बिहिवार ९ माघ, २०७६ (Thursday, 23rd January 2020)
९ माघ, २०७६ (23 January 2020)

कमला श्रेष्ठको सफलताको कथा : श्रीमानकाे साथ र भित्री चाहना

मधुजंग पाण्ड
1 month ago
15/12/2019

 

विगत चार दशकअघि ललितपुरको कुपण्डोलमा जम्मा १० हजार रुपैयाँबाट ब्युटिसियन व्यवसाय सुरु गरेकी वरिष्ठ ब्युटिसियन कमला श्रेष्ठ (भट्टराई)अहिले देशकै एक सफल महिला व्यवसायीको रूपमा परिचित छन् । त्यतिबेला संयुक्त राष्टसंघ(यूएन)को जागिरे आफ्नो श्रीमान् नरेन्द्रबहादुर श्रेष्ठसित थाइल्यान्डको बैंककमा पुगेर दुई वर्षे डिप्लोमा र एड्भान्स ब्युटिसियन तालिम लिएर करिब ५ वर्ष बैंकक बसार्इंको अनुभवपछि कमलाले २०३६ सालको भदौबाट ललितपुरको कुपण्डोलमा पहिलोपटक सयाम ब्युटिपार्लर एन्ड सैलुन खोलेकी हुन् ।

त्यसपछि उनले आफ्नो लगानी विस्तारको क्रममा कुपण्डोलमै ब्युटिपार्लरसम्बन्धी तालिम दिने संस्था ‘सयाम इन्स्टिच्युट अफ हेयर डिजाइन एन्ड ब्युटिकेयर स्थापना गरी सो इन्स्टिच्युटमा प्रशिक्षण दिने प्रिन्सिपल भएर काम गरिन् । उनले त्यसै बेलादेखि निरन्तर आफ्नो व्यवसायसँगै मुलुकभरका सबै जिल्लामा पुगेर ब्युटिपार्लर एवं शृंगारसम्बन्धी तालिम दिँदै आइरहेकी छन् । सुरुमा १० हजार रुपैयाँमा १५ सय रुपैयाँको भाडा तिर्ने एउटा फ्ल्याटबाट थालनी भएको यस व्यवसायमा अहिले उनको करोडौं रुपैयाँ लगानी भएको छ । अहिलेको कुपण्डोलस्थित सयाम इन्स्टिच्युट अफ हेयर डिजाइन एन्ड ब्युटिकेयर र सोही ठाउँको सयाम ब्युटी सोलुसन रहेको भवन, जग्गा र अन्य संरचना गरी अहिले उनको करिब ३० करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ । अझै उनले धमाधम लगानी विस्तार गरिरहेकी छन् ।

आफ्नो भित्रैदेखिको चाहना र विगत ४० वर्षदेखिको निरन्तरको प्रयासले नै अहिले वरिष्ठ ब्युटिसियन श्रेष्ठलाई यस क्षेत्रमा निकै सफलता मिलेको छ । जसका कारण उनलाई मुलुकको सौन्दर्यकला व्यवसायबाट कहिल्यै पछाडि फर्किनु परेन । सधंै सफलता नै सफलता मिलिरहेको छ । त्यसैले श्रेष्ठ मुलुकको सौन्दर्यकला क्षेत्रको धेरै विधामा पहिलो महिला भएर चिनिएकी छन् । त्यसैले, श्रेष्ठ ब्युटिपार्लरसम्बन्धी तालिम दिने इन्स्टिच्युट चलाउने पहिलो महिला , केटाहरूलाई पनि तालिम दिने र केटा मान्छेहरूको कपाल काट्ने पनि पहिलो, शृंगारसम्बन्धी टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने पहिलो, शृंगारसम्बन्धी तालिम सञ्चालनको कार्यक्रम लिएर मुलुकभरका सबै जिल्लामा पुग्ने पहिलो महिला भएकी थिइन् । यसैगरी, महिला सौन्दर्यसम्बन्धी विभिन्न कन्टेस्ट कार्यक्रमको निर्णायक हुने पहिलो, नेपालमा स्कुटी चलाउने पहिलो महिला व्यवसायी भएकी छन् । सोही कारण उनले आगामी गणतन्त्र दिनसको अवसरका राष्ट्रपति विद्या भण्डारीबाट प्रदान हुने विभूषणबाट सम्मानित हुँदै छन् ।
हाल सौन्दर्य कला व्यवसायी संघ–नेपालको संस्थापक केन्द्रीय अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य एवं महिला उद्यमी विकास समितिका सभापतिको जिम्मेवारी बहन गरिरहेकी श्रेष्ठ एसिया प्यासिफिकको लाइफ मेम्बर पनि हुन । मुलुकको शृंगार क्षेत्रमा निकै लोकप्रिय वरिष्ठ ब्युटिसियन एवं ब्युटिसियनविद् श्रेष्ठले अझैसम्म निरन्तर इन्स्टिच्युट, सैलुन, विभिन्न संघसंस्थामा आवद्ध भएर महिला उत्थानसम्बन्धी काम गर्दै आएकी छन् । निरन्तरको आफ्नो मेहेनतबाट सफलता हासिल गरेकी श्रेष्ठले आफ्नो सफलताको कथा यसरी सुनाइन् ।

