सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

प्रदेश–केन्द्र निर्वाचन सकस , विद्युतीय मतदानमा दलहरू सशंकित

2 years ago
10/08/2017

आयोग भन्छ :  दुवै निर्वाचन एकैपटक गर्न अन्य विकल्प छैन

महेश्वर गौतम / काठमाडौं

प्रदेश र प्रतिनिसभा निर्वाचन एउटै मितिमा गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने विषयमा निर्वाचन आयोग र सरकार छलफलमा जुटेका छन् । तर सत्तारूढ दलहरू नै आयोगको यो प्रस्तावमा सशंकित देखिएका छन् ।

आयोगले दुवै निर्वाचन एकैपटक गर्न मतपत्रलगायतमा प्राविधिक समस्या देखाएर मेसिनको विकल्प दिएपछि दुवै पक्ष यसको प्रयोगको सम्भावनाबारे बहस र आन्तरिक तयारीमा लागेका हुन् ।

आयोगले भारत र बेलायतमा बनेका विद्युतीय मेसिन अघिल्ला केही निर्वाचनमा प्रयोग भएको र मेसिन प्रयोग गर्दा दुवै निर्वाचन एकैपटक गर्न सकिने संकेत गर्दै आएको छ । तर उसले समय अभावका कारण मतपत्र छाप्नुपर्ने अवस्थामा व्यवस्थापन गर्न असहज हुने बताउँदै आएको छ ।

दलहरूले भने देशभर मेसिन प्रयोग गर्न सकिने विषयमा शंका गर्दै आएका छन् । मेसिनको प्रयोग र ल्याउने प्रक्रियामा झन्झट रहेको भन्दै उनीहरू अहिलेकै निर्वाचनमा विद्युतीय मेसिन प्रयोग असम्भव रहेको बताउँछन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले विद्युतीय मतदानका पक्षमा आफू रहेको भए पनि देशका सबै भूभागमा विद्युतीय मेसिनको प्रयोगको सम्भावना कम रहेको बताउँछन् । ‘केही निर्वाचनहरूमा विद्युतीय मतदान मेसिन प्रयोग त भएको छ तर अहिलेको निर्वाचनमा देशैभर एकैसाथ भोटिङ मेसिन प्रयोग गर्न सकिने अवस्था नरहला, राम्रो ज्ञान नहुँदा झनै जटिलता देखिन सक्छ,’ नेता केसीले राजधानीसँग भने ।

माओवादी हेडक्वार्टर सदस्य अग्नि सापकोटाले पनि आगामी निर्वाचनमा विद्युतीय मेसिनको सम्भावना नरहेको बताए । ‘अहिलेकै निर्वाचनमा त्यो सम्भव छैन, पहिले त ल्याउने प्रक्रियामा नै समस्या छ, दोस्रो दल तथा मतदातालाई विश्वसनीय बनाउन आवश्यक छ, अहिले विद्युतीय मेसिन कि मतपत्रभन्दा पनि सबै शक्ति निर्वाचनमा केन्द्रित हुनुपर्छ,’ नेता सापकोटाले भने ।

आयोगले भने झन्डै एकैपटक निर्वाचन गर्दा ७ करोडको हाराहारीमा मतपत्र छाप्नुपर्ने भएकाले असहज हुने बताएको छ । उसले मतपत्र छपाइ गर्दा एकैपटक निर्वाचन हुने अवस्थामा एउटै मतदाताले चारवटा मतपत्रमा छाप लाउनुपर्ने र त्यसका लागि मतपेटिकासमेत चारवटा नै चाहिने हुँदा असम्भव भएको बताएको हो ।

निर्वाचन आयुक्त इला शर्माले समय अभावका कारण पनि अब मतपत्र छापेर निर्वाचन गर्न नसकिने अवस्था रहेको बताइन् । ‘समयको एकदमै अभाव हुँदै गएको छ । दुवै निर्वाचन एकै मितिमा गर्न छलफल त भएको छ । तर मतपत्र नै छाप्नुपर्ने अवस्थामा त्यो समय छैन । मतदातालाई शिक्षा दिने समय पनि छैन । ९० दिनको समयभित्र सबै कुरा सक्न धेरै असहज हुन्छ,’ आयुक्त शर्माले भनिन् ।

आयोगलाई निर्वाचनका लागि १ सय २० दिनको समय आवश्यक पर्ने भए पनि विगतका निर्वाचनमा समय अभावमा आयोगले धेरै कुराको व्यवस्थापन गर्दै काम गरेको भन्दै आयुक्त शर्माले जुनसुकै प्रक्रियाबाट निर्वाचन गर्ने भए पनि दलहरूले छिटो टुंगो लगाउनुपर्ने बताइन् ।

आयोग पदाधिकारीसहितको टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा समेत दुवै निर्वाचन एकै मितिमा गर्दा आयोगलाई व्यवस्थापन गर्न असहज हुने तर विद्युतीय मेसिनको प्रयोग भए सकिने भन्ने विषयमा छलफल गरेका थिए ।

दल तथा आयोगबीच संविधानअनुसार ७ माघभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहिरहँदा निर्वाचन कसरी गर्ने र कुन मितिमा गर्ने भन्ने विषयमा दल तथा आयोग अझै अलमलमा छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा दुवै निर्वाचन एकै मितिमा र एकै चरणमा गर्ने पक्षमा छन् भने आयोगले दुवै निर्वाचन एकै मितिमा गर्न नसकिने भन्दै दुवै निर्वाचन एकै मितिमा गर्नुपरे विद्युतीय मेसिनको विकल्प नरहेको बताउँदै आएको छ ।

 

(Visited 7 times, 1 visits today)
Loading comments...