आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

मेरो मत छाउगोठ भत्काउनेको विपक्षमा

ध्रुव लम्साल
5 days ago
14/01/2020

अहिले कर्णाली एवम् सुदुरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने लहर सुरु भएको छ । गृहमन्त्रालयको निर्देशनमा सुरु भएको छाउगोठ भत्काउने अभियान पूरा हुन अब धेरै दिन लाग्दैन । पछिल्लो आँकडा अनुसार १९ जिल्लामा लगभग पाँचहजार घर भत्काइ सकिएको छ । स्थानीय सरकार, जनप्रतिनिधि र प्रहरीसमेत अहिले छाउगोठ भत्काउने अभियानमा छन् ।

छाउगोठ भत्काइएपछि गरिएका प्रचारप्रसार देख्दा लाग्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नुभएको सपना ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणका लागि छाउगोठ प्रमुख बाधक थियो । भत्कियो, भत्काइयो । लगत्तै कर्णालीमा समृद्धिको सुरुवात हुन्छ ।

मलाई लाग्दैन, छाउगोठ भत्काउनु समस्याको समाधान हो । किनकी छाउगोठ सुदुरपश्चिमेलीको एउटा सामान्य झुप्रो घर मात्रै होइन त्यहाँ आस्था पनि जोडिएको छ । सुत्केरी वा रजस्वला भएकी महिलालाई मूलघरमा नराखेर छाउगोठमा राख्ने चलन पुस्तौंदेखि कायम छ । सुत्केरी र रजस्वला भएकी महिलालाई छाउगोठमा राख्नुको कारणबारे स्थानीयहरु हाकाहाकी भन्छन् ‘छाउगोठमा राखेन वा घरभित्रै राख्यो भने देउता रिसाउँछन् ।’ निरक्षर मात्रै होइन विद्यालयका शिक्षक माक्र्सवाद वा समाजवाद अनि साँस्कृतिक क्रान्तिको गफ दिने नेता कार्यकर्ताको घरमा पनि छ ।

देउता रिसाए भने के हुन्छ ? काठमाडौं वा अन्य शहर बजारमा बसेर विज्ञान पढ्दै गरेका (सुदुरपश्चिमकै) कुनै पनि विद्यार्थीलाई प्रश्न गर्ने हो भने सहजै उत्तर दिनसक्छन् ‘केही पनि हुन्न यो सव बेकार हो ।’ यतिसम्म कि देउताको अस्तित्व नै छैन भन्नेहरु पनि भेटिन्छन् ।

अग्लो ढोका, ठूलो झ्याल, फराकिलो कोठा । सुत्केरी वा रजस्वला भएकी महिलाले छाउगोठमा बस्दा असुरक्षित कोठामा होइन कि आधुनिक कोठामा बसेको महसुस् गर्न पाउँन् । जाडो याममा कोठाभित्र आगो तापेर सेक्न पाउने र गर्मी याममा झ्याल खोलेर बाहिरी हावासँग स्पर्श गर्न पाउने मात्रै व्यवस्था भयो भने पनि छाउगोठमा बसेकै कारण कोही महिलाले मृत्यु भोग्नु पर्दैन ।

त्यही प्रश्न सुदूरपश्चिमका स्थानीयलाई सोध्ने हो भने उनीहरुबाट जवाफ आउँछ ‘घरमा दसा लाग्छ, मान्छे बिरामी हुन्छन्, दुध दिँदै गरेको भैंसीले दुध दिँदैन, ब्याउँन पर्ने भैंसी ब्याउँदैन, कुखुराले चल्ला काढ्दैन, व्यापार गर्नेको व्यापार बिग्रन्छ, स्कुल जानेको पढाइ रोकिन्छ । अरु पनि कति हो कति समस्याको चाङ । सुदूरपश्चिमेलीले उहिल्यै बाउ बाजेकै पालादेखि मान्दै आएको रितिलाई अहिलेसम्म उनीहरुले मान्दै आएका छन् ।

