आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

सिटिजन्सले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने

राजधानी समाचारदाता
5 days ago
14/01/2020

काठमाडौं । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति (एक्विजिसन)सम्बन्धी विनियमावली २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता गरेको छ ।
बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगी बैंकका तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
दुवै बैंकले आ–आफ्नो विशेष वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ । दुवै बैंकले गत २२ असारमा प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका छन् ।

सिटिजन्स बैंकले सहयोगी बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात् बैंकको कुल शाखा ९९ हुनेछ । सहमतिअनुसार सहयोगी बैंकका सेयरधनीले १ सय कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउनेछन् । हाल सिटिजन्स बैंकको चुक्तापुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्तापुँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी बैंकले १४ शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखा सञ्चालनमा रहेकोमा यस बैंकको प्राप्तिसँगै २३ वटा शाखा सञ्चालनमा
आउनेछन् ।

योर पार्टनर फर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाइबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसका साथै शाखासँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइजस्ता कार्य छिटोछरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको छ । ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

(Visited 13 times, 1 visits today)
Loading comments...