आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

बेलायती महारानी एलिजाबेथले भनिन् – ह्यारी–मेगनको निर्णयमा सहमत छु

एजेन्सी
5 days ago
14/01/2020

लण्डन । बेलायती महारानी एलिजाबेथले राजकुमार ह्यारी र उनकी पत्नी मेगन (ड्युक र डचिस अफ ससिक्स) को निर्णयमा समर्थन जनाएकी छन् । महारानी एलिजाबेथले ह्यारी र मेगन पूर्ण रूपमा शाही भूमिकामा रहून् भन्ने चाहे पनि उनीहरूको निर्णयमा समर्थन रहेको बताएकी छन् ।

भावी भूमिकासम्बन्धी टुंगोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई ‘केही समय’ दिनेबारे महारानी सहमत भएकी हुन् । यो समयमा उनीहरु क्यानडा र बेलायतमा बस्न सक्नेछन् । महारानी एलिजाबेथले नयाँ भूमिकासम्बन्धी उनीहरूको चाहनाप्रति आफ्नो पूर्ण रूपमा समर्थन रहेको बताएकी छन् ।

यद्यपि उनले भनेकी छन्, ‘म चाहन्थेँ राजपरिवारको सदस्यको पूर्णकालीन भूमिकामा भए राम्रो हुन्थ्यो ।’ ह्यारी र मेगन मर्केलको भावी भूमिकाबारे राजपरिवारका वरिष्ठ सदस्यहरू वार्तामा छन् ।
केही दिनअघि ह्यारी र मेगनले राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गरेको घोषणा गर्दै बाँकी समय बेलायत र उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए । एउटा वक्तक्यमार्फत महारानीले जनाए अनुसार प्रिन्स अफ वेल्स र ड्यूक अफ क्रेम्ब्रिज समेत सहभागी वार्ता निकै रचनात्मक रह्यो ।

उनले भनेकी छन्, ‘मेरो परिवार र म कान्छो परिवारका रूपमा एउटा नयाँ जीवन शुरूवात गर्ने ह्यारी र मेगनको चाहनालाई पूर्ण समर्थन गर्छौं ।’

महारानीले जटिल विषयहरूलाई आफ्नो परिवारले सल्टाउनुपर्ने र अझै केही काम गर्न बाँकी रहेको भन्दै केही दिनभित्रै अन्तिम निर्णय लिन भनेको बताएकी छन् । महारानीका तर्फबाट यो एकदमै स्पष्ट तथा अनौपचारिक र करिब व्यक्तिगत वक्तव्य भएको बीबीसीले जनाएको छ ।

बीबीसीका शाही संवाददाता जोनी डाइमन्ड भन्छन्, ‘ह्यारी र मेगनको कदमप्रति दुःख मनाउ गर्नु स्वाभाविक छ किनभने यी दम्पती विद्यमान भूमिकामै रहून् भन्ने उनको चाहना थियो ।’ तर उनले ह्यारी र मेगन थप आत्मनिर्भर दम्पती हुने भए पनि उनीहरूले राजपरिवारका सदस्यका रूपमा महत्व पाइरहने स्पष्ट पारेकी छन् ।

भूतपूर्व अभिनेत्री मेगन अमेरिकी नागरिक हुन् । अमेरिकी टेलिचलचित्र ‘सूट्स’मा अभिनय गर्दा उनी क्यान्डाको टोरन्टो बस्थिन् । राजपरिवारको वरिष्ठ भूमिका परित्याग गरेपछि बेलायतमा राजपरिवारका सदस्यको खर्च व्यहोर्ने कोष ‘सोभ्रिन ग्रयान्टबाट’ बाट पैसा नलिने घोषणा ह्यारी र मेगनले गरेका छन् ।

औपचारिक शाही उत्तरदायित्व वहन गर्दा राजपरिवारका सदस्यलाई सोभ्रिन ग्रयान्ट भनिने सार्वजनिक कोषबाट रकम उपलब्ध गराइन्छ ।

‘सम्बन्धबारे आपत्तिजनक टिप्पणी’

बेलायती राजकुमार विलियम र राजकुमार ह्यारीले आफूहरूबीचको सम्बन्ध अप्ठ्यारो अवस्थाबाट गुज्रिएको भन्ने समाचार अस्वीकार गरेका छन् । पूर्वी इंग्ल्यान्डस्थित महारानी एलिजाबेथको सन्ड्रिंघम इस्टेटमा शाही सम्मेलन चल्दै गर्दा, राजकुमार विलियम र राजकुमार ह्यारीको पछिल्लो प्रतिक्रिया आएको हो ।

केम्ब्रिज र ससिक्सका ड्यूकहरूले विगत दुई वर्षको अवधिमा आफूहरूको सम्बन्धमा चिसोपन आएको भन्ने एक पत्रिकामा समाचार आएको भन्दै त्यसको खण्डन गरेका हुन् ।

एक संयुक्त विज्ञप्ति जारी गर्दै राजकुमारद्वय विलियम र ह्यारीले दुई दाजुभाइबीचको सम्बन्ध बिग्रिएको भन्ने समाचार आपत्तिजनक भएको बताएका छन् । उनीहरूले राजकुमार ह्यारी र उनकी श्रीमती मेगनलाई हेप्ने प्रवृत्ति देखाइएको भन्ने विवरण मानसिक स्वास्थ्यका विषयमा निकै संवेदनशील रहेका दाजुभाइका लागि निकै हानिकारक हुनसक्ने उल्लेख गरेका छन् ।

(Visited 67 times, 1 visits today)
Loading comments...