आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

साहसी उद्धारक

रोशन श्रेष्ठ
1 week ago
11/01/2020


रोशन श्रेष्ठ

बझाङ बुंगल नगरपालिका–१ दारिमगाडस्थित कालंगा हाइड्रोपावरको निर्माणाधीन सुरुङभित्र १७ कात्तिक २०७६ को दिउँसो साढे ३ बजे चार जना मजदुर फसे । उनीहरूको उद्धारका लागि स्थानीय बासिन्दा, हाइड्रोपावरका कामदार, प्रहरीले सक्दो प्रयास गरे । तर, सकेनन् । घटनाको भोलिपल्ट १८ कात्तिकमा समिट एयरको हेलिकोप्टर चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा अवतरण भयो । सो हेलिकोप्टर सशस्त्र प्रहरी निरीक्षक भवराज कटवाल, नायब निरीक्षक (सई) वीरेन्द्र बम, हवलदार शिवहरि अधिकारी र सहायक हवलदार ललित खाम्चासहितको टोलीलाई लिएर घटनास्थलनजिकै अवतरण भयो ।

सशस्त्रको यो उद्धार टोली हेलिकोप्टरबाट अवतरण हुँदा घटनास्थल आसपासको अवस्था सामान्य थिएन । कसैले हाइड्रोपावरविरुद्ध नाराबाजी गरिरहेका थिए भने त्यहाँ फसेका कामदारका परिवार, आफन्त, गाउँले भावविह्वल अवस्थामा थिए । हेलिकोप्टर अवतरण भएको ठाउँदेखि दुर्घटनास्थलसम्म नेपाली सेना र प्रहरी तैनाथ गरिएको थियो । सशस्त्रको यो टोलीलाई स्कर्टिङ गरेर सुरुङमार्ग लगिएको थियो ।
सुरुङमार्ग मुखनजिक पुगेपछि पस्न तम्सिए हवलदार अधिकारी र सहायक हवलदार खाम्चा । बन्दोबस्तीका सामान लिएर सुरुङ पसेका उनीहरू केहीबेरमा आफैं डराए । निष्पट्ट अँध्यारो । अक्सिजन कमी । तैपनि उनीहरूले सिकेको सीप, संगठनले दिएको जिम्मेवारी सम्झे । फसेका कामदारका परिवार र आफन्तको बिलौना पनि सम्झे । त्यसपछि ज्यान बाजी लगाएर उनीहरू अघि बढे । जति अघि बढे त्यति नै अप्ठेरो र असहज वातावरण ।

हराएकाको उद्धारमा गएका उनीहरूमा आफैं बेपत्ता हुने हुन् कि भन्ने डर पनि पलायो । तर, हिम्मत हारेनन् । अघि बढ्दै जाँदा हवलदार अधिकारीले आफूलाई अलि अप्ठेरो महसुस गरे । तर, सहायक हवलदार खाम्चा विचलित भएनन् । उनैले ८ सय मिटरको दूरीमा दैलेख जिल्ला गुराँस गाउँपालिका–३ का ३२ वर्षीय महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका–६ का २८ वर्षीय महेन्द्र साउदको शव फेला पारे । र, शव घिसार्दै आफूभन्दा १५ मिनेटको दूरीमा रहेका अधिकारीको सहयोगमा ती शवलाई बाहिर निकाले । पछि फेरि पसे किनकि चार जना फसेको खबर उनीहरूलाई दिइएको थियो । तर, त्यस दिन उनीहरूले अर्काे एक जनालाई फेला पार्न सकेनन् ।
भोलिपल्ट पनि खाम्चा र अधिकारी दुबै जना हाइड्रोपावरको निर्माणाधीन सुरुङभित्र पसे । उनीहरूले धेरै प्रयास गरे तर सकेनन् । अन्तिममा दिउँसो साढे १ बजेतिर ९ सय २८ मिटरको दूरीमा बझाङ बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव फेला पारे । सुरुङभित्र अक्सिजन नभएका कारण उनीहरूको निसास्सिएर मृत्यु भएको थियो । सहायक हवलदार खाम्चा भन्छन्,

 

