सडक पूर्वाधार निर्माणले समृद्धि आउन नसक्ने भन्दै त्यसलाई मापदण्डअनुसार नै निर्माण गर्नुपर्ने आवाज राजनीतिक दलका नेताले उठाएका छन् । अहिलेको बढदो जनसंख्या र यातायातको चापको आधारमा सडक पूर्वाधार फराकिलो हुनुपर्ने भए पनि मापदण्डविपरीत नै धमाधम निर्माण भइरहेकोप्रति उनीहरूले आपत्ति
जनाएका छन् ।

२०३१ सालमा तत्कालीन शाही सरकारले सडक ऐनमा मुख्य राजमार्गका लागि ५० मिटर तथा सहायक राजमार्गका लागि ३० मिटर सडक सीमाको व्यवस्था गरेको थियो । राजपत्रमै सडक सीमा तोकिसकेपछि त्यसयता सोहीअनुसार दर्जनौं सडक निर्माण गरियो । तर, निर्माणाधीन राष्ट्रिय राजमार्ग मापदण्डविपरीत नै कालोपत्रे हुँदै छ ।
बीपी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग कतै ९ मिटर त कतै १२ मिटर सडकसीमा तोकेर निर्माण भइरहेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश २ का अध्यक्ष प्रभु साहले मापदण्डविपरीत निर्माण हुने भौतिक पूर्वाधारले समृद्धि आउन नसक्ने भन्दै मापदण्डअनुसार नै निर्माण हुनुपर्ने बताए ।

‘पञ्चायतकालको तुलनामा अहिले जनसंख्याका साथै गाडीको संख्यामा गुणात्मक वृद्धि भए पनि सडकसीमा यथावत् रहँदा र त्यो पनि कार्यान्वयन नहुँदा राज्य कति गैरजिम्मेवार तरिकाले अगाडि बढेको छ भन्ने कुरा स्पष्ट हुन्छ,’ साहले भने, ‘यसरी मापदण्डविपरीत निर्माण हुने भौतिक पूर्वाधारले हामी समृद्धिको जुन सपना देखिरहेका छौं, त्यो पूरा गर्न सक्दैनौं ।’

वर्तमान निर्माणाधीन सडक पूर्वाधारले समृद्धि ल्याउन नसक्ने बताउँदै उनले राष्ट्रिय राजमार्गको सडक सीमा तोकिएकै मापदण्डअनुसार हुनुपर्ने बताए । सरकारले अहिले मापदण्डअनुसार राजमार्ग निर्माण कार्य अगाडि नबढाउने हो भने भोलिको दिनमा समस्या झेल्नुको विकल्प नभएको उनले बताए ।

समृद्धिका लागि मूल आधार सडक भएको जिकिर गर्दै अध्यक्ष साहले अहिले मुलुकमा निर्माणाधीन सडक समयसापेक्ष नभएकाले त्यस्ता सडकबाट धेरै अपेक्षा गर्न नसकिने बताए । सडकसीमाको विषय बारम्बार उठाइराख्ने अध्यक्ष साहले तोकिएको मापदण्डअनुसार सडक निर्माण नभएकामा चिन्ता व्यक्त गरे ।

‘आज त्यही सडकले देशको इज्जत धानेको छ । कानुनी व्यवस्था आज पनि त्यही भए पनि कार्यान्वयन भने गर्न नसक्दा सडकहरू १२ मिटरमा सीमित भएको छ । राजतन्त्रभन्दा पनि प्रजातान्त्रिक व्यवस्थामा यस्तो अदूरदर्शिता ठूलो दुर्भाग्य हो । यसबाट समृद्धि असम्भव छ,’ उनले भने ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले सरकारले कुनै पनि राजमार्ग निर्माण गर्दा भोलिको भविष्यलाई ध्यानमा दिएर निर्माण गर्नुपर्ने भए पनि सरकारले त्यसमा ध्यान नदिएको आरोप लगाए ।