थाइल्यान्डको ज्ञानबाट थालिएको व्यवसाय

मैले थाइल्यान्डको बैंककमा पुगेर दुई वर्षे डिप्लोमा र एड्भान्स ब्युटिसियन तालिम लिएर करिब ५ वर्ष बैंकक बसाईंको अनुभवपछि यस व्यवसाय सुरु गरेको हुँ । मेरो जन्म २०१४ सालमा सुनसरीको धरानमा भएको हो । बुबा स्वर्गीय डम्बरबहादुर भट्टराई र स्वर्गीय आमा चेतकुमारी भट्टराईकी कान्छी छोरी हुँ म । म सात जना दाजुहरूको एक्ली बहिनी हुँ । अहिले मेरा पाँचजना दाजुहरू बितिसकेका छन् । मैले सुनसरीको धरानस्थित बालिका माविबाट एसएलसी पास गरेको हुँ । त्यसपछि मैले धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी धनकुटाको धनकुटा डिग्री क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक तहको पढाइ सकेपछि श्रीमान् नरेन्द्रबहादुर श्रेष्ठसित थाइल्यान्डको बैंककमा पुगेर दुई वर्षे डिप्लोमा र एड्भान्स ब्युटिसियन तालिम लिएर करिब ५ वर्ष बैंकक बसार्इंको अनुभवपछि यो व्यवसाय सुरु
गरेको थिएँ ।

१० हजारबाट सुरु भएको व्यवसायमा ३० करोड लगानी

सुरुमा मैले १० हजार रुपैयाँमा १५ सय रुपैयाँको भाडा तिर्ने एउटा फ्ल्याटबाट यस व्यवसाय थालनी गरेको थिएँ । मैले २०३६ सालको भदौबाट ललितपुरको कुपण्डोलमा पहिलोपटक सयाम ब्युटिपार्लर एन्ड सैलुन खोलेकी हुँ । त्यसपछि मैले आफ्नो लगानी विस्तारको क्रममा कुपण्डोलमै ब्युटिपार्लरसम्बन्धी तालिम दिने संस्था ‘सयाम इन्स्टिच्युट अफ हेयर डिजाइन एन्ड ब्युटिकेयर स्थापना गरी सो इन्स्टिच्युटमा प्रशिक्षण दिने प्रिन्सिपल भएर काम गरिरहेकी छु । यस व्यवसायमा अहिले करोडौं रुपैयाँ लगानी भएको छ । अहिलेको कुपण्डोलस्थित सयाम इन्स्टिच्युट अफ हेयर डिजाइन एन्ड ब्युटिकेयर र अर्को सयाम ब्युटी सोलुसन रहेको भवन, जग्गा र अन्य संरचना गरी यहाँ करिब ३० करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ ।

अहिले यहाँ १० जना कर्मचारीले दैनिक काम गरिरहेका छन् । यस सयाम इन्स्टिच्युटबाट अहिलेसम्म करिब ६÷७ हजार जनाभन्दा बढीले तालिम लिएर आफ्नै व्यवसाय सुरु गरिरहेका छन् । अहिले हामी बस्दै आएको यस आफ्नै भवनमा आएर तालिम लिएका र मुलुकभरका विभिन्न स्थापमा पुगेर दिएको तालिमबाट यो व्यवसाय थाल्लेहरूको संख्या पनि धेरै भएको छ । सुरुमा मैले यो व्यवसाय सुरु गर्दा जम्मा ३÷४ वटा मात्र रहेको यस क्षेत्रमा अहिले करिब २ लाख व्यवसायी संलग्न छन् । त्यतिबेला अधिकांशको सोच महिलाहरू व्यवसाय गर्न सक्दैनन् भन्ने थियो । त्यो अवस्थामा पनि मैले यो व्यवसाय सुरु गर्दा निकै चुनौतीहरू आइपरेका थिएँ । म आफ्नै पौरखले चम्केकी महिला उद्यमी हुँ । त्यो बेला मैले यस व्यावसायिक यात्रा तय गर्दा यहाँका ठूला व्यावसायिक घरानामा पनि बाबुछोरा व्यवसाय सम्हाल्थे । छोरी–बुहारी घरधन्दामै हुन्थे । त्यो अवस्थाबाट अहिलेको यो अवस्थासम्म आउन मैले निकै चुनौती र सामनासँग पौठेजोरी खेल्नुपरेको थियो ।