अर्को कुरा छाउ शीर्षकमा काम गर्दै आएका सरकारी एवं गैरसरकारी संघ संस्थाले पनि ‘छाउगोठ भत्काउँदा देउता रिसाउन्नन्’ भनेर उनीहरुले बुझ्ने गरी भन्न सकेका छैनन् । एकथरिका लागि सुदूरपश्चिमका छाउगोठ काठमाडौं बसेर जागिर खाने मेलोसमेत बनेको छ । छाउ शीर्षकमै बेलाबेला काठमाडौको तारे होटलमा हुने भब्य कार्यक्रमले पनि सुदूरपश्चिमबासीका पीडा शहरका केही थान सुकिला मुकिलाहरुका लागि गरिखाने मेलो बनेको पुष्टि हुन्छ ।

दुई साता अघि कीर्तिपुरमा झ्याल ढोका थुनेर आगो ताप्नेक्रममा निस्सासिएर आमा छोरीको मृत्यु भयो । काठमाडौंमै आमा छोरीको घरभित्रै मृत्यु त्यति धेरै चासोको विषय हुन्न । तर, कुनै रजस्वला भएको किशोरीको छाउ बार्ने क्रममा छाउगोठमा निधन भयो भने उक्त समाचारको अन्तर्राष्ट्रिय स्तरमा चर्चा हुन्छ ।

छाउगोठ कस्तो हुन्छ ?

छाउगोठ भत्काउनु समस्याको समाधान होइन। किनकी छाउगोठ सुदुरपश्चिमेलीको एउटा सामान्य झुप्रो घर मात्रै होइन त्यहाँ आस्था पनि जोडिएको छ । सुत्केरी वा रजस्वला भएकी महिलालाई मूलघरमा नराखेर छाउगोठमा राख्ने चलन पुस्तौंदेखि कायम छ ।

सुदुरपश्चिम र कर्णाली प्रदेशका गाउँमा प्रायः घर छेउमा सानो झुप्रो बनाएका हुन्छन् । त्यसैलाई भनिन्छ छाउगोठ । पहिलो कुरा त्यस भेगका बासिन्दाको (अधिकांश) को घर नै गतिलो हुन्न । सानो ढोका, सानो झ्याल कुचुक्क परेको कोठा प्राय घरमा घरभित्र पस्दा जोसुकैले टाउको निहुराएर मात्रै छिर्नुपर्छ । छाना त्यस्तै अवैज्ञानिक हुन्छ । भाटा (छानोमा राख्ने काठ) माथि बाक्ला ढुंगा त्यसमाथि माटो हुन्छ ।

प्रायः चिसो हुने भएकाले झ्याल ढोका सानो राखिएको र जाडोमा चिसोवाट बच्न छानामा ढुंगामाथि माटो पोतिएको स्थानीयको भनाइ छ । जब घर नै गतिलो बनाउने हैसियत छैन भने तिनले छाउ गोठ कसरी गतिलो बनाउन् ? छाउगोठमा प्रायः झ्याल हुँदैन । ढोका असाध्यै सानो हुन्छ कोठा पनि सानो (एकजना मात्रै सुत्न मिल्ने) । त्यस्तो घरमा घरमा हुर्केका छोरी बुहारी छन् भने महिनामा चार दिन बस्छन् । त्यसपछि खाली राख्ने चलन हुन्छ ।

जब कोही छोरी बुहारीको रजस्वला हुन्छ उनीहरु सामान्य गुन्द्री वा सामान्य ओछ्यान बनाएर बस्छन् । संधै प्रयोग नगर्ने हुँदा भित्ता वा छानातिर सर्प, बिच्छी वा अन्य विषालु जीव बास बसेका पनि हुन्छन् र कतिपय महिलाको त्यही सुत्ने बस्ने क्रममा विषालु जीबले टोकेर मृत्यु समेत हुने गरेको छ ।

