शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

अरूको गीत गाएरै विश्वयात्रा, रोयल्टीमा किचलो

डब्बु क्षत्री
1 week ago
15/01/2020

काठमाडौं । नव गायक राम लिम्बू (शिशिर फागु)सँग आफ्नो गीत छैन । उनले अरूको गीत गाएरै ‘भ्वाइस अफ नेपाल सिजन–२’ जितेका हुन् । यतिबेला यी कलाकार अरूकै गीत बोकेर विश्व सांगीतिक यात्रामा निस्किने तयारीमा छन् । उनको नयाँ गीत तत्काल आउने सुरसार छैन ।

गत वर्ष भ्वाइस अफ नेपाल सिजन १ का विजेताहरूले पनि वल्र्ड म्युजिक टुर गरे । उनीहरूले विभिन्न देशमा अरू स्रष्टाका गीत गाएरै आयोजकलाई पैसा कमाइदिए । तर, उनीहरूले प्रस्तुत गरेको गीतका वास्तविक स्रष्टाले पैसा नपाएको गुनासो गरे । वल्र्ड टुरका क्रममा प्रस्तुत गरिएका गीत र रोयल्टीबारे आयोजक गत वर्ष मौन बसे ।

यही विवाद आएपछि भ्वाइस अफ नेपाल सिजन २ का आयोजक वल्र्ड टुरमा प्रस्तुत हुने गीतको अनुमति लिन र रोयल्टी तिर्न बाध्यतामा छन् । वल्र्ड टुरमा कलाकारले गाउने गीतको रोयल्टी तिर्न आफू सहमत भएको आयोजकले बताएको छ ।

राम लिम्बू मात्र हैन, यो यात्रामा निस्किन लागेका आरिफ राउफ, अञ्जु रानामगरसँग पनि आफ्नो गीत छैन । यो प्रतियोगिताका उपविजेता सनिश श्रेष्ठले हालै चलचित्र म यस्तो गीत गाउँछु २ का लागि एउटा गीत रेकर्ड गराएका छन् । उनीसँग पनि योबाहेक अरू गीत छैन ।

यसरी राम, सनिश, अञ्जु, आरिफलगायतले यसपटक तीन महिनाको विदेश यात्रामा अरूकै गीत गाएर दर्शकलाई मनोरञ्जन दिनेछन् । यसै विषयमा मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटका क्रममा वल्र्ड म्युजिक टुरका आयोजक रोशन पराजुलीले ‘जसको गीत प्रस्तुत गरिन्छ उनीहरूको रोयल्टी दिनेछौं,’ भने ।

यी कलाकारले कुन संगीतकार, गीतकार, गायक गायिकाको गीत विदेशी स्टेजमा गाउँछन् भनेर अहिलेसम्म खुलाएका छैनन् । विगतमा रोयल्टीको विषयमा किचलो भएको थियो । यसपटक आफूहरूले रोयल्टीबारे कुरा मिलेपछि अनुमति लिएर मात्र विदेशी स्टेजमा गीत प्रस्तुत गर्ने दाबी आयोजक पक्षको छ । त्यसैले आगामी मार्च ६ देखि जुनको तेस्रो सातासम्म विदेशमा हुने भ्वाइस अफ नेपाल २ को कार्यक्रममा प्रस्तुत गरिने गीतको रोयल्टी सम्बन्धित स्रष्टाले पाउने आशा गरौं ।

ब्लुबर्ड इन्टरनेसलन इभेन्ट्सले भ्वाइस अफ नेपाल सिजन २ का विजेताले बेलायत, क्यानडा, इजरायल र युरोपका केही देशमा कन्सर्टमा प्रस्तुत गर्ने आयोजकले जनाएको छ । उनीहरूले मार्चको पहिलो र दोस्रो साता बेलायतमा, मार्चको तेस्रो सातादेखि अप्रिलको दोस्रो सातासम्म युरोपका विभिन्न मुलुकमा कन्सर्ट गर्ने बताएका छन् ।

यस्तै, अप्रिलको तेस्रो साता इजरायलमा र जुनको तेस्रो साता क्यानडामा कन्सर्ट गर्ने भ्वाइस अफ नेपाल सिजन २ का विजेतालगायतले कन्सर्ट गर्ने पनि आयोजक पक्षले जनाएको छ ।

यो कन्सर्टका लागि आफूहरू अहिले अभ्यासको तयारीमा जुटेको विजेता राम लिम्बू, उपविजेता सनिश श्रेष्ठ प्रतियोगितामा फाइनलमा पुगेका कलाकार आरिफ राउफ, अञ्जु रानामगरलगायतले बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले रोयल्टीको कुरा उठाएपछि यी कलाकार पनि गम्भीर भएका छन् । अब आयोजकले ओर्जिनल स्रष्टासँग अनुमति लिएको गीत मात्र यी कलाकारले गाउन पाउनेछन् ।

 

 

 

 

 

(Visited 39 times, 1 visits today)
Loading comments...