आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

कृषि विकास बैंक हिनामिना प्रकरण : ८ विरुद्ध ४ करोड बढीको भ्रष्टाचार मुद्धा

राजधानी समाचारदाता
5 days ago
14/01/2020

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयका टेलर सहायक दीपीका रेग्मीसहित ८ जना विरुद्ध ४ करोडभन्दा बढी रकम हिनामिना गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो प्रकरणमा नेपाली सेनाको अवकास प्राप्त सहायक रथी रमेशराज विष्टसँग ४ करोड २४ लाख १३ हजार ६ सय ११ रुपैयाँ माग दावी सहित विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

त्यस्तै आयोगले बैंकका टेलर सहायक दीपिका रेग्मी, तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल, ऋण शाखा प्रमुख गोपाल गिरी, तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मीविरुद्ध मुद्दा दायर गरेको हो ।

एक आपसमा सरसल्लाह, सहमति र मिलेमतो गरी कृषि विकास बैंक, बैंकिङ मुख्य शाखा कार्यालय, न्यूरोडवाट अनधिकृत रुपमा रकम निकाली आफूहरुले लिने र खाईमास्ने उद्देश्यले बैंकलाई गैर–कानूनी हानिनोक्सानी गर्ने गराउने योजना बनाई कृषि विकास बैंकमा रहेको रकम झिक्ने, निकाल्ने र राख्ने कार्यमा विभिन्न प्रक्रियाहरु मिलाउने र निकालिएको सो रकम भाग लगाई हिस्सा लिने गरेको अनुसन्धानबाट खुल्न आएको अभियोगपत्रमा उल्लेख छ ।

आयोगले बैंक घोटाला प्रकरणमा कृषि विकास बैैकका सहायक टेलर दीपिका रेग्मीसँग ४ करोड २४ लाख १३ हजार ६ सय ११ रुपैयाँ मागदावी सहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । त्यस्तै तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेलसँग ४ करोड २४ लाख १३ हजार ६ सय ११ रुपैयाँ माग दावी गरेको छ ।

ऋण शाखा प्रमुख गोपाल गिरीसँग २ करोड ६१ लाख १९ हजार ४ सय १५ रुपैयाँ विगो सहित मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ । तत्कालीन ऋण अधिकृत अवकास प्र्राप्त सलिल रेग्मीसँग १ करोड १० लाख ३३ हजार १ सय ९६ रुपैयाँ माग दावी छ । यसैगरी, बैंकको ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा, तारानाथ पाण्डे, अवकासप्राप्त सहायक रथी रमेशराज विष्ट र दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीसमेत सो मुद्दामा तानिएका छन् ।

उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी रुपमा बैंकबाट ४ करोड २४ लाख १३ हजार ६ सय १५ रुपैयाँ ४५ पैसा झिकेर हिनामिना गरेको आरोप अख्तियारको आरोपपत्रमा उल्लेख छ । राष्ट्र बैंकको निर्देशिका विपरीत सबै व्यक्तिको मिलेमतोमा चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबन्डा गरिएको अख्तियारको ठहर छ । सो प्रकरणमा दीपिकालगायतलाई अख्तियारको टोलीले मंसिर १७ गते पक्राउ गरेको थियो ।

 

(Visited 24 times, 1 visits today)
Loading comments...