‘राजमार्ग निर्माणका गर्दा सयौं वर्षपछिको चापलगायतका विषयमा सरकारले ध्यान दिनुपर्छ,’ मन्सुरले भने, ‘तर, अहिलेको सरकारले राष्ट्रिय राजमार्ग निर्माण गर्दा बनेको कानुन नै पालना नगरी मापदण्डविपरीत राजमार्ग निर्माण गर्दै छ तर पनि समृद्धि ल्याउने कुरा बताउन सरकार थाक्दैन ।’

राजमार्ग नै राष्ट्रिय मापदण्डविपरीत बनेपछि समृद्धि कसरी आउने भन्ने प्रश्न गर्दै उनले सरकारले मापदण्डअनुसार नै भौतिक पूर्वाधारको निर्माण गर्नुपर्ने बताए । अहिले सडक कालोपत्रे गर्ने र फेरि सोही सडक चौडा गर्ने नाममा सरकारले सर्वसाधारणालाई दुःख दिइरहेको बताउँदै उनले मापदण्डअनुसार नै सडक निर्माण हुनपर्ने बताए ।

सत्ता साझेदार समाजवादी पार्टीका महासचिव रामसहाय यादवले भविष्यलाई ध्यानमा दिएर भौतिक पूर्वाधारको निर्माण गर्नुपर्ने बताए । तर, अहिले निर्माण भइरहेको राजमार्ग पुरै मापदण्डविपरीत नै निर्माण भइरहेकाले समृद्धिको लक्ष्य पूरा नहुने उनले बताए ।

‘हामीले समृद्धिको नारा दिँदै गर्दा हामीले निर्माण गर्ने भौतिक पूर्वाधार मापदण्डअनुसार भएको–नभएको हेर्नुपर्ने हुन्छ,’ यादवले भने, ‘राष्ट्रिय गौरवकै आयोजना समावेश गरिएका राजमार्ग मापदण्डविपरीत निर्माण हुन थालेपछि समृद्धिको सपना देखिनु बेकार नै हो ।’

प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)का महासचिव अजय गुप्ताले सरकारले समृद्धिको नारा दिए पनि सो उद्देश्य प्राप्त गर्ने हिसाबले भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिएको आरोप लगाए ।

‘सरकार समृद्धिको नारा दिन थाक्दैन तर उसको काम भने त्यस्तो देखिएको छैन,’ गुप्ताले भने, ‘समृद्धिको नारा दिने सरकारले मापदण्डअनुसार नै भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने हो तर गर्दैन ।’

हुलाकी राजमार्ग होस् वा बीपी राजमार्ग कुनै पनि राजमार्ग मापदण्डअनुसार निर्माण हुन नसक्नु सरकारको कमजोरी रहेको उनले बताए । सरकारले राजमार्ग तथा राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दा मापदण्डअनुसार निर्माण गर्नेपर्ने गुप्ताले बताए ।

सडक विभागका महानिर्देशकको भनाइ

सडक विभागका महानिर्देशक केशव शर्माले मुआब्जाको समस्याले राजमार्ग निर्माण मापदण्डअनुसार नै निर्माण गर्न नसकिएको स्वीकार गरेका छन् । सरकारसँग मुआब्जा तिर्ने पैसा नहुने र जनताले आफ्नो सम्पत्ति यतिकै नदिने भएकाले अहिलेको आवश्यकतालाई ध्यानमा दिएर निर्माण गर्नुपर्ने बाध्यता रहेको बताए ।

‘पञ्चायतकालमा कडा कानुन थियो, त्यतिबेला यो जग्गा राजमार्गमा प-यो भनेपछि हुन्थ्यो र बन्थ्यो । तर, अहिले समस्या नै समस्या छन्,’ शर्माले भने, ‘मुआब्जाको पैसा सरकारले तिर्न नसक्ने र जनताले यतिकै नदिने भएकाले यस्तो हुन गएको हो ।’

सडक विभाग मापदण्डअनुसार नै राजमार्ग निर्माण गर्नुपर्ने पक्षमा रहे पनि विभिन्न समस्याका कारण मापदण्डअनुसार सडक निर्माण हुन नसकेको
उनले बताए ।

(Visited 34 times, 1 visits today)
Loading comments...