आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

चुलिँदै विद्यार्थी संगठन विवाद

5 days ago
14/01/2020

काठमाडौं । विद्यार्थी संगठनमा आन्तरिक विवाद चुलिरहेकै बेला त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मिति तोकेपछि नयाँ तरंग देखिएको छ ।

सत्ताढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) एकताको लामो समयपछि विवादबीच केन्द्रीय कमिटी घोषणा भएको छ । अहिले केन्द्रीय कमिटी गठनलाई लिएर अनेरास्ववियुभित्र विवादसमेत सिर्जना भएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेवि संघ)को सांगठनिक अवस्था ‘भद्रगोल’ देखिएको छ । नेवि संघ कमिटीलाई लिएर माउ पार्टी कांग्रेसमा तीव्र विवाद भइरहेको छ । केन्द्रीय कमिटी लामो समयदेखि भद्रगोल अवस्थामा छ भने नेतृत्व विषयमा पार्टीभित्रै विवाद जारी छ ।

त्यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालनिकट राष्ट्रिय विद्यार्थी संघ (रावि संघ)मा पनि तीव्र विवाद भइरहको छ । ६ पार्टी मिलेर राजपा घोषणा भए पनि रावि संघको सांगठनिक एकीकरण अझै भएको छैन ।

केन्द्र, प्रदेश, जिल्लादेखि इकाई कमिटी अवस्था लथालिङ रहेको छ । गत सातामात्रै इकाइ कमिटी नेतृत्वलाई लिएर बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयभित्रै विद्यार्थीले टायर बालेर प्रदर्शन गरे । राविसंघको अवस्था पनि भद्रगोल देखिन्छ ।

यसैगरी, समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन (सवि युनियन)को सांगठनिक अवस्था पनि उस्तै छ । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरण भएर सवि युनियन घोषणा भए पनि प्रदेश, जिल्ला तथा इकाई कमिटी एकिकरण अझै टुंगो लाग्न सकेको छैन । सवि युनियनमा समेत नेतृत्वलाई लिएर विवाद छ ।

यसअघि, विद्यार्थी संगठनले माग गरेपछि स्ववियु निर्वाचन घोषणा हुन्थ्यो । तर, अहिले विद्यार्थी संगठनले माग नगर्दै एकाएक त्रिवि परिषद्को गत बुधबार बसेको बैठकले आगामी १४ फागुनमा स्ववियु निर्वाचन घोषणा गरेको हो ।

विद्यार्थी संगठनभित्र विवाद भए पनि स्वावियु निर्वाचनमा सहभागी हुने उनीहरूले बताएका छन् । निर्वाचनलाई प्रतिष्ठाको विषय बनाउँदै ‘जसरी पनि विजयी हुने गरी’ आन्तरिक तयारीमा विद्यार्थी संगठन जुटेका छन् ।

के भन्छन् विद्यार्थी नेता ?

अनेरास्ववियु संयोजक एन महरले त्रिविले निर्वाचन मिति घोषणा गरेकोमा स्वागत गर्दै त्यसको तयारीमा जुटेको बताए । उत्साहसाथ निर्वाचनमा सहभागी हुने बताउँदै उनले मातहतका कमिटीलाई तयारीमा जुट्न निर्देशनसमेत दिएका छन् ।

अनेरास्ववियुको सम्पन्न केन्द्रीय कमिटी बैठकमा समेत स्ववियु निर्वाचनबारे विशेष छलफल गर्दै मातहतका इकाइ कमिटीलाई निर्वाचनमा जुट्न निर्देशन दिएको छ ।

नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले निर्वाचनलाई उत्सवका रूपमा लिएर सहभागी हुने बताए । अहिले नेविसंघको संगठनलाई पूर्णता दि“दै स्ववियु निर्वाचनमा सहभागी हुने तयारी भइरहेको उनले जानकारी दिए ।

