आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

गणित र विज्ञान शिक्षकलाई अभिमुखिकरण

रुद्र सुवेदी
5 days ago
14/01/2020

नेपालगन्ज । पाँच नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा माध्यामिक तहका विद्यार्थीको गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउनको लागि विषेश कक्षा सञ्चालन गर्ने उद्देश्यले शिक्षक अभिमुखिकरण गरिएकोे छ ।

सामाजिक विकास डिभिजन कार्यालय बाँके नेपालगन्जको आयोजनामा शैक्षिक सत्र २०७५ को एसईई परीक्षामा प्रदेश नंम्बर पाँचका परीक्षार्थीले गणित र विज्ञानमा अत्यन्तै न्यून नतिजा ल्याएको पाईएपछि प्रदेश सरकारले चालु शैक्षिक सत्रदेखि अभियानको रुपमा सुरु गर्न लागिएको कार्यक्रमका लागि शिक्षक अभिमुखिकरण आयोजना गरिएको शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।

उनले विद्यार्थीको मुल्याङ्कनको आधार मानिएको एसईई परीक्षाको नतिजा अनुसार पाँच नम्बर प्रदेशका विद्यार्थीको गणित र विज्ञानमा अवस्था अत्यन्तै नाजुक रहेको पाइएकोले सो नतिजामा सुधार ल्याउने उद्देश्यले प्रदेशका सबै सामुदायिक विद्यालयमा विषेश कक्षा सञ्चालन गर्ने परिपत्र अनुसार तयारी भएको जानकारी दिए ।

उनले भने– ‘समग्र प्रदेशमा गणित र विज्ञानको नतिजा खास गरी प्रवेशिका एसईईको नतिजा हेर्दा ५८ प्रतिशतभन्दा पनि अत्यन्तै न्यून रहेको र बाँकेको हकमा २६ दशमलव ७ प्रतिशतमात्र रहेको पाइएकोले सो नतिजा सुधार गर्नको लागि विषेश कक्षा सञ्चालनको तयारी गरेका छौं ।’

उनले बाँकेमा सञ्चालनमा रहेका सबै ७४ वटा सामुदायिक विद्यालय ७४ जना गणित र ७२ जना विज्ञानका विषयका शिक्षकलाई परिचालन गर्दै थप कक्षा सञ्चालन गरी नतिजामा आमुल परिवर्तन गर्ने योजना रहे अनुसार काम गर्न तालिमका सहभागि शिक्षकलाई निर्देशन समेत दिए ।

सामाजिक विकास डिभिजन कार्यालय बाँके नेपालगन्जका प्रमुख रामकरण पालले प्रवेशिका एसईईको नतिजा गणित र विज्ञानको अत्यन्तै न्यून हुँदा प्रविधिक शिक्षा ईन्जिनियरिङ्ग, चिकित्सा क्षेत्र जस्तो विषय पढ्नको लागि प्रतिष्पर्दामा नै सहभागि हुन नपाउने अवस्था आएको कारणले विषेश कक्षा सञ्चालनमा ल्याउन लागेको बताए ।

उनले भने– ‘सामुदायिक विद्यालयका बालबालिकाहरुको गणित र विज्ञानको नतिजाको कारण उनीहरु प्राविधिक शिक्षा अध्ययन गर्नको लागि स्कोर नपुग्ने तथा उनीहरुले पढ्नै नपाउने अवस्था आएकोले विषेश कक्षा सञ्चालन गर्ने योजना हो । अव मुस्किलले ५० दिन कक्षा हुनेछ प्रतिदिन १ नम्बर आउने गरी कक्षा सञ्चालन गरिदिन सहभागि शिक्षकहरुलाई आग्रह गर्दछु ।’ उनले यो कार्यक्रम कक्षा ८ देखि नै सञ्चालनमा ल्याउने तयारी भएका जानकारी दिए ।

पाँच नम्बर प्रेदश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशको माध्यामिक तहका विद्यार्थीको गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउनको लागि संघिय सरकारबाट ५ करोड उपलब्ध भएपछि सो कार्यक्रम सुरु गर्न लागिएको हो ।

२०७५ सालको एसईईमा प्रदेशको नतिजा अनुसार गणितमा ३७ प्रतिशत बालबालिकाले ई ग्रेड ल्याएको र ६० प्रतिशतले डि ग्रेड नतिजा ल्याएका छन । यसैगरी विज्ञानमा पनि अपेक्षा अनुसारको नतिजा नभएपछि अभियानकै रुपमा लैजाने थालिएको सामाजिक विकास मन्त्रालयको शैक्षिक विकास तथा अनुसंन्धान महाशाखाकाले जानएको छ । विज्ञान र गणितका शिक्षकलाई ओरेन्टेशन गरेर कक्षा सुरु गरी कम्तिमा पनि २० प्रतिशत मुनि झार्ने गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

(Visited 70 times, 1 visits today)
Loading comments...