शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

साग पदक विजेता बक्सर सम्मानित

राजधानी समाचारदाता
2 weeks ago
14/01/2020

काठमाडौं। एक्स बक्सर ग्रुप मकाउले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । नेपाल बक्सिङ संघले आयोजना गरेको कार्यक्रममा पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उपमहासचिव पीताम्बर तिम्सिना र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नगद र प्रशंसापत्र प्रदान गरी सम्मान गरे । सागमा बक्सिङले ३ स्वर्ण, ६ रजत र उत्तिनै कांस्य जितेको थियो ।

स्वर्ण विजेता मिनु गुरुङ, भूपेन्द्र थापा र सनिल शाहीले समान २०–२० हजार नगद पुरस्कार पाए । रजत जितेका ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दवाडीले जनही १५ हजार नगद पुरस्कार हात पारे । कांस्यधारी सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापालाई जनही १० हजार नगद पुरस्कार प्रदान गरियो ।

पूर्वबक्सर सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका अध्यक्ष मानबहादुर भण्डारीले मकाउमा रहेका पूर्वबक्सर मानबहादुर श्रेष्ठमार्फत पुरस्कारका लागि पहल गरेका थिए । श्रेष्ठले नै मकाउमै रहेका अन्य पूर्व बक्सरलगायतसँग पुरस्कार रकम संकलन गर्न समन्वयकारी भूमिका निर्वाह गरेको बताइएको छ ।

श्रेष्ठसहित सहयोग गर्नेमा सुवास थापा मगर, निमबहादुर रेउले, टीकाराम भण्डारी, प्रभुदास थापा मगर, तेजबहादुर चन्द, उद्धव कुँवर, श्याम गिरी, चित्रबहादुर गुरुङ, राजन डंगोल, पदम पन्त, घनश्याम ओली, विकास परियार, महेश रिजाल, मानबहादुर भण्डारी, अजित गुरुङ र विष्णु श्रेष्ठ रहेका छन् । अमेरिकामा बस्दै आएका ध्रुवलाल श्रेष्ठ र विजय डंगोलले पुरस्कार रकममा सहयोग गरेका थिए । एक्स बक्सर ग्रुप मकाउले विगत १७ वर्षदेखि खेलाडीलाई सम्मान, खेलाडीको उपचारलगायतका कार्यमा सहयोग गर्दै आइरहेको सिन्धुपाल्चोक जिल्ला बक्सिङ संघका अध्यक्ष भण्डारीले जानकारी गराए ।

सोही अवसरमा नेपाल बक्सिङ संघले पनि सागमा पदकविहीन खेलाडी दीपक श्रेष्ठ, प्रशिक्षक, निर्णायक र व्यवस्थापकलाई सम्मान गरेको थियो । दीपक श्रेष्ठ १० हजार तथा प्रशिक्षकहरू प्रकाश थापा मगर, एलिसेर राखिमुभ, प्रवीण तुलाधर, दम्बर दत्त भट्ट, किशोर लिम्बु, दीपक महर्जन र सुरेश मल्ललाई जनही ५ हजार नगदसहित प्रशंसापत्रबाट सम्मान गरियो । निर्णायक पुस्करराज पन्त, रामचन्द्र थापा मगर, धनकुमार मैनाली र ताराराम श्रेष्ठ तथा व्यवस्थापक प्रेम पौजु र प्रमिला राईलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरियो ।

पूर्व खेलाडीद्वय सुरेश आले मगर र मथुरादास नेवा पनि नगदसहित सम्मानित भए । सागका दौरान सहयोग गरेका करातेका राजेन्द्र कपाली र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी रत्नकाजी मालीलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

 

(Visited 259 times, 1 visits today)
Loading comments...