त्यतिबेला नेपालमा ब्युटिपार्लर (सौन्दर्यकला) भन्नेबित्तिकै नराम्रो नजरले हेरिन्थ्यो । छोरी–बुहारीलाई पार्लर खोल्न दिइँदैनथ्यो । अहिले समय बदलिएको छ । समाजले पार्लर व्यवसायलाई हेर्ने नजर फेरिएको छ । पार्लर व्यवसायमा लाग्ने छोरी–बुहारीको संख्या बढ्दै छ । यो व्यवसायलाई अहिलेको अवस्थामा ल्याइपु¥याउने श्रेय मेरो श्रीमान्लाई नै जान्छ । त्यतिबेला मेरो श्रीमान् संयुक्त राष्ट्रसंघ(यूएन) को जागिरे थिए । श्रीमान् नरेन्द्रबहादुर श्रेष्ठसित थाइल्यान्डको बैंककमा पुगेर लिएको तालिमबाट थालिएको यो व्यवसायमा मलाई सधैं श्रीमान्को साथ र माया भइरहेको छ । कुनै पनि महिलाको सफलताको पछाडि उसको परिवारको ठूलो हात हुन्छ भन्ने मेरो बुझाइ हो ।

म घरको चुलोचौकोमै सीमित महिलालाई पनि व्यवसायी बनाउन सफल भएँ

अहिलेसम्म मैलै धेरै महिलालाई यस व्यवसायमा ल्याउन सफल भएको छु । महिला घरको चुलोचौकोमै सीमित रहनुपर्छ भन्ने मान्यता स्थापित भइरहेको त्यो समयमा मैले सुरुमा २÷३ जना महिला जम्मा पारेर यो व्यवसाय सञ्चालन गरेकी थिएँ । त्यतिबेला न बैंकले ऋण पत्याउँथ्यो ,न त महिला उद्यमशीलता प्रवद्र्धनका लागि कुनै सरकारी नीति नै थियो । त्यो बेला पनि बैंकले ऋणका लागि धितो खोज्थ्यो तर सम्पत्तिको सबै स्वामित्व पुरुषको नै हुन्थ्यो । त्यो बेलाको संघर्षको कथा अहिले सम्झिएर साध्य छैन ।

त्यतिबेला मैले थाइल्यान्डबाट नेपाल फर्किएर ब्युटिपार्लरलाई नै प्रयोगमा ल्याउनुपर्छ भन्ने आफ्नो इच्छाशक्तिलाई सदुपयोग गर्न ब्युटिपार्लर व्यवसाय थालेको थिएँ । त्यो समय काठमाडौंमा जम्मा तीनवटा मात्रै पार्लर थिए । मैले यो व्यवसाय सुरु गर्दाको अवस्था धेरै नै नाजुक र दयनीय थियो । त्यो बेलाको दुःख सम्झिँदा अहिले पनि जिउमा काँडा उम्रिन्छ । त्यसबेला न कुनै सैलुन, न कुनै शृंगारसम्बन्धी उत्पादन थिए । त्यो बेला मानिसले जानेका, बुझेका पनि थिएनन् । यस क्षेत्रमा कुनै आकर्षण नै थिएन । त्यो समय यो व्यवसाय पुरै अन्धकार थियो । त्यो बेला म कहाँ, कसरी सुुरुवात गर्ने भन्ने परिस्थितिबाट आएको हुँ । सैलुन खोलिसकेपछि दिनभरि कुर्नु पर्ने, बल्लबल्ल १५ दिनमा एउटा कटिङ आउने, महिना दिनमा बल्लबल्ल एउटा फेसियल आउने, थ्रेडिङ जेनतेन सातामा एउटा आउने गथ्र्यो । सुरुका केही महिना मलाई आफ्नो कोठा भाडा तिर्न पनि मुस्किल थियो । तैपनि मैले हिक्मत नहारिकन निरन्तरअघि बढिरहेकाले अहिलेको यो अवस्थामा आइपुगेकी हुँ ।

विस्तारै आफूकोमा आएका ग्राहकहरूबाट एक कान दुई कान गर्दै यो व्यवसायले गति लिएको हो । सुरुमा मैले यो व्यवसाय थालेको बेलामा राणा, शाह परिवारका उच्च खान्दानी धनाढ्य परिवारका सदस्य मात्र आउँथे । त्यो बेला दरबारियाहरूबीच कमला श्रेष्ठले थाइल्यान्डबाट सिकेर आएको छ, यो नयाँ विधा हो, हामीले पनि यसबाट नयाँ कुरा सिक्न पाउँछौ, केही गर्न पाउँछौ भन्ने भयो । त्यसका लागि उनीहरू पनि यस्तो व्यवसाय सुरु गर्न भारतसम्म जान थाले । यसरी मेरो कामलाई दरवारीयाहरूले रुचाइ दिएकाले नै अहिलेसम्म दैनिक उन्नति हुँदै गएको हो ।

