आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

दुई छोरालाई विष खुवाएर हत्या गर्ने आमालाई जन्मकैद

भक्तबहादुर शाही
5 days ago
14/01/2020

दैलेख । आफ्ना छोराछोरी माया नगर्ने को आमा होला र यो पुथ्वीमा । सबै आमाले आफ्ना सन्तानको उत्तिकै माया गरेकै हुन्छन् । चाहे चराचुरङ्घी होस वा चौपाया, जीव, जन्तु । उनीहरु सन्तानप्रति उतिकै जिम्मेवारी उत्तरदायी हुन्छन् । तर दैलेखमा एउटी आमाले भने त्यसो गरिनन् । घरेलु झगडामा आफ्नै कोखबाट जन्मिएका दुई सन्तानलाई विष खुवाई हत्या गर्ने महावु गाउँपालिका–१ खरीगैराकी २४ वर्षीया कल्पना नेपालीलाई जिल्ला अदालत दैलेखले जन्मकैद फैसला गरेको छ । सोमबार जिल्ला न्याधिश दण्डपाणी लामिछानेको ईजलासले सो फैसला सुनाएको हो । दुई जना छोरालाई विष खुवाई हत्या गरेको भन्दै जन्मकैदको फैसला गरेको छ ।

२०७५ कार्तिक १० गते दिउँसो घरमै आमा कल्पनाले खाजा विष मिसाएर खुवाउँदा उनका ७ बर्षीय छोरा आयुष नेपाली र ३ बर्षीय छोरा अमित नेपालीको मृत्यु भएको थियो । विष लागेको थाहा पाएपछि स्थानीयबासीले अस्पताल लैजाँदै गर्दा आयुषको बाटोमा र अमितको २०७५ कार्तिक १५ मा कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो । । जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्तिक १६ गते दिएको जाहेरीमा आफन्तले आमाको नाममा जाहेरी दिएका दर्ता गराएका थिए ।

दुईवटैको शव परिक्षण प्रतिवेदनबाट विष खुवाएर नाबालकको मृत्यु भएको उल्लेख गरिएको छ । कार्तिक २० मा आरोपित आमा कल्पनालाई हिरासतमा लिई विष खुवाई कर्तव्य ज्यान लिएको मुद्दा चलाएको थियो । १० मंसिरमा प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालतमा दर्ता गराएपछि आरोपितलाई पुर्पक्षका लागि दैलेख जिल्ला अदालतले जिल्ला कारागार थुनामा पठाएको थियो ।

२०७५ भदौ १ देखि लागु भएको मुलुकी फौजदारी कसुर सजाय ऐन २०७४ को दफा १७७ बमोजिम ज्यान मारेको ठहरेको र सोही ऐनको दफा ४१ बमोजिम खाद्यबस्तुमा विष हाली मारेको कारण खुलेकोले जन्मकैद गरिएको दैलेख जिल्ला अदालतका सुचना अधिकारी विनोद आचार्यले जानकारी दिए । जन्मकैदको अवधि २५ कैद हुने ऐनमा उल्लेख गरिएको छ ।

घरेलु हिंसामा ५ हजार जरिवान ५ हजार क्षतिपुर्ति

त्यसैगरि घरेलु हिंसा गरेको कसुरमा गुराँस गाउँपालिका ४ तालपोखरीका ३५ बर्षीय कुलबहादुर बुढालाई दैलेख जिल्ला अदालतले पाँच हजार जरिवाना र पाँच हजार पीडितलाई क्षतिपुर्ति दिनुपर्ने फैसला गरेको छ । जिल्ला न्यायधिश दण्डपाणि लामिछानेको पुस २८ मा गरेको एकल ईजलासबाट सो फैसला गरिएको दैलेख जिल्ला अदालतका सुचना अधिकारी विनोद आर्चाले जानकारी दिए ।

२०७५ असार ५ मा जिल्ला अदालत सम्बन्ध विच्छेदको मद्दा दिएको विषयलाई लिएर कुलबहादुर बुढाले ०७५ भदौ १८ मा माईतमा गई कुटपिट गरेको ३ दिनपछि बुढाकी पत्नी ३४ बर्षीया कौशिला बुढाले जिल्ला अदालत दैलेखमा घरेलु हिंसाको उजुरी दिएकी थिइन् । सम्बन्ध विच्छेद पछि घरेलु हिंसा मुद्दा परेकोले घरेलु हिंसाको सजायसँगै कौशिलाको मागदाबी अनुसार कौशिला र कुलबहादुरको पति पत्नीको नाता नरहने गरी सम्बन्ध विच्छेद भएको दैलेख जिल्ला अदालतका सुचना अधिकारी विनोद आर्चायले जानकारी दिए ।

(Visited 127 times, 1 visits today)
Loading comments...