आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

किन चलेन च्यासल ?

राजधानी समाचारदाता
5 days ago
14/01/2020

काठमाडौं । च्यासल युथ क्लबले कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा सोमबार नेपाल एपीएफ क्बलसँग गोलरहित बराबरी खेलेको छ । दशरथ रंगशालामा भएको खेलमा च्यासलले केही मुभलाई गोलमा परिणत गर्न नसक्दा एफीएफसँग अंक बाड्न बाध्य भएको हो । लिग इतिहासमा १ सय गोल पूरा गरेका सन्तोष साहुखलले केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

सन्तोषले जारी लिगमा अहिलेसम्म ५ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका छन् । तर, उनको क्लबले भने लक्ष्य अनुसारको जित आत्मसाथ गर्न सकेको छैन ।

लिग च्याम्पियनको सपना बुन्दै राष्ट्रिय टोलीका खेलाडीहरूलाई समावेश गरेको च्यासल अंक तालिकाको १०औं स्थानमा रहेको छ । ललितपुर क्लब थ्री स्टार भने ६ खेलबाट चौथो स्थानमा छ । स्टार खेलाडी सेवासुविधा हुँदासमेत क्लबले सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि क्बल व्यवस्थापन अहिले कमजोरी विश्लेषणमा लागेको छ । आखिर किन चलेन च्यासल ? च्यासलले अघिल्लो लिगमा पनि राम्रा खेलाडी समावेश गरेको थियो । यसपटक उसले अझ उत्कृष्ट पदर्शन गर्ने योजनाका साथ मैदानमा उत्रिएको हो । तर, मैदानमा सोचेजस्तो च्यासलका खेलाडी चल्न सकेनन् ।

क्लब निर्माणमा व्यवस्थापनले कुनै कन्चुस्याइँ गरेको देखिँदैन । स्थानीय समुदायको पनि उसलाई समर्थन छ । तर, रिजल्ट निस्केको छैन । सोमबार एपीएफसँग पनि रोकिएपछि च्यासल थप दबाबमा परेको हो । एपीएफसँग जितेको भए च्यासल अंक तालिकाको छैटौं स्थानमा उक्लने थियो ।

अहिलेसम्म उसले खेलेको ६ खेलमा १ मा जित, ३ मा बराबरी र २ खेलमा हार बेहोरेको छ । च्यासल लिग अंक तालिकामा ६ अंकका साथ १०औं स्थानमा छ । एपीएफ ५ अंकका साथ

११औं स्थानमा रहेको छ । उसले खेलेको ६ खेलमध्ये १ मा जित, २ मा बराबरी र ३ खेलमा हार भोगेको छ ।

सोमबार नै भएको अर्को खेलमा भने एनआरटीले नेपाल पुलिस क्लबलाई १–० ले हरायो । एनआरटीका लागि दर्शन गुरुङले निर्णायक गोल गरेका थिए । एनआरटीले ८ अंकका साथ छौटौं स्थानमा छ ।

उसले ३ मा जित, १ मा बराबरी र २ मा हार बेहोरेको छ । अघिल्लो लिगको अंक तालिकका पुछारमा रहेका कारण उसले प्राप्त गरेका अंकबाट २ अंक भने घटाइएको छ । पुलिस आठ अंकका साथ सातौं स्थानमा छ । पुलिसले २ जित, २ हार र २ खेलमा बराबरी खेलेको छ । अंक तालिकाको शीर्षस्थानमा १३ अंकका साथ मच्छिन्द्र क्लब रहेको छ ।

(Visited 14 times, 1 visits today)
Loading comments...