सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

प्रदेश र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा , दोस्रो चरणको निर्वाचन २१ मंसिरमा

2 years ago
31/08/2017

महेश्वर गौतम / काठमाडौं

सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन १० र २१ मंसिरमा गरी दुई चरणमा गर्ने निर्णय गरेको छ ।सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको हो । यसअघि ५ भदौको मन्त्रिपरिषद् बैठकले १० मंसिरमा एकै दिन एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आयोगको सुझावका आधारमा सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको बताए ।

‘निर्वाचन आयोगको सुझावका आधारमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन १० र २१ मंसिरमा गर्ने निर्णय भएको हो, कहाँ र कुन स्थानमा पहिलो चरण र दोस्रो चरणमा भन्ने आयोगसँगको छलफलपछि टुंगो लाग्छ, आयोगको सहजताका आधारमा दुई चरणमा निर्वाचन हुन्छ,’ मन्त्री बस्नेतले राजधानीसँग भने ।

निर्वाचन आयोगले सरकारलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक कानुन माग गर्दै ताकेता गरिरहेका बेला सरकारले निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको हो । आयोगले निर्वाचनका लागि क्षेत्र निर्धारण आयोगको प्रतिवेदन १५ भदौ र निर्वाचनसम्बन्धी ऐन ५ भदौभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह गरेको थियो । तर निर्वाचनका लागि आवश्यक पर्ने कानुन दलहरूबीच सहमति जुट्न नसक्दा संसद्बाट हालसम्म पनि पारित हुन सकेको छैन । संसद्मा छलफलका क्रममा रहेको निर्वाचन ऐनसम्बन्धी विधेयक निर्वाचन लड्न भ्रष्टाचार प्रमाणित भएकाले पाउने कि नपाउने भन्नेमा अल्झिरहेको छ । यस्तै, क्षेत्र निर्धारण आयोगले भने बुधबार मात्रै सरकारलाई प्रतिवेदन बुझाएको छ ।

यसैबीच मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीबारे राजनीतिक सहमतिका आधारमा निर्णय लिने र संवैधानिक परिषद्बाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णयसमेत गरेको छ । यस्तै एसियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

चार सचिवको सरुवा

बैठकले भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ भने भूमिसुधारमा शम्भु कोइरालालाई पठाएको छ । खानेपानीमा कृष्णराज बीसी र निर्वाचन आयोगका सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

यस्तै, सरकारले नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथीमा बढुवा गरेको छ भने राष्ट्रिय अनुसन्धान विभागका ६ अधिकृतको बढुवा गरेको छ । रिक्त रहेको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल बढुवा भएका छन् । उक्त पद प्रहरीको एआईजीसरहको हो ।यस्तै, प्रहरीको डीआईजीसरहको अनुसन्धान निर्देशकमा हुतराज थापा, कुलदेव थापा, हरिहर पौड्याल, ओमप्रकाश जोशी र सुनिलकुमार ढकाल बढुवा भएका छन् ।

पहिलो चरणमा ३१ जिल्ला

सरकारले दुई चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले ३१ जिल्लामा पहिलो चरणमा अर्थात् १० मंसिरमा निर्वाचन हुने संकेत गरेको छ ।

आयोगका सहसचिव नवराज ढकालले पहिलो चरणमा हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा निर्वाचन हुने र बाँकी जिल्लाहरूमा पछिल्लो चरणमा हुने संकेत गरेका हुन् । उनले सोबारे आयोगले छलफल गरेर टुंगो लगाउनेसमेत बताए । ‘पहिलो चरणमा हिमाली तथा उच्च पहाडी ३० जिल्लाभन्दा माथि निर्वाचन हुन्छ । बाँकी जिल्लामा दोस्रो चरणमा हुन्छ । यसबारे आयोगले छिट्टै निर्णय गर्छ,’ सहसचिव ढकालले राजधानीसँग भने । सरकारले भने कुन जिल्ला र प्रदेशमा पहिलो र पछिल्लो चरणमा निर्वाचन हुने भन्ने खुलाएको छैन ।

 

(Visited 23 times, 1 visits today)
Loading comments...