आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

छाउपडी अन्त्य गर्न समाज रूपान्तरणको अभियान जरुरी

राजधानी समाचारदाता
5 days ago
14/01/2020

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा गृह मन्त्रालयको निर्देशनमा छाउघर धमाधम भत्काइका छन् । पछिल्लो आँकडाअनुसार १९ जिल्लामा एक महिनामै ५ हजारको हाराहारी यस्ता घर नष्ट गरिएका छन् । महिनावारी भएका बखत महिलालाई राख्नका लागि बनाइएका यस्ता असुरक्षित, अव्यवस्थित तथा असुविधायुक्त घर हरेक चिसो हिउँदमा दर्जनांै महिलाका कालघर बन्ने गरेका छन् ।

यी भत्काउनुपथ्र्याे, भत्काइएको ठीक छ । तर, यी क्षेत्रका हरेक मानिसहरूका दिमागबाट छाउघर वास्तवमै भत्किएका छैनन् । भत्काइएका पुराना छाउघरहरूको सट्टा नयाँ छाउघरका जग कहाँ राख्ने भनी मनभित्र योजना बनिरहेको देखिन्छ । यो सांस्कृतिक मान्यतामा रहेको तर कुरीतिजन्य अभ्यास हो । यो अभ्यासको जरो पितृसत्तात्मक राज्यसत्ताको जरोसँगै पुरातन रूपमा जोडिएको छ । महिला भएकै र महिलामा हुने नियमित शारीरिक प्रक्रिया रजस्वलाकै कारण उनीहरूलाई केही दिन अछूतका रूपमा गरिने तिरस्कारपूर्ण सामाजिक व्यवहार हो यो । सांस्कृतिक विधि मान्यताकै एक अंगका रूपमा लिइँदै आएकाले पनि कर्णाली र सुदूर पश्चिममा यो निकै गहिरो गरी बसेको छ ।

कर्णाली तथा सुदूर पश्चिममा तन्त्रविद्याले जालो फिँजाएको छ । तान्त्रिक तथा धामीहरूको यहाँ निकै उच्च सम्मान छ । धामीहरू आफंैमा गाउँका अगुवा, जान्नेमान्ने, गुरु तथा जीवनदाताका रूपमा पुजित छन् । उनीहरूले धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक तथा विकास निर्माणका कार्य पनि सम्पादन गर्दै आएका छन् । धामी विद्या तथा तदनुसारको नीति विधि भनेको छुवाछूतमा आधारित परम्परागत विद्या हो । यसले आफैंमा महिलाहरूलाई दोस्रो दर्जामा राख्छ । रजस्वलाका बखत अछूतका रूपमा व्यवहार गर्छ ।
गाउँमा हुने शुभ÷अशुभ, सहकाल÷अनिकाल, जिउँदो÷मर्दो, हिउँ, पहिरो, असिना, वर्षा, आँधीहुरी तथा बाँच्ने र मर्नेसम्मको भविष्यवाणी उनीहरूकै चल्छ । त्यहाँको सामाजिक जीवन व्यवहार एक प्रकारले उनीहरूको मातहतमा हुन्छ । त्यसैले यो खाले सामाजिक मनोविज्ञानमा आधारित कुरीतिलाई उखेल्न केवल भौतिक रूपमा निर्माण गरिएका छाउगोठ भत्काउनु मात्र पर्याप्त देखिँदैन । बरु योसँगै जनचेतनाका कार्यक्रम र त्यो पनि सबैभन्दा पहिले धामीपुजारीलाई दिनु जरुरी छ । यसरी उनीहरूमा नै चेतना जगाएर जागरुकता ल्याउन सकियो भने ती धामीपुजारी नै समाज रूपान्तरणका भरपर्दा संवाहक
हुन सक्छन् ।

सरकार वा राज्य संयन्त्र भनेको बल वा शक्ति हो र प्राधिकार पनि । यसले आफ्ना नीतिनियम वा कानुन बलपूर्वक लाद्न त सक्छ । तर, ती कति दिगो र मान्य हुन्छन्, त्यसमा शंका रहने गर्छ । त्यसमा पनि कुरीति नै भए पनि संस्कारसँग जोडिन आइपुगेको यो छाउपडी निकै गहिरो गरी जरा गाडेर बसेको देखिन्छ ।
कर्णाली तथा सुदूरपश्चिम खसहरूको बसोबास रहेको क्षेत्र हो । रजस्वला बार्ने वा छाउपडी पनि संस्कारगत हिसाबले बढी खस समुदायसँग जोडिएर आएको छ । यो विभेद खस जातिमा जति देखिन्छ, त्योभन्दा कम वा नगन्य जनजाति र अरूमा देखिन्छ । हो, रजस्वलाका बखत महिला बढी सफासुग्घर रहनु जरुरी छ । फोहोर भएमा उनीहरूको शरीरमा किटाणुको संक्रमण हुन सक्ने, रोगले आक्रमण गर्न सक्नेबेला पनि यही नै हो । तर, आफन्तभन्दा पर घरबाहिर, बिनाआगो र हावा नै पस्न नसक्ने अक्सिजनरहित निर्जन स्थानमा उनीहरूलाई राखिनु अपराध नै हो । यो सामाजिक अपराधले मानिसको दिलदिमागमा घर बनाएकोे छ । यो घर मनोवैज्ञनिक तवरबाटै हटाउनु जरुरी छ । त्यसैले सरकारले भौतिक रूपमा बनाइएका छाउघर भत्काउनुसँगै सामाजिक रूपान्तरणका अभियान अघि बढाएर प्रत्येकका मनमनमा बनिबनाउ रहेका मनोवैज्ञानिक छाउघर भत्काउन हेक्का राख्नैपर्छ ।

(Visited 32 times, 1 visits today)
Loading comments...