जसले सुरुङमा फसेका चार जनाको शव निकाले

‘अक्सिजन कमीले अप्ठेरो हुँदै गएपछि शेरसिंह बाँच्नका लागि दौडिए तर उनले सुरुङमुखको दिशा पत्ता लगाउन सकेनन् । अर्काे दिशातर्फ दौडिए । त्यसैले, उनको शव अन्य तीनभन्दा सय मिटर टाढा भेटियो ।’
सुरुङमार्गमा फसेका चार जनाको शव निकाल्न सफल भएपछि साहसी गोताखोरका रूपमा समेत आफूलाई उभ्याएका खाम्चासहितको उद्धार टोलीको सर्वत्र प्रशंसा भएको छ । सशस्त्रको उद्धार टोली विपद् व्यवस्थापनमा अब्बल छ भनेर उनीहरूले फेरि प्रमाणित गरेका छन् । व्यक्तिगत रूपमा खाम्चाले आफूलाई निडर, साहसी र अब्बल प्रमाणित गरेका छन् । विपद् व्यवस्थापनमा उनले आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् र संगठनको शिर ठाडो पार्न उनले थप मद्दत पु¥याएका छन् । कुरिनटारस्थित सशस्त्र प्रहरीबल विपद् व्यवस्थापन तालिम शिक्षालय एउटा यस्तो तालिम शिक्षालय हो, जसलाई मुलुकका जुनसुकै भागमा कुनै अप्रिय घटना भए उद्धारका लागि तत्कालै सम्झने गरिन्छ ।

अझै विशेष गरी पानीमा डुबेका व्यक्तिजन्य घटनामा । सो तालिम शिक्षालयमा यस्ता तालिमप्राप्त गोताखोर र उद्धारक छन् कि उनीहरूको प्रशंसा जति गरे पनि कमै हुन्छ । तिनै गोताखोरका कारण सो तालिम केन्द्र मात्र नभई सिंगो सशस्त्र प्रहरीबल जहिले पनि चर्चाको केन्द्रमा हुने गर्छ ।
तिनै गोताखोरका कारण विगतमा उद्धारका लागि बंगलादेशबाट गोताखोर ल्याइने काम पनि पनि अन्त्य भएको छ । आफ्नो ज्यानको बाजी मारेर उद्धारमा उनीहरू जहिल्यै पनि सक्रिय हुन्छन् । अपवादबाहेक उनीहरूले सफलता हात नपारेका घटना कमै छन् ।
सहायक हवलदार खाम्चा विपद् व्यस्थापन र उद्धार कार्यमा अविचलित रूपमा लागेको पनि १२ वर्ष पूरा भइसकेको छ । यस अवधिमा उनले विभिन्न दुर्घटनामा परेका ६५ जनाको शव निकालेका छन् भने ३२ जनाको जीवितै उद्धार गरेका छन् । शव निकाल्दाभन्दा जीवित निकाल्न सक्दा उनमा खुसी र आनन्दको सञ्चार हुँदो रहेछ । र त उनी भन्छन्, ‘जीवित निकाल्न सक्दा उनीहरूले नयाँ जीवन पाउँछन्, जीवन के हो भन्ने नजिकबाट बुझ्न सक्छन् ।’ उनको उद्धार कार्यको सुरुवात हुन्छ, १० पुस २०६४ बाट । त्यस दिन सुर्खेतको सुभाघाटस्थित भेरी नदीको झोलुंगे पुल भाँचिदा धेरै नै व्यक्ति खसे । कतिपयले पौडेर ज्यान जोगाए । १५ जना त बेपत्ता नै भए । सुर्खेतको लेकबेंसी नगरपालिका–९ डमरगाउँ घर भएका उनै खाम्चासहितको टोलीले तीन जनाको शव निकाल्न सफल भयो ।

उद्धार कार्यको सुरुवाती सुर्खेतबाट भए पनि त्यसपछिका लामो समय कास्की जिल्लामा भएका विपद्का घटनाका उद्धारमा उनी सक्रिय रहे । कतिपयलाई उनले जीवितै निकाल्न सफल भए, कतिपयलाई मृत अवस्थामा ।
२५ चैत २०७० मा कास्कीस्थित फेवातालमा हावाहुरी चली डुंगा पल्टँदा दुई जना चिनियाँ नागरिक तालमा खसे । उनीहरूलाई जीवित उद्धार गर्ने पनि यिनै खाम्चा हुन् । उनले नै २३ फागुन २०७१ मा हावाहुरी चलेर डुंगा पल्टँदा बगेका दुई जना अमेरिकी नागरिकको सकुशल उद्धार गरेका थिए । १९ चैत २०७१ मा फेवातालमा डुंगा पल्टेर बेपत्ता भएका पोल्यान्डका नागरिक, २७ साउन २०७१ मा सोही तालमा डुंगा पल्टेर बेपत्ता भएका अर्का एक व्यक्तिको शव उनले निकालेका थिए ।
यसैगरी, २५ चैत २०६९ मा बेगनास तालमा डुंगा पल्टिँदा केही मान्छे बेपत्ता भए । लगातार चार दिन खटेर खाम्चासहितको सशस्त्रको टोलीले पाँच जनाको शव निकालेको थियो । उनले डुंगा दुर्घटनाका अन्य धेरै शव निकालिसकेका छन् । ८ भदौ २०७१ मा फेवातालपारिको टिपिकल होटललाई पहिरोले पुर्दा तीन जना बेपत्ता भएका थिए । उनीहरूको शव निकाल्न पनि खाम्चाले आफ्नो ज्यान नै बाजीमा लगाएका थिए ।

