बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

जर्मनीमा भारती दम्पती नै जासुस

एजेन्सी
1 month ago
15/12/2019

बर्लिन । जर्मनीको एक अदालतले भारतीय दम्पतीले जासुसी गरेको ठहर गर्दै सजाय सुनाएको छ । उनीहरूले भारतीय गुप्तचर निकायका लागि आफूले जर्मनीमा काश्मीरी र सिख समूहहरूको जासुसी गरेको स्वीकार गरेका थिए ।

अदालतको अभिलेखमा मनमोहन एस र उनकी पत्नी कन्वाल जित केले जासुसी गरेबापत कम्तिमा सात हजार यूरो लिएको उल्लेख छ । अदालतले मनमोहन एसलाई पछि लागु हुनेगरी १८ महिनाको जेल सजाय र उनकी पत्नीलाई ठूलो जरिमाना तिर्न आदेश दिएको छ ।

भारत र पाकिस्तानबीच विवाद रहेको काश्मीरकै विषयमा दुई देशबीच पटक पटक युद्ध हुने गरेका छन् । भारतले सन् १९८० को दशकमा सिख विद्रोह दमन गरेको थियो । त्यसपछि पनि सिख समुदायले विद्रोह पुनः गर्न सक्ने भन्दै भारतले निगरानी गर्ने गरेको पाइन्छ ।

जर्मनीको फ्राङ्कफर्टस्थित अदालतका अनुसार ५१ वर्षीय मनमोहन एसलाई भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनलिसिस विङ (रअ) ले सन् २०१५ मा काममा नियुक्त गरेको र काश्मीरी समूहबारे जासुस गर्न लगाएको थियो । ‘अभियुक्तहरूले कोलोन र फ्राङ्कफर्टस्थित सिख गुरुद्वारा तथा सिख समुदायले आयोजना गरेका विरोधका कार्यक्रमहरूबारे विवरण दिएका थिए,’ अदालतले भनेको छ ।

जुलाई २०१७ देखि मनमोहन एसले निरन्तर एक भारतीय गुप्तचर अधिकारीसँग बैठक गरेका र उनलाई प्रतिमहिना २०० यूरो दिने गरिएको थियो । अदालतका अनुसार ५० वर्षीया कन्वल जित के पनि आफ्ना पतिसँगै ती बैठकमा सहभागी हुने गरिकी थिइन् ।

जेल सजायबाहेक ती भारतीय पुरुषलाई कुनै कल्याणकारी संस्थालाई १५ सय यूरो दान दिन आदेश दिइएको छ । अदालतको आदेशमा पतिलाई जासुसी गर्न सघाएकाले कन्वल जी केले १ सय ८० दिनको तलब बराबारको रकम जरिमाना तिर्नुपर्ने उल्लेख छ । उनीहरूले यो साताभित्र निर्णयविरुद्ध पुनरावेदन गर्न पाउनेछन् ।

(Visited 77 times, 1 visits today)
Loading comments...