त्यो बेला मेरो कामलाई मेरो माइती, घर कसैले पनि स्वीकार गरेका थिएनन् । स्नातक पढेकी कुल घरनाको छोरी यो के गरेको, किन यस्तो व्यवसाय सिकेर आयौं भनेर सासूहरूले समेत वास्ता गर्दैन थिए । त्यतिबेला मेरो सासूले यो काम थालेको दुई महिनासम्म मेरो हातको पानी नै खाइदिनु भएन । तैपनि मैले भित्रैबाट बलियो अठोट गरी एकदिन यही व्यवसायबाट म सम्मानित पहिचान बनाउँछु भन्ने सोचका साथ निरन्तर अघि बढिरहें । मैले जस्तो कठिन अवस्थामा पनि यो कामलाई रोक्दै रोकिन, निरन्तरता दिइराखें । मेरो लगनशीलताबाटै अहिले व्यवसाय निकै प्रतिष्ठित र सम्मानजनक भएको छ । अहिलेसम्म मलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।

नयाँ शैक्षिक सत्रबाट ९ र १० कक्षामा यो विषय पढाइ हुँदैछ

अहिले मैले नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट सरकारलाई पनि घचघच्याइ राखेको छु । सरकारले अहिले यसलाई उद्योग सरह भनेर सेवामुलक उद्योगको मान्यता दिएको अवस्था छ । यो व्यवसायमा हामीले तालिम दिन्छांै । जसले गर्दा यो शिक्षासँग पनि सम्बन्धित छ । अहिले विद्यालयस्तरको पाठ्यक्रममा पनि यो विषय समावेश भइसकेको अवस्था छ । आगामी नयाँ शैक्षिकसत्रबाट ९ र १० कक्षामा यो विषयको पढाइ हुँदै छ । आगामी वर्षदेखि प्लस टु मा पनि समावेश हुने पहल भइरहेको छ । यो व्यावसायिक सीपमुलक शिक्षा भएकाले मेरो यो प्रयासमा सरकारले साथ दिएको हो । ब्युटीको परिभाषा सामान्य छैन । सुन्दर भन्ने बित्तिकै त्यहाँ महिला, पुरुष, बच्चा, वृद्धवृद्धा सबैलाई ब्युटी, हेल्दी बन्ने इच्छा हुन्छ । सुन्दर बन्न केके गर्नुपर्छ भन्ने होइन कि स्वस्थ बन्न के गर्नुपर्छ भन्ने तिर लाग्नुपर्छ । स्वस्थ भएपछि सुन्दर त त्यतिकै देखिन्छ, यसरी यो व्यवसायलाई हेर्छौ र सेवा पनि त्यही तरिकाले दिन्छौं । सुन्दर बन्नका लागि हामीले धेरै सल्लाह दिन्छौं । आफ्नो अनुहार, केशलाई कुन म्याच हुन्छ भन्ने कुरा विशेषज्ञअनुसार प्रयोग गर्न सकियो भने स्वतः सुन्दर देखिन्छ ।

 टेलिभिजनले स्थापित ग-यो
मैले धेरै कठिनाइका बाबजुद पार्लर चलाइरहेकी थिएँ । नेपालमा पनि टेलिभिजन आयो । त्यसपछि नेपाल टेलिभिजनमा ‘घर परिवार’ नामक टेलिभिजन कार्यक्रम चलाउन थालेँ । जसमा आफूलाई सफा राख्नुका साथै सुन्दर देखाउन के गर्ने भन्ने विषयमा जानकारी एवं सुझाव दिन्थेँ । नेपाल टेलिभिजनसँगै च्यानल नेपाल, नेपाल वान, इमेज च्यानललगायत टेलिभिजनमा कार्यक्रम चलाएँ । १५ वर्षसम्म टेलिभिजनमा कार्यक्रम चलाएँ । यसले ब्युटिपार्लरबारे धेरैलाई जानकारी मिल्यो । टेलिभिजन कार्यक्रमले नै मलाई कमला श्रेष्ठका रूपमा स्थापित गरायो । युनिलिभर, भाटिकालगायत सौन्दर्य उत्पादक कम्पनीको ब्रान्ड एम्ब्यासेडर बनें ।

(Visited 89 times, 1 visits today)
Loading comments...