शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

करिश्मा मानन्धर र शान्ता चाैधरीले त्यसपछि पढन थाले

विजय नेपाल
1 month ago
15/12/2019

पोखरा । मानिसका लागि औपचारिक शिक्षा कति महत्वपूर्ण हुन्छ भनी सावित गरेका पछिल्लो समयका पात्र हुन्– नेपाली फिल्मनगरीका चर्चित अभिनेत्री करिश्मा मानन्धर र नेकपा नेता एवं सांसद शान्ता चौधरी ।

विविध कारणवश बीचैमा पढाइ छोडेका उनीहरूले पुनः स्कुलेजीवनमा फर्किंदै गत वर्षको एसईई परीक्षा दिएका थिए । र, मानन्धर ‘बी प्लस’ र चौधरी ‘बी’ ग्रेडमा उत्तीर्ण हुँदै हाल उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

बुक वर्म फाउन्डेसनले फेवाताल किनार बाराहीघाटमा आयोजना गरेको आठौं संस्करणको ‘आईएमई नेपाल लिटरेचर फेस्टिभल–२०१९’ मा उनीहरू दुवैलाई शनिबार पाठक तथा दर्शकमाझ उभ्यायो ।

फेस्टिभलमा सेसनको शीर्षक थियो–अध्ययनको भोक । मानन्धर र चौधरी दुवैले आफूहरूले पुनः अध्ययनलाई निरन्तरता दिनुको मुख्य कुरा जोड्दै पीएचडी गर्ने धोको रहेकोसम्म सुनाए । उनीहरूले पठन अभिरुचिबारे समाजमा सचेतना जगाउनुपर्ने सन्देश दिए ।

पानीपछि घमाइलो बनेको मौसमबीच सांसद चौधरीले १८ वर्षसम्म कमलरी बस्नुपरेको कारण पढाइलाई बीचैलाई छोड्नुपरेकोे जानकारी दिँदै नपढेकै कारण संसद् भवनमा अपमानीत महसुस गरेको हुँदा अध्ययनको भोक जागेको बताइन् ।

उनले पहिलो दिन कक्षाकोठामा छिर्दा साना साना विद्यार्थीले आफूलाई म्याडम पढाउन आउनुभो भनी झुक्किएकोसम्म सुनाइन् । उनले भनिन्, अचेल महिनामा ४÷५ दिन बाहेक क्याम्पस जान पाउँदिनँ, तैपनि पढाइलाई निरन्तरता दिएकी छु किनकि मेरो पीएचडी गर्ने धोको छ ।’

त्यस्तै, अभिनेत्री मानन्धरले कक्षा ८ देखि पुनः विद्यालय भर्ना भई केही वर्ष पढाइप्रति ध्यान दिँदा राम्रै ढंगले एसईई उत्तीर्ण गर्न सफल भएको सुनाइन् । नेपाली फिल्मीनगरीमा सफल अभिनेत्री भइरहँदा बीचमा अमेरिका हानिनुको कारण सुनाउँदै उनले पुनः नेपाल कसरी फर्किएँ भन्नेसम्म सुनाइन् ।

अमेरिकामा एकदिन गाडीमा हिड्ने क्रममा कर्ण शाक्यको ‘सोच’ पढेको र त्यसमा मातृभूमि छोडेको मानिसले विदेशमा रहँदा नेमलेस, रुटलेस र फेसलेस गुमाउँछ भन्ने शाब्दिक अर्थले छुँदा स्वदेश फर्किएको सुनाइन् । फिल्म क्षेत्रमा व्यस्त रहँदा टुटेको पढाइलाई निरन्तरता दिएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘शिक्षाले मानिसलाई ज्ञानी बनाउने रहेछ । शिक्षित बनाउने हैन ।’ प्रस्तोता सविना कार्कीले चौधरी र मानन्धरलाई अध्ययनको भोकमा विभिन्न कोणबाट जिज्ञासा राख्दै दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन् । सांसद चौधरीको ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक प्रकाशित छ ।

यस्तै, प्राज्ञ एवं गायिका हरिदेवी कोइराला, प्रकाश सपूत र झुमा लिम्बूले लोकगीत कि लोकप्रियता ? सेसनमा लोकगीतको विगत र यसमा आएको परिवर्तनबारे विचार राखे । उनीहरूले विगतमा सुनिने लोकगीत अचेल हेर्नको लागि बनाइने गरेको नारायण अमृतसँगको बहसमा टिप्पणी गरे ।

‘दृष्टिदान’ सेसनमा जोडिए–डा. सन्दुक रुइतसँग चर्चित टेलिभिजनकर्मी रवि लामिछाने । सो सेसनमा लामिछानेले डा. रुइतको सुरुवाती जीवनकाल ताप्लेजुङको ओलाङचुङगोलादेखि १ लाख २५ हजार मानिसलाई दृष्टिदानसम्मको जीवनको यात्रा खोतल्दै कार्यक्रम प्रेरणादायी बनाए ।

बालबालिकाको हातमा मोबाइल कि पुस्तक ? शीर्षकमा करुणा कुँवर, बीना थिङ तामाङ, वसन्त गौतम छलफलमा थिए । प्रस्तोता भवसागर घिमिरेसँग उनीहरूले पछिल्लो समय बढ्दै गएको प्रविधिका कारण बालबालिकाका मानसिकतामा पारेको प्रभावबारे बहस गरे ।

‘सपनाको सम्मान’ सेसनमा डा. रुपचन्द्र विश्वकर्मा, विमल गायक र सुभाष नेपालीसँग शिवहरि ज्ञवाली गफिए भने नारायण ढकालको पुस्तक ‘तमस’ माथि अन्तरक्रिया भयो । तमस पुस्तक विमोचनका अवसरमा खगेन्द्र संग्रौला र गनेस पौडेलसँग भूपेन्द्र खड्काले बहस गरे ।

‘बतासमा बारुदको गन्ध’ सेसनमा मनोरञ्जन व्यापारीले दिनेश काफ्लेसँगको बहसमा आफूले जीवनमा अनौठा घटनाबारे रोचक प्रसंग सुनाए ।

त्यस्तै, ‘राजनीतिको अपराधीकरण, अपराधको राजनीतीकरण’ सेसनमा देवेन्द्र सुवेदी, हरिबहादुर थापासँग पत्रकार जनकराज सापकोटाले बहस गरे ।

‘जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श’ सेसनमा मीरा राई, ननिता बज्राचार्यसँग शिवानीसिंह थारुले नेपालमा खेलकुदको अवस्था, यसका
समस्याबारे बोले ।

यस्तै, ‘नेपाल नेक्ससः राजनीतिमा भूराजनीति’ मा कांग्रेस नेता गगन थापा, पत्रकार सुधीर शर्मा र यादव देवकोटाले बहस गरे । सो अवसरमा शर्माको पुस्तक ‘नेपाल नेक्सस’ सार्वजनिक भयो । विभिन्न ४० सेसन रहने चारदिने फेस्टिबल सोमबार सकिनेछ । ‘कारागारमा किताबी संसार’ सेसनमा महेशविक्रम शाह, धर्मराज विश्वकर्मा र कुमारी लामाले संवाद गर्दै नेपालमा कारागारको अवस्था र त्यहाँका दुरावस्थाबारे चर्चा गरे ।

(Visited 107 times, 1 visits today)
Loading comments...