आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

अन्तर्राष्ट्रिय उडानमा स्वदेशी वायुसेवाको बजार हिस्सा बढ्यो

मधुजंग पाण्डे
5 days ago
14/01/2020

काठमाडौं। विगतका वर्षहरूको तुलनामा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाई संसारभरका विभिन्न देशमा उडान भर्ने स्वदेशी वायुसेवा कम्पनीको बजार हिस्सा बढेको छ । सन् २०१८ को तुलनामा सन् २०१९ मा स्वदेशी वायुसेवा कम्पनीको बजार हिस्सा यात्रु संख्याको आधारमा करिब ६ प्रतिशतले बढेको छ ।
सन् २०१८ को कुल हवाई यात्रुको संख्यामा नेपाली वायुसेवा कम्पनीको बजार हिस्सा १६.५९ प्रतिशत थियो । यो हिस्सा बढेर अहिले कुल २२.३८ प्रतिशत पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयको तथ्यांकअनुसार समग्रमा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या घटे पनि नेपाल वायुसेवा निगम र बुद्ध एयरलाइन्सको यात्रु संख्या बढेको र हिमालय एयरलाइन्सका यात्रु भने केही घटेका छन् । विमानस्थल कार्यालयले जानकारी दिएअनुसार सन् २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या ४१ लाख ३८ हजार ५ सय ६३ पुगेको छ । जुन, सन् २०१८ को तुलनामा २ लाख ४ हजार भन्दा कम हो । सन् २०१८ मा त्रिभुवन विमानस्थलबाट बाहिरिने र भित्रिने हवाई यात्रुको संख्या ४३ लाख ४२ हजार ९ सय ९९ सय थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यस विमानस्थलको धावनमार्गको पिच परिर्वतन एवं मर्मतको समयमा भएको उडान कटौती, भारतीय जेट एयरवेजको नियमित काठमाडांै उडान बन्द र मलेसियाको श्रम रोजगारीमा देखिएको समस्याका कारण अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या केही घट्न पुगेको बताए । उनले समग्रमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि नेपाली वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र बुद्ध एयरको भने हवाई यात्रु बढेको बताए ।
निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको वनारस र कोलकातामा अन्तर्राष्ट्रिय उडान भरिरहेको छ । यसैगरी, अर्को स्वदेशी वायुसेवा कम्पनी हिमालय एयरको भने यात्रु घट्नुको मुख्य कारण लामो समय मलेसियाको रोजगारीमा देखिएको समस्या नै रहेको विमानस्थल कार्यालयले औंल्याएको छ । करिब दुई वर्ष मलेसियाको रोजगारीमा समस्या आएपछि हिमालय एयरलाइन्सले काठमाडांै–मलेसियाको उडान नै बन्द गरेको छ । सन् २०१९ मा भीभीआइपी र नियमितबाहेकका उडानसहित ३० वटा भन्दा बढी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरेको विमानस्थल कार्यालयले जानकारी गराएको छ ।

विमानस्थल कार्यालयका अनुसार एकवर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ३२ हजार ४ सय ३९ वटा उडान तथा अवतरण भएका छन् । यो संख्या पनि सन् २०१८ को तुलनामा केही कम हो । सो अवधिमा कुल ३३ हजार ९ सय ३१ वटा उडान तथा अवतरण भएको थियो । यसैगरी, सन् २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै संसारभरका विभिन्न देशतर्फ जाने हवाई यात्रुको संख्या २२ लाख ४५ हजार १ सय ३७ थियो भने नेपाल प्रवेश गर्ने यात्रुको संख्या १८ लाख ९३ हजार ४ सय २६ रहेको छ । सन् २०१८ मा भने विमानस्थल हुँदै बाहिरिने यात्रुको संख्या २१ लाख ६८ हजार ६ सय १५ र भित्रिनेको संख्या २१ लाख ७४ हजार ३ सय ८४ थियो ।

सो अवधिमा त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलाई आधार बनाएर अन्तर्राष्ट्रिय उडान भर्ने स्वदेशी तथा विदेशी एयरलाइन्समध्ये सबैभन्दा बढी यात्रु बोक्ने वायुसेवा कम्पनीमा नेपाल वायुसेवा निगम परेको छ । सन् २०१६ मा नम्बर एकमा परेको मुलुकको राष्ट्रिय ध्वजाबहाक निगम २०१७ मा भने तेस्रो नम्बरमा परेको थियो । सन् २०१८ मा पुनः निगम बढी यात्रु बोक्ने सूचीमै परेको थियो । सन् २०१८ मा कुल ४ लाख ९१ हजार ९ सय ७९ यात्रु बोकेको निगमले सन् २०१९ मा कुल ७ लाख ३५ हजार ८ सय ३५ जना हवाई यात्रु बोकेको छ । सन् २०१९ मा निगमले बोकेको हवाई यात्रु संख्या कुल हवाई यात्रुको १७.८ प्रतिशत रहेको छ । निगमले हाल २ वटा वाइडबडी र २ न्यारोबडीमार्फत काठमाडांैबाट विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । २०१९ मा ३ वटा स्वदेशी एयरलाइन्स कम्पनीले मात्रै ९ लाख २६ हजार ४ सय ३० यात्रुलाई हवाई सेवा दिएका छन् ।
यो संख्या सन् २०१८ मा करिब ७ लाख २० हजार थियो । यसैगरी, सो अवधिमा वर्षभर सबैभन्दा धेरै यात्रु बोक्ने दोस्रो वायुसेवा कम्पनीको सूचीमा कतार एयरवेज परेको छ । कतार एयरवेजले २ हजार ७ सय ३२ वटा उडान तथा अवतरण गर्दै ४ लाख ६२ हजार ३९ यात्रुलाई सेवा दिएको छ । यसैगरी, तेस्रो बढी हवाई यात्रु बोक्नेमा फ्लाई दुबई रहेको छ । फ्लाई दुबईले १ हजार ९ सय १० उडान तथा अवतरणमार्फत कुल २ लाख ७४ हजार ६ सय ८८ जना यात्रुलाई हवाई सेवा दिएको थियो । यसैगरी, चौथोमा एयर इन्डियाले २ लाख ५५ हजार ५८ र पाँचौंमा रहेको एयर अरेबियाले २ लाख २८ हजार ९ सय २९ जना हवार्ई यात्रुलाई सेवा दिएको थियो ।

(Visited 33 times, 1 visits today)
Loading comments...