बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

ह्याचरी उद्योग संकटमा

राजधानी समाचारदाता
1 month ago
15/12/2019

 

चितवन । देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग संकटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी गराइएको छ ।

नेपाल ह्याचरी उद्योग संघको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै १० दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ । २९ मंसिरदेखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेसिनमा राखिएका अन्डासमेत नष्ट गर्ने, ५० साता ा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख छ ।

निर्णय कार्यान्वयन गराउन उत्पादन सुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा संघले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको सो अवसरमा जानकारी दिइएको थियो । संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य ५५ रुपैयाँका दरले ३३ करोड रुपैयाँ बढी नोक्सान हुने बताए ।

पोख्रेलले व्यवसायीले गएको फागुनयता प्रतिचल्ला २५ रुपैयाँ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी दिए । नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आवश्यक भए पनि हाल उत्पादन ४५ लाख छ । उनले ७२ सातासम्म अन्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए । यसबाट १ लाख हाराहारी प्यारेन्ट घट्ने उनको भनाइ छ ।

नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २ सय ८० ह्याचरी छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।
ह्याचरी उद्योग संघका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले उद्योग र उपभोक्ता मर्कामा परेको बताए । हाल कृषकबाट जिउँदो कुखुरा १ सय २० देखि १ सय ३० प्रतिकिलोमा उठे पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य २ सय ६० रुपैयाँको हाराहारीमा छ । भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेका हुन् । दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ रुपैयाँ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ पर्दछ । लामिछानेले लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय संकटमा परेको बताए ।

नेपालमा कुखुरापालन क्षेत्रमा १ खर्ब २० अर्ब लगानी रहेको भन्दै लामिछानेले लगानीको आधा हिस्सा बैंकको भएको बताए । सरकारले समयमै सम्बोधन गर्न नसके यो व्यवसाय धराशायी हुने उनको भनाइ छ । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल सरकारले विगतका वर्षमा विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नलिने गरेकामा आर्थिक वर्ष २०७६÷७७ देखि भन्सार लिने गरेका कारण दानाको मूल्य वृद्धि भएको बताए । उत्पादन लागत दिन प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेका कारण कुखुराजन्य क्षेत्रमा नकारात्मक प्रभाव परेको विष्टको भनाइ छ ।

उनका अनुसार कुखुराजन्य उत्पादनका सबै क्षेत्र पछिल्ला वर्षमा लागत मूल्य धान्न नसक्दा संकटमा परेका छन् । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा छ । पछिल्ला वर्षमा कुखुरापालनको विस्तार देशैभरि भएको छ । यसबाट झन्डै २ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको तथ्यांक सार्वजनिक भएको छ ।रासस

(Visited 69 times, 1 visits today)
Loading comments...