छाउगोठ भत्काउने होइन पुननिर्माण

रजस्वला भएकी वा सुत्केरी महिलालाई घर नजिकै छुट्टै घरमा राखिनु आफैंमा नराम्रो होइन । तर, कुन उद्देश्यले राखिएको हो त्यो विचारणीय पक्ष हुनुपर्छ । सुत्केरी वा रजस्वला भएको बेला महिलाहरु शारीरिक रुपमा कमजोर हुन्छन् । भिड्मा बस्दा उनीहरुलाई दिक्क लाग्ने वा अन्य संक्रमण पनि हुनसक्छ । यदि छुट्टै कोठमा सुत्न वा बस्न दियो भने उनीहरुले आरामसँग बस्ने वातावरण दिँदैन । थोरै मात्रै प्रयाश गर्ने हो भने उनीहरुको आस्थामा चोट पनि पर्दैन र सुत्केरी वा रजस्वला भएकी महिलालाई आराम दिलाउन पनि सकिन्छ । अहिले भइरहेको छाउगोठ भत्काउनु समस्याको समाधान हुँदै होइन । अहिले भत्काइयो ठीकै छ, अब त्यही एउटा आधुनिक कोठा बनाउनुपर्छ ।

अग्लो ढोका, ठूलो झ्याल, फराकिलो कोठा । सुत्केरी वा रजस्वला भएकी महिलाले छाउगोठमा बस्दा असुरक्षित कोठामा होइन कि आधुनिक कोठामा बसेको महसुस् गर्न पाउँन् । जाडो याममा कोठाभित्र आगो तापेर सेक्न पाउने र गर्मी याममा झ्याल खोलेर बाहिरी हावासँग स्पर्श गर्न पाउने मात्रै व्यवस्था भयो भने पनि छाउगोठमा बसेकै कारण कोही महिलाले मृत्यु भोग्नु पर्दैन । मान्छे बस्ने कोठा सफासुघर हुनुपर्छ भनेर आजको युगमा कसैलाई सिकाइरहनु पर्ने कुरा होइन । यदि कसैलाई त्यो ज्ञान छैन भने सिकाउँनुपर्छ । सुत्केरी र रजस्वला भएकी किशोरीका लागि सफा ओढ्ने ओच्छयाउने र तन्नाको व्यवस्था गर्नुपर्छ भन्नेमा कतिपय जानकार छैनन् । ओढ्ने वा ओछ्याउनेबाट हुने संक्रमणले पनि कतिपय महिला घातक संक्रमणको शिकार हुने गरेका छन् ।

उपाय के त ?

केही महिनापछि छाउगोठ भत्काइएकै कारण कुनै महिला ओढारमा बास बसे भनेर समाचार आयो भने आश्चर्य नमाने हुन्छ । प्रहरीको सहयोगमा आँगनमै बसेर छाउगोठ भत्काएको टुलुटुलु हेरिरहेकाहरुलाई भित्रैदेखि नरमाइलो लागेको छ अहिले । किनकी (माथि नै भनिसकेँ) छाउगोठमै राखेको कारण निस्सासिएर वा अन्य कारणले आफ्नै छोरी चेलीको निधन हुँदा पनि कतिपयलाई लागेको ‘छोरी वा बुहारीको मृत्यु अव्यवस्थित छाउगोठको कारण होइन देउता रिसाएरै हो ।’
छाउगोठ त भत्काइयो ती घरहरुमा सुत्केरी वा रजस्वला भएका महिलाहरु बस्न मिल्ने आधुनिक कोठा छ कुनै ? त्यही भेगका घर हेर्दा थाहा हुन्छ । छैन । त्यसकारण परम्परागत छाउगोठ भत्काए लगत्तै आधुनिक कोठा निर्माणका लागि प्रेरित गरिनुपर्छ । उक्त कोठा छाउ बार्नेमा मात्रै सीमित नहोस् । हाम्रो समाजमा रजस्वला हुँदा चार दिने बार्ने चलन छ । बाँकी २६ दिन त्यही कोठा अरुले प्रयोग गर्ने अझ भन्नुपर्दा पाहुनाका लागि प्रयोग गर्न मिल्ने बनाइयो भने फेरि कुनै महिलाको छाउगोठमा बसेकै कारण मृत्यु भएको खबर सुन्नुपर्ने छैन ।

(Visited 454 times, 4 visits today)
Loading comments...