शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

आकर्षक जागिरको लोभमा ६ सय बढी युवा भारतमा बन्धक

एम के माझी
1 week ago
15/01/2020

 

राजविराज । भारतको सारण जिल्ला छपरास्थित माँ लक्ष्मी इन्टरप्राइजेज नामक एक नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं सोझासाझा बेराजगार नेपाली यूवाहरुलाई ठगिरहेको खुलासा भएको छ ।

कम्पनीको भ्रमजालमा परेर ३५ हजार रुँपैया गुमाएका राजविराज नगरपालिका १ डुमरी शिवथान निवासी २६ वर्षिय राजेश कुमार यादव त्यहाँबाट भाग्न सफल भई घर आइपुगेपछि सो ठगि प्रकरणबारे खुलासा भएको हो ।

उनी बुधबार घर आइपुगेपनि अहिले ६ सयभन्दा बढी नेपाली यूवाहरु त्यहा बन्धक अवस्थामा रहेको उनले जानकारी दिएका छन् । उक्त स्थानमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका गरि ६ सय यूवाहरु बन्धक अवस्थामा रहेको र कम्पनीले घर फर्किन नदिएको उनले बताएका छन् ।

भारतीय ग्लेज ट्रेडिङ इण्डिया प्रालिको शाखा रहेको बताउने माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले नेपालको मधेशका जिल्लाहरुमा दर्जनौं एजेन्ट खटाई त्यहाँका सोझासाझा युवालाई आकर्षक तलबसहितको जागिर दिने प्रलोभनमा पारी लैजाने गरेको र त्यो क्रम अहिले पनि चलिरहेको पीडित युवा राजेशले बताए ।

भारतीय एजेन्टहरुले केही स्थानीय व्यक्तिलाई विश्वासमा लिई त्यस्तो अवैध कारोवार खुलेआम गरिरहेको यादवको भनाई छ । आफूलाई सोही कम्पनीको एजेन्ट रहेको बताउने सप्तरीको बलान विहुल गाउँपालिका १ बस्ने विक्रम यादवले आकर्षक तलब पाइने प्रलोभन देखाई त्यहाँ पुर्याएको र आफ्नो कमिशन लिई भागेको यादवले बताएकाछन् । ‘म त्यहाँ पुग्दा परिचयका क्रममा मधेशका जिल्लाका करिब ६ सय युवाहरुलाई देखे, उनले भने, ‘सबैलाई आकर्षक तलबकै प्रलोभन देखाएर लगिएको रहेछ, तर ३÷४ महिनाअघिनै पुगेका उनीहरुलाई अहिलेसम्म जागिर दिइएको छैन । आश्वासन मात्र दिने गरिएको छ ।’

आश्वासनले दिक्क वाक्क भएका उनीहरु घर फर्किन्न चाहे पनि आउने नदिएको राजेशले सुनाए । नेपाली युवाहरुलाई जागिरका लागि भारतीय आधारकार्ड आवश्यक पर्ने भन्दै सो वापत प्रतिव्यक्ति २ हजार ५ सय, प्रवेश शुल्क वापत १ हजार ५ सय र वास आवास खर्च वापत १८ हजार गरी प्रतिव्यक्तिबाट २२ हजार भारतीय रुपैयाँ कम्पनीका संचालकले वसुल गरेको यादवले जानकारी दिएका छन् । नेपाली युवाको विश्वास जित्न कम्पनीका संचालनकले रकम लिएको एक घण्टामै भारतीय आधारकार्ड बनाएर दिने गरेको समेत यादवले सुनाए ।

उनलाई कम्पनीका संचालकद्वारा उपलब्ध गराइएको आधारकार्डमा ठेगाना भने भारतको बिहार राज्य मधुवनी जिल्लाको बासुदेवपुर निवासी भनेर उल्लेख गरिएको छ । यस्तै अन्य नेपालीहरुको आधारकार्डमा पनि नाम सही भएपनि ठेगानामा भारतकै विभिन्न सहरको नाम उल्लेख गरिएको छ ।

उनले एकान्त स्थलमा रहेको सो कम्पनीको होस्टलमा नेपाली युवाहरुलाई कोचिएर राखिएको र बाहिर निस्किन नदिएको जानकारी पनि दिए ।’ कसैसँग कुरा पनि गर्न दिईदैन, उनले भने, ‘सबैको मोवाईल पनि खोसेर राखेका छन् ।’

यसरी किन राखेको ? जिज्ञाशा राख्दा संचालक अमरेन्द्र सिंह भन्ने व्यक्तिले ‘यहाँ शान्त वातावरणमा तिमीहरुलाई तालिमको व्यवस्था गरिदिएका छौं तालिम सकिएपछि जागिर पक्का हुने’ भन्दै जवाफ फर्काउने गरेको राजेसले सुनाए ।

यसरी प्रशिक्षणमा सहभागि गराइएका नेपाली यूवाहरुलाई एक भारतीय युवतीले गाडी, बंगला र लाखौं रुँपैया दुई चार महिनामै कमाउने सपना देखाउँदै प्रशिक्षण दिने गरेको राजेशले बताएका छन् ।

उनले संचालक सिंहलाई यस कम्पनीमा काम गर्न म अझ केही साथीहरु लिएर आउँछु भन्दै उम्कन सफल भएको बताए ।

उक्त कम्पनीका ५० भन्दा बढी एजेन्टहरु नेपाली बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाई ल्याउन प्रदेश २ का विभिन्न जिल्लामा खटेको कम्पनीका संचालकहरु एक आपसमा कुरा गर्दा आफुले सुनेको राजेसले बताएका छन् ।

यसरी भइरहेको ठगी धन्दालाई नियन्त्रण गर्न र त्यहाँ फसेका नेपाली यूवाहरुलाई जोगाई सुरक्षित साथ फिर्ता ल्याउन भारतीय प्रहरीसँग समन्वय गर्नु जरुरी रहेको स्थानीय बुद्धिजीविहरुको भनाई छ ।

(Visited 87 times, 1 visits today)
Loading comments...