शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

जाडोको समयमा विशेष सतर्कता अपनाऔ

राजधानी समाचारदाता
1 month ago
15/12/2019

यसपालाको हिउँद सुरु भएसँगै जाडोले आफ्नो साम्राज्य विस्तार गर्न थालिसकेको छ । चिसोका कारण राजधानी काठमाडांैसहित देशभरका अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । दम, युरिक एसिड, उच्च रक्तचाप, मधुमेह, पिनास तथा छालाका रोगी चिसोका कारण निकै प्रताडित हुँदै जान थालेका छन् । सूर्य दक्षिणायन हुनुको कारण वायुमण्डलमा घट्दो तापक्रमसँगै श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण बढ्दै गएको छ । गर्मीका बेला डेंगुबाट सताइएका नेपाली अब सामान्य रुघाखोकीबाट सताइन थालेका छन् । ‘तरुनातन्नेरी बाघलाई, बूढाबूढी माघलाई’ भनेझैं एक महिनापछि आउँदै गरेको अत्यधिक चिसो माघको पूर्वसंकेत मंसिर महिनामै आभाष हुन थालेको छ । यसबेलामा बच्चाबच्ची र बूढाबूढी चिसोका कारण हुने रोगको सबैभन्दा बढी जोखिममा देखिएका छन् । स्वास्थ्यविद् वर्षायाममा भन्दा जाडोयाममा वायुमण्डल बढी प्रदूषित रहने र रोगको संक्रमण पनि बढी हुने कुरा स्वीकार गर्दछन् । वर्षायाममा आकाशबाट पर्ने पानीका कारण हावामा जम्मा भएका धूलोका कण तथा विषाक्त प्रदूषणयुक्त कण पखालिने हुनाले वायुमण्डल बढी स्वच्छ र स्वास्थ्यवद्र्धक रहने कुरा स्वीकार गर्छन् । वर्षामा पानी परिरहने हुनाले चिसो जमिनबाट धूलोका कणहरू कम उड्ने हुनाले पनि वायुमण्डल कम प्रदूषित रहने गर्छ ।

हिउँदमा जाडो पनि हुने र वायुमण्डल पनि बढी प्रदूषित हुने भएका कारण विभिन्न रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । यो वर्षको हिउँदमा हिमालयमा हिमपात सुरु भएसँगै पहाड तथा तराईमा हल्का वर्षाका कारण रुघाखोकी र ज्वरोको प्रकोप बढ्दै गएको छ । यसका कारण स्थानीय तथा जिल्ला अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । चिकित्सक यही अनुपातमा विरामीको संख्या बढ्दै गएमा हाल स्वास्थ्य क्षेत्रमा उपलब्ध सेवासुविधाले विरामीको चापलाई धान्न गाह्रो हुने देखिरहेका छन् । रुघाखोकी, श्वासप्रश्वास, पिनास, प्रेसर, दम र निमोनियाका रोगीको संख्या सुरुको अवस्थामै बढी देखा पर्न थालेको छ । यो बेलामा सामान्य रुघाखोकी देखिनु एउटा कुरा हो, कहिलेकाँही त इन्फ्लुएन्जाका विरामीसमेत बढ्न सक्ने सम्भावना उत्तिकै रहन्छ । स्क्रबटाइफसका बिरामीहरू देखापर्न थाल्नुले कतै यो महामारीका रूपमा बढ्नसक्ने त होइन भन्ने आशंका पनि जन्माएको छ । यसबारे बेलैमा सतर्कता अपनाउनु जरुरी देखिन्छ । जाडो महिना रोग प्रतिरोधक शक्ति कम हुनेहरूका लागि निकै कठिन हुने गर्दछन् । यो बेलामा फोहोरमैला, पानी वा खानाका कारण फैलने रोटाभाइरसले बालबालिका र बूढाबूढीमा झाडापखाला निम्त्याउने गर्दछ ।

जाडोका कारण रोग लागेपछि औषधोपचार गर्न लाग्नुभन्दा पहिले नै जाडो याममा लाग्ने रोगबाट बच्न ध्यान दिनु नै सबैभन्दा उत्तम उपाय हो । न्याना कपडाको प्रयोग, पोषिलो खानाको व्यवस्थापन, राम्ररी पकाइएका खानाको उपयोग तथा बासी र काँचो खानाबाट सतर्क रहनु नै उत्तम उपाय हुनसक्छन् । राम्ररी पाकेको, तातो र झोलिलो खानामा बढी जोड दिनुपर्छ । यो बेलामा शरीरमा हुने पानीको मात्रामा कमी वा डिहाइड्रेसन हुन नदिन बढी ख्याल पु-याउनुपर्छ । चिसोबाट बच्ने नाममा झ्यालढोका बन्द गरेर गुम्सिएर बस्नुहुँदैन । गिजर, हिटर, मकल र अगेनु बढी प्रयोग गर्न हुँदैन । तापका यी स्रोतले कोठामा भएको अक्सिजन सिध्याइदिने र अक्सिजनको अभावका कारण मानिसको मृत्यु समेत हुन सक्छ । त्यसैले, स्वास्थ्यलाई ख्याल गरेर यी सबै विषयमा ध्यान दिनुपर्छ । जाडोसँग खेलबाड गर्नुहुँदैन भने यसबाट बच्न विशेष सतर्कता अपनाउन जरुरी छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...