बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

मछिन्द्रको सुखद सुरुवात

राजधानी समाचारदाता
1 month ago
15/12/2019

काठमाडौं । सान मिगेल मछिन्द्र क्लबले राजधानीमा शनिबारदेखि सुरु भएको कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सुखद् सुरुवात गरेको छ । मछिन्द्रले ब्रिगेड ब्वाइजमाथि २–० को जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान हिलाम्य भएपछिे लिगको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मछिन्द्रको जितमा योगेश गुरुङ र दीपक राईले गोल गरे ।

सिनियर खेलाडीले भरिएको मछिन्द्रले खेलको सुरुवातदेखि नै बीबीसीलाई दबाबमा राखेको थियो । ३०औं मिनेटमा विशाल राईको फ्रिकिकमा योगेश गुरुङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिक क्रसबारमा लागेर फर्किए पनि पोस्टनजिक अनमार्क रहेका योगेशले हेडमार्फत गोल गर्न सफल भए । त्यसअघि १४औं मिनेटमा रञ्जित धिमालको फ्रिकिक पोस्टबाट थोरै बाहिरिँदा मछिन्द्र अग्रता लिनबाट चुकेको थियो । १९औं मिनेटमा रञ्जितको अर्काे फ्रिकिक पोलमा लागेको थियो । पहिलो हाफमा बीबीसीले मछिन्द्रको पोस्टमा उल्लेख्य आक्रमण बुन्न सकेन । २८औं मिनेटमा कप्तान अनिल गुरुङ बक्सभित्रको प्रहार डिफेन्डरले ब्लक गरिदिएका थिए । त्यो नै बीबीसीको आक्रमण थियो ।

४९औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । दीपक राईको बक्सभित्रको सशक्त प्रहार गोलमा परिणत हँुदा बीबीसीका गोलरक्षक विशाल सुनारले रोक्ने कुनै मौका नै पाएनन् । दोस्रो हाफको अन्त्यतिर बीबीसीले मछिन्द्रलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । ७४औं मिनेटमा बीबीसीका रोशन रानामगरको फ्रिकिकमा पृथ्वी चौधरीको प्रहार अकासिएको थियो । लगत्तै कप्तान अनिल गुरुङको प्रहार पोस्टबाट थोरै बाहिरिँदा बीबीसीले अग्रता घटाउने मौका खेर फाल्यो ।
८८औं मिनेटमा जय गुरुङको प्रहार गोलरक्षक विशाल श्रेष्ठले मुस्किलले पञ्च गर्दै क्लियर गरे । मछिन्द्रका विशाल राईम्यान अफ दि म्याच घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए । लिगमा आइतबार कुनै खेल हुने छैन । आइतबार लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लब र जापानी क्लबबीच मैत्रीपूर्ण खेल हुनेछ । सोमबार २ खेल हुनेछ । संकटा र च्यासल तथा आर्मी र फ्रेन्डस क्लबबीच खेल हुनेछ ।

कुल ९१ खेल हुने लिगमा १४ टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन् । नियमअनुसार लिगको पुछारमा रहने एक टोली घटुवा हुनेछ । हुनेछ । बढी अंक जोड्ने टोली लिग च्याम्पियन बन्नेछ । गत वर्ष रेलिगेसनबिनाको लिगमा मनाङ–मस्र्याङ्दी च्याम्पियन बनेको थियो । लिगको विजेताले ५० लाख, दोस्रोले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख प्राप्त नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट फरवार्ड मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

लिग जित्नेगरी आएका छौं

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पहिलो खेल भएका कारण केही गाह्रो भएको बताए । ‘पहिलो खेल पक्कै पनि गाह्रो हुन्छ । केही कमीकमजोरी देखेको छु । त्यसलाई सुधार्दै लैजाने छौं ।’ प्रशिक्षक कटुवालले भने, ‘खेलाडी अनुभवी छन् । विदेशी खेलाडी पनि अर्काे खेलबाट उपलब्ध हुनेछन् । उनीहरू आएपछि अझै केही सहज हुनेछ । हामी लिग जित्ने गरी आएको छौं ।’ बीबीसीका प्रशिक्षक खगेन्द्र पुनले लिगको बलियो मछिन्द्रसँगको खेलबाट सन्तुष्ट रहेको बताए । मछिन्द्रले २ अंक जोडेको छ ।
अघिल्लो सिजन रेलिगेसनबिनाको लिगमा पुछारका दुई टोलीको अंक घटाउने प्रावधान अनुरूप मछिन्द्रले २ अंक मात्रै पाएको हो । मछिन्द्रले अघिल्लो सिजन १३औं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो ।

(Visited 10 times, 1 visits today)
Loading comments...