शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

चीनसँगको नाकामा नेपालको पहिलो बीओपी : सेनाको हेलिकोप्टरबाट पुर्‍याइयो सशस्त्र प्रहरी

महेश्वर गौतम
1 week ago
15/01/2020

काठमाडौं । सरकारले चीनसँगको सिमानामा पहिलो बोर्डर अब्जर्भर पोस्ट (बीओपी) स्थापना गरेको छ । उत्तर र दक्षिणतर्फको सीमा सुरक्षा बलियो बनाउन सरकारले चीनतर्फ चार तथा भारततर्फ १ सय १० गरी सशस्त्र प्रहरीका नयाँ १ सय १४ बीओपी राख्ने निर्णय गरेको थियो ।चीनसँगको सीमा क्षेत्र दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको कोराला र संखुवासभाको किमाथांकामा रहने गरी मन्त्रिपरिषद्बाट निर्णय भएकामा मंगलबार पहिलोपटक संखुवासभाको भोटखोला गाउँपालिका–१ स्थित किमाथांकामा बीओपी स्थापना गरिएको हो । यसअघि भारततर्फ मात्रै १ सय ७ बीओपी तैनाथ थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यसअघि उत्तरी नाकामा गुल्मबाट सुरक्षाकर्मी खटाइँदै आएकामा मंगलबार पहिलोपटक स्थायी बीओपी स्थापना गरिएको बताए ।

‘पहिले उत्तरी नाकामा गुल्मबाट टोली खटाइँदै आइएको थियो, मंगलबार चीनतर्फ पहिलो स्थायी बीओपी स्थापना गरिएको छ । अन्य तीन नाकामा चैतभित्रै स्थायी बीओपी तैनाथ हुन्छ,’ सशस्त्र प्रहरी महानिरीक्षक खनालले राजधानीसँग भने ।
सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बीओपी उद्घाटन गरेका हुन् ।
संखुवासभा सदरमुकाम खाँदबारीबाट १ सय १० किलोमिटरको दूरीमा रहेको सो बीओपीका लागि सोमबार पूर्वी क्षेत्रबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्रको टोलीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत किमाथांका पु¥याइएको थियो । योसँगै सशस्त्र प्रहरीको बीओपी संख्या १ सय ८ पुगेको छ । सरकारबाट निर्णय भएबमोजिम सशस्त्र प्रहरीको बीओपी स्थापना भए उत्तर र दक्षिणतर्फ गरी २ सय २१ पुग्नेछ ।यसअघि उत्तरी नाकामा स्थायी बीओपी नराखिए पनि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र मुस्ताङको कोराला नाकाको सुरक्षामा जिल्लाबाटै सशस्त्र प्रहरी खटाइँदै आइएको थियो ।

 

चीनतर्फ पहिलो स्थायी बीओपी स्थापना गरिएको छ । अन्य तीन नाकामा चैतभित्रै स्थायी बीओपी तैनाथ हुन्छ
शैलेन्द्र खनाल
सशस्त्र प्रहरी महानिरीक्षक

 

सशस्त्र प्रहरीमा नयाँ जनशक्ति पदपूर्ति गरेर जनशक्ति व्यवस्थापन गर्न तत्काल सम्भव नभएका कारण खटाइने जनशक्तिलाई भन्सार, गण, गुल्म, बाहिनी तथा हेडक्वार्टरमा खटाइएका मध्येबाट कटौती गरेर थप बीओपीमा खटाउने तयारी भइरहेको छ । थप भएका नयाँ बीओपी स्थापनाका लागि भौतिक संरचनाको समेत अभाव रहँदै आएको छ ।
हाल भारतसँगको सीमातर्फ नेपाली सीमाको सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १ सय ७ वटा बीओपी छन् । प्रत्येक बीओपीमा ३५ जना छन् । सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी हाल १८ देखि २० किलोमिटरमा छ । नयाँ बीओपी स्थापना हुँदा हाल कायम रहेको एक बीओपीबाट अर्कोको दूरी आधा कम हुनेछ । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि सीमा जोडिएको छ ।

हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार १ सय १७ रहेकामा मुख्यालयसहित ८ वटा बाहिनी, ५ स्थायी र ६ प्रस्तावित गरी ११ शिक्षालय, ३६ गण, ५६ गुल्म र १ सय ७ बीओपी तैनाथ छन् । थप भएका बीओपीका लागि मात्रै झन्डै ४ हजार जनशक्ति आवश्यक पर्ने सशस्त्र प्रहरी मुख्यालयले बताउँदै आएको छ । सीमा सुरक्षा, राजस्व, औद्योगिक र भन्सार लगायत करिब १७ हजार फौज तैनाथ छन् ।

(Visited 4,241 times, 27 visits today)
Loading comments...