‘निर्वाचनबाट भाग्ने कुरै हु“दैन, उत्सवका रूपमा मनाउँदै निर्वाचनमा सहभागी हुन्छौं,’ भट्टले भने, ‘हाम्रो संगठनलाई पूर्णता दि“दै निर्वाचनमा सहभागी हुने गरी तयारी गरिरहेका छौं ।’

रावि संघ महासचिव रञ्जित निष्पक्षले स्ववियु निर्वाचनमा सहभागी हुने प्रस्ट पारे । रावि संघले स्ववियु निर्वाचन ‘पूर्ण समानुपातिक’ प्रणालीअनुसार हुनुपर्ने माग उठाउँदै आएको छ । त्रिविले भने ‘मिश्रित प्रणाली’अनुसार निर्वाचन गराउने तयारी गरेको छ । रावि संघले उठाउँदै गरेको मुद्दालाई लिएर निर्वाचनमा सहभागी हुने निष्पक्ष बताउ“छन् ।

सवि युनियन संयोजक रुपनारायण श्रेष्ठले स्ववियु निर्वाचनमा सहभागी हुने बताए । विश्वविद्यालयले देशभरका क्याम्पसमा एकैदिन निर्वाचन गर्नुपर्ने माग उनको छ । विगतमा कही निर्वाचन गर्ने र कही“ नगर्ने काम भएको बताउँदै उनले एकैदिन सबै क्याम्पसमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

‘हामी निर्वाचनमा जसरी पनि सहभागी हुनेछौं,’ श्रेष्ठले भने, ‘विश्वविद्यालयले देशभरका क्याम्पसमा एकै दिन निर्वाचन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

पार्टी एकीकरणपछि अहिले संगठन निर्माणक्रममै रहेको बताउँदै उनले प्रदेश, जिल्ला तथा इकाइ कमिटीलाई छिट्टै पूर्णता दिने तयारी भइरहेको जानकारी दिए ।

 

यस्तो छ त्रिवि तयारी

त्रिवि कार्यकारी परिषद्को गत बुधबारको बैठकले आगामी १४ फागुनमा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो । त्रिविका आंगिक र सम्बन्धन प्राप्त करिब एकहजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।

त्रिवि विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले परिषद्ले महाशाखालाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएको बताए । विद्यार्थी कल्याण महाशाखाले सोमबार पत्र लेख्दै निर्वाचन तयारी गर्न क्याम्पसलाई निर्देशन दिने उनले जानकारी दिए ।

एक दशकदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । महाशाखा प्रमुख थापाले सबै विद्यार्थी संगठनसँग छलफल गरेर निर्वाचन तालिका सार्वजनिक गरिने जनाए ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन । विद्यार्थी संगठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो ।

२०७३ मा करिब २ सय ५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला उपत्यकाभित्रका आरआर, शिक्षा, सानोठिमी, भक्तपुर बहुमुखी, पिपल्स, जनप्रशासन, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, महाराजगन्ज शिक्षण अस्पताललगायतका क्याम्पसमा भने निर्वाचन भएको थियो ।

२०७३ भएको स्ववियु निर्वाचनको १४ फागुन २०७५ मै कार्यकाल सकिए पनि त्रिविले एक वर्ष समयावधि थप गरेको थियो । त्यसअघि त्रिविले तीनपटक स्ववियु निर्वाचन घोषणा गरे पनि हुन सकेको थिएन । त्रिवि विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो ।

सुरुमा नेपाल विद्यार्थी संघले उमेर हदबन्दीको विरोध गरेको थियो । पछि एक कार्यकाल उमेर हदबन्दी नलगाउने र मिश्रित निर्वाचन प्रणालीमा जानेमा सबै संगठन सहमत भए ।

२०६९ सालमा स्ववियु निर्वाचनको हुन लाग्दा अन्तिम समयमा आएर स्थगित भएको थियो । अहिले अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणाली अबलम्बन गर्ने व्यवस्था गरिएको छ ।

(Visited 192 times, 2 visits today)
Loading comments...