आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

छोरा छोरी चिसोले कठ्याङ्ग्रिएर मर्लान् भन्ने चिन्ता

डीबी विष्ट
5 days ago
14/01/2020

बझाङ । टिन र प्लाष्टिकले छाएको सानो टहरो, त्यही टहरामुनि २ बुढाबुढी र ससाना ५ बालबालिकासहित ७ जना परिवारको बास छ । पौष महिनाको चिसो, त्यसैमा झरीसँगै भर्खरै परेको हिउँपात, सेती नदीको सुसारो, ओड्नका लागि एकसरो कम्मल र बिच्छ्याउनका लागि चाउचाउ, विस्कुटका खोस्टा र फाटेका बोराहरु मात्रै छन् ।

रातिको समयमा सुत्दा छोराछोरीलाई चिसोबाट जोगाउनका लागि एक छेउमा बुढा सुत्छन् भने अर्को छेउमा बुढी । तर, पनि छोराछोरी कुन दिन चिसोले कठ्याङ्ग्रिएर मर्छन् भन्ने चिन्ता दुबै बुढाबुढीलाई लागि रहन्छ ।

सम्पतिको नाममा खाना पकाउने एउटा डेक्ची, एउटा बाटा, तीनवटा थाली, दुइवटा कचौरा र १ थान डाडु पन्यो मात्र छन्् । पानी परेको बेला भित्र पस्ने भएका कारण प्लाष्टिक, चाउचाउ विस्कुटका काटुनले ठाउँठाउँमा टालटुल पारेको छ । छोरा छोरी र आफ्ना लागि त्यही चाउचाउ विस्कुटका काटुन जम्मा पारेर बनाइएको ओछ्यान (विस्तरा) ।

छोराछोरीका खाली खुट्टा र शरिरमा लगाएका पातला ठाँउठाँउमा च्यात्तिएका कपडा छन् । यो टहरामा कहिलेकाहि मात्रै आगो बल्छ । अधिकांश दिन सबै परिवारका सदस्य भोकभोकै बस्नुपर्ने बाध्यता छ । यो बाध्यता केदार स्युँ गाँउपालिका–८ लोतुका सुरेन्द्र दमाइको हो ।

बर्षौदेखि दमाइ अर्काको जग्गामा बस्दै आएका छन् । केदार स्युँ गाँउपालिका–९ को झोता बजारमा रहेको खाली जग्गामा टहरो बनाएर बस्दै आएका सुरेन्द्र दमाइको परिवारमा अहिलेसम्म खुशी के हो भन्ने थाहा छैन । एकसरो राम्रो लगाउन, एक छाक खानसमेत नपाएका उनिहरुको दैनिकी अरुको घरमा काम गरेर र मागेर गुजारा चलाउदै आएका छन् ।

टिनको टहरो पनि बझाङमा रहेका पत्रकारले सरकारी तथा गैरसरकारी कार्यालयबाट चन्दा संकलन गरेर दुई बर्षअघि निर्माण गरिदिएको दमाइले बताए ।

आर्थिक अवस्था नाजुक भएको परिवारका घरमुली दमाइ भारतमा मजदुरी गर्ने क्रममा ढाड भाँचिएको थियो । ‘ढाड भाचिएपछि दमाइ भारी काम गर्न सक्दैनन, जसका कारण केटाकेटीको एक छाक खानाको जोहो आफूले गर्दै आएको दमाइकी श्रीमति मनमति दमाइले बताइन् । ‘टहरामै भए पनि ओतको समस्या थिएन । उनले भनिन् अर्कोतर्फ जग्गा खाली गर्न भन्दै जग्गा धनीले दबाब दिँदै आएका छन् ।

बालबालिकाहरुको एक छाक टार्नका लागि पनि धौधौ भएको बताउँदै उनले भनिन् ‘छोराछोरीका लुगा पनि सेती नदीका किनारमा र बजारमा फालेका कपडा खोजेर लगाउनुपर्ने बाध्यता छ । पहिलेजस्तो अहिले कपडा पनि फालेको पाइदैनन् । फाटेका लुगा कपडाले पनि कोही डस्ना र तकिया बनाउन थालेपछि अहिले छोरा छोरीका लागि एकजोर न्यानो कपडा किन्न नसकेको उनले बताइन् । बजारमा गएर विभिन्न पसलेबाट उधारोमा कपडा किन्न कति प्रयास गरें, तर हामीजस्तो एक छाक खानको पनि ठेगान नहुने गरिब मान्छेलाई कस्ले विश्वास गर्ने ? बरु छोराछोरी मरे पनि मर्लान् भन्ने सोचेर अहिले कसैलाई पनि कपडा दिनुप¥यो भन्न सकेको छैन ।

परिवर्तन सबैका लागि होला, तर हामीजस्ता गरिबका लागि जस्तो परिवर्तन र सरकार आए पनि हामीलाई भने बिहान बेलुका के खाने र के लगाउने भन्ने चिन्ताले नै ज्यान जान्छ । दमाइले आखाँ भरि आँसु पार्दै भने, ‘पानी परेको दिन कहिले पनि सुत्न पाइँदैन । रातभरि छोरा छोरी चिसोले थरथरि कापेका हुन्छन् । कति दिन त राति आगो बालेर जागै बस्नु परेको छ । मनका यी बेदनालाई कस्ललाई सुनाएर के फाइदा ! दमाइले भने, ‘एकतर्फ अशक्त अनि श्रीमतिको भर पर्नुपर्ने बाध्यता छ भने अर्कोतर्फ काम गरे पनि भने जति कामको पारिश्रमिक पाइँदैन, दुख कस्लाई पोख्ने ? स्थानीय सरकार आए, आउनेहरुका लागी आए तर हामीहरुको अवस्था कस्ले बुझीदिने? तपाईहरु जस्तै धेरै आउन्छन् फोटा खिच्चन लिन्छन् । फेरि कहिले पनि फर्केर आउदैनन् । त्यसैले आजभोलि आफ्नो पीडा र दुःखका बारेमा कसैलाई भन्न पनि मन लाग्दैन ।’

(Visited 36 times, 1 visits today)
Loading comments...