 

सुरुङमार्गनजिक पुगेपछि पस्न तम्सिए अधिकारी र खाम्चा । उनीहरू केहीबेर डराए । निष्पट्ट अन्धकार । अक्सिजन कमी । तैपनि उनीहरूले सिकेको सीप र संगठनले दिएको जिम्मेवारी सम्झे । फसेका कामदारका परिवार र आफन्तको बिलौना पनि सम्झे । त्यसपछि ज्यान बाजी लगाएर अघि बढे । जति अघि बढे त्यति नै अप्ठेरो र असहज वातावरण

कास्कीमा यस्ता धेरै उद्धारका घटना छन् उनले सहभागिता जनाएका । १४ भदौ २०७२ मा कास्कीको तत्कालीन लुम्ले गाविसमा अविरल वर्षाका कारण धेरैको मृत्यु भयो । जसमध्ये २१ जनाको शव निकाल्न र पाँच जनालाई जीवितै उद्धार गर्न पनि खाम्चाको विशेष योगदान रहेको छ । कास्कीकै छोरेपाटनस्थित फोस्रे खोला, पटनेरी खोला, घ्याचोकस्थित खहरे खोलामा खसेका व्यक्तिको शव पनि उनले निकालेका थिए । कास्कीपछि भने उनी त्रिशूली नदी, नारायणी नदीमा भएका घटना, दुर्घटनाका उद्धारमा सक्रिय भए । त्रिशूली नदीमा भने धेरै जसो सवारी दुर्घटनाका घटना हुने गर्छन् । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उनी मुलुकका विभिन्न भागमा भएका घटनाको उद्धारमा
पुगेका छन् ।
१२ वैशाख २०७२ को महाभूकम्प, सेती नदीको प्रलय, राप्ती खोला, मकवानपुरको इन्द्रसरोवर, कर्णाली नदी, गजुरी क्षेत्रमा विभिन्न समयमा भएका दुर्घटनामा डुबेका व्यक्तिको उद्धारलगायतमा पनि उनको विशेष भूमिका छ । उद्धारका क्रममा सशस्त्र प्रहरी सहायक हवलदार खाम्चाले धेरै नै अनुभव बटुलेका छन् । कतिपय अनुभव भने जीवनको उत्तरार्धसम्म पनि सम्झिने खालका छन् । यी साहसिक उद्धारकलाई सशस्त्र प्रहरी बलले बंगलादेशमा गोताखोर तालिम गर्ने अवसर दिएको थियो । त्यही तालिम गरेपछि उनमा साहस बढेको हो ।

तालिमक्रममा उनीहरू १ सय ८० फिट गहिराइसम्म गएका थिए । सो तालिम गर्दा केहीको कानको जालीमा गम्भीर समस्यासमेत आएको थियो । उनीसँगै त्यहाँ तालिम गरेका सशस्त्रका केही जवान आर्थिक फाइदा देखेर पलायन भइसकेका छन् । तर, उनमा भने सशस्त्रमै बसेर देशको सेवा गर्ने ठूलो इच्छा रहेछ । ‘उद्धारमा जाँदा कहिले नसोचेको अप्ठेरो आइलाग्छ, कहिले ज्यान नै जोखिममा पर्छ, यस्तो बेलामा पाइलापाइलामा ध्यान दिनुपर्छ,’ यी साहसिक उद्धारक भन्छन्, ‘जब उद्धारमा सफलता मिल्छ, छुट्टै आनन्द आउँछ, अझै जटिलभन्दा जटिल काम गर्न सकौं भन्ने लाग्छ ।’ पानीमुनि अति गहिरो ठाउँमा शव देख्दा डर लाग्दैन भन्ने जिज्ञासामा खाम्चा भन्छन्, ‘पहिलापहिला त डर लाग्थ्यो, अब त बानी नै परिसक्यो, खासै डर लाग्दैन ।’
कुरिनटार तालिम शिक्षालयमा हुने गरेका विपद् व्यवस्थापन तालिममा उत्कृष्ट प्रशिक्षकको भूमिकानिर्वाह गर्दै आएका खाम्चा खेलकुदमा पनि सक्रिय छन् । उनले चौथो दक्षिण एसियाली ट्रिथलोन प्रतियोगिता २०१६ मा तेस्रो स्थान हासिल गरेका थिए । हिमालयन आउटडोर फेस्टिभल २०१६ मा दोस्रो स्थान हासिल गरेका उनी २०१७ मा प्रथम भएका थिए । यस्तै, २०१८ मा भएको कोच इन्टरनेसनल त्रि म्याराथुन प्रतियोगितामा उनले तेस्रो स्थान हासिल गरेका थिए ।

 

 

(Visited 2,875 times, 8 visits today)